ÿØÿà JFIF ` ` ÿþ
The post पूर्वको पर्यटनः अथाह सम्भावना, कमजोर पूर्वाधार appeared first on sumhatlungtimes.
]]>– गिरिराज बाँस्कोटा
३१ साउन २०८२, पाँचथर। घामको पहिलो झुल्कोले पूर्वमा स्वागत गर्छ । घामको किरण हिमालमा पर्दाको दृश्यले मनलाई आह्लादित बनाउँछ । संसारको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनकवल रहेको कोशी प्रदेश पर्यटनका लागि निक्कै महत्पूर्ण रहेको छ । आर्थिक समृद्धिका लागि यहाँका गन्तव्य देशकै महत्वपूर्ण छन् ।
नेपालको विभिन्न ठाउँमा फरक फरक विशेषता छन् । यहीँ विशेषताको अनेकता कोशी प्रदेशका जिल्लामा पाइन्छ । हिमाल, वन्यजन्तु, चराचुरुङ्गी, प्राकृतिक सम्पदा, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, ग्रामीण पर्यटन यहाँका विशेष हुन् । यो प्रदेश खानपान, ट्रेकिङ, हाईकिङमा उत्तिकै महत्पूर्ण छ । हिमाल, पहाड र तराईमा फैलिएको यो प्रदेशमा जिल्ला जिल्लाको पर्यटनको कनेक्सन पाइन्छ भने जिल्ला पिच्छेका विशेषता छन् । हिमाल घुम्न आउने पर्यटक र आरोहण नेपाल सरकारको महत्पूर्ण आम्दानीको स्रोत हो । १४ वटै जिल्लाका विभिन्न ठाउँमा पर्यटकीय गन्तव्य तथा बहुआयामिक विशेषता रहेका छन् । कतै विदेशी र कतै आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य छन् । तिनै विशेषतामा सजिएका यो प्रदेशमा आन्तरिक र वाह्य पर्यटक आकर्षित बनिरहेका छन् । बाह्य पर्यटकलाई भारत र तेस्रो मुलुकका गरि छुट्याएर विश्लेषण गर्न आवश्यक देखिन्छ ।
हिमाली पर्यटन
नेपालका सर्वोच्च शिखर संसारकै लागि महत्पूर्ण छन् । हिमालको सुन्दरता, महत्वबारे व्याख्या गरेर नथाक्नेहरू संसार भरि छन् । नेपालको मूख्य सम्पत्ति यहाँका हिमाल हुन् । हिमाली क्षेत्र हुन् । हिमाली क्षेत्रको जनजीवन प्रिय लाग्छ । नेपालमा हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्राका लागि विदेशीहरू आउँछन् । पछिल्ला वर्षमा नेपालीलाई हिमाली क्षेत्रले तानिरहेको छ ।
कोशी प्रदेशमा संसारकै अग्लो सगरमाथा देखि कञ्चनजंघा, मकालु जस्ता हिमाल छन् । यी यो प्रदेशका निक्कै महत्वपूर्ण सम्पत्ति हुन् । हिमाल हेरेर आनन्दीत हुने धेरै छन् । आठ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल यो प्रदेश रहेका छन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, छयो यु जस्ता आठ हजार मिटर भन्दा अग्ला हिमाल छन् । यालुङ काङ, कञ्चनजंघा साउथ, ल्होत्से मिडिल जस्ता केही आठ हजार मिटर अग्ला हिमाल भए पनि अन्तर्राष्ट्रिय मान्यता पाईसकेका छैनन् । फक्ताङ्लुङ (कुम्भकर्ण), पोमोरी अमादब्लम जस्ता चर्चित हिमाल छन् ।
पर्यटन क्षेत्रको महत्वपूर्ण राजस्व हिमालबाट उठ्छ । हिमाल आरोहण र पदयात्राका लागि आउने विदेशीहरूबाट राजश्व संकलन हुन्छ । हिमाली क्षेत्रमा रहेका संस्कृति लगायतको माध्यमबाट पर्यटकीय क्षेत्रमा थप फड्को मार्न सक्ने सम्भावना देखिन्छ । हिमाल र हिमाली क्षेत्र आसपासका अन्य गन्तव्य प्रबद्र्धन हुने देखिन्छ ।
वन्यजन्तु, चराचुरुङ्गी
विश्वका विभिन्न देशका पर्यटक रेड पाण्डा हेर्न इलाम आइपुग्छन् । इको ट्रिपको रूपमा उनीहरू नेपाल आउने गर्छन् । रेड पण्डा मात्र होइन यो प्रदेश वन्यजन्तु र चराचुरुङ्गीको लागि निक्कै महत्वपूर्ण मानिन्छ । वन्यजन्तु र चराचुरुङ्गीप्रेमीका लागि यो महत्वपूर्ण क्षेत्र हो । हिमचितुवा, चराचुरुङ्गी, हात्ति, रेड पाण्डा, नाउर लगायतका वन्यजन्तु यहाँ पाइन्छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष, अरुण उपत्यका, कञ्चनजंघा संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, वरुण राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र महत्वपूर्ण छन् । पछिल्लो समयमा चरा फोटोग्राफी गर्ने क्रम बढ्दै गएको देखिन्छ ।
प्राकृतिक सुन्दरता
यो प्रदेशको मूख्य विशेषता प्राकृतिक सौन्दर्ययता हो । यहाँका हिमाली क्षेत्र हेरिरहुँ लाग्छन् । पहाडका डाँडा, गडतिरका फाँट उत्तिकै सुन्दर रहेका छन् । जैविक पर्यटनको महत्व निक्कै धेरै रहेको छ । पोखरी, ताल, नदी, खोला, झरना यहाँका अनेकन विशेषता छन् । गुराँसका ३१ प्रजाति यो प्रदेशमा छन् । केन्जो लगायतका हेरिरहुँ लाग्ने फूलहरु फुल्छन् । उच्च पहाड र हिमाली क्षेत्रका चउरहरू फूल फुल्ने सिजनमा हेरिरहुँ लाग्ने देखिन्छन् । प्रदेश सरकारले स्वीस सरकारको सहयोगमा चारवटा पदमार्गमा काम गरिरहेको छ । जहाँ २९ स्थानीय तह समेटिन्छन् । चियाबारी, फाल्गुनन्द, लालिगुराँस र मुन्दुम पदमार्गको काम भइरहेको छ ।
कार्सोङ् ट्रेल, श्री अन्तु, कन्याम, माइपोखरी, सन्दकपुर, तिम्बुङ पोखरी, चारारोत–तीनसिमाना–चिवाभञ्ज्याङ, पानीटार, पाटेनागी, साधुटार, जोरपोखरी, सुकेपोखरी, मुवा झरना, हिलेडाँडा, छिन्तापु, मिक्लाजुङ, सिङ्जेमा ताल, फुङ्फुङ्गे झरना जस्ता आर्कषक गन्तव्य रहेका छन् ।
सुनवर्सी पोखरी, बेतना सिमसार, जेफाले डाँडा, तालतलैया, बर्जुताल, भेडेटार, नमस्ते झरना, नाम्चे गाउँ, राजा रानी ताल, ध्वजे डाँडा, चखेवा, मैयुङ डाँडा तीनजुरे, ह्यात्लुङ झरना, अरुण उपत्यका, गुफा पोखरी, सभापोखरी उत्तिकै आर्कषक रहेका छन् । ताप्ली पोखरी, रौता पोखरी, मैनामैनी, साप्सुधाप्, जन्तेढुङ्गा, बराह पोखरी, टेम्के डाँडा, देम्बा डाँडा, पोकली झरना, पत्ताले, पिके डाँडा, दूध कुण्ड, पाँच पोखरी जस्ता आर्कषक गन्तव्य छन् । सप्तकोशी, अरुण, बरुण, तमोर, माई, कावेली जस्ता नदी निक्कै महत्पूर्ण छन् ।
यहाँको हावापानी उत्कृष्ट छ । चाहे झापादेखि इलाम उक्लिने हो भने वा धरानदेखि भेडेटार उक्लिदा फरक–फरक हावापानी पाइन्छ । सुन्दर ठाउँ आसपासको जनजीवन, अन्य गन्तव्य निक्कै महत्वपूर्ण छन् । क्रस बोर्डर टुरिजमका लागि महत्वका स्थान छन् । खासगरी भारतसँग सिमा जोडिएका क्षेत्रका क्रस् बोर्डर टुरिजम फस्टाउन सक्छ ।
धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वपूर्ण
विविधतायुक्त समाज भएकाले यहाँ अनेकन संस्कृति पाइन्छ । साँस्कृतिक समिश्रण यहाँका सम्पत्ति हुन् । यिनिहरूलाई हस्तान्तरण गर्दै लैजान आवश्यक छ । धार्मिक सम्पदा उत्तिकै महत्वपूर्ण छन् । विभिन्न आस्था अनुसार धार्मिक स्थल छन् । ऐतिहासिक स्थल उत्तिकै छन् । जसले इतिहास बुझाउन र खोज अनुसन्धानका लागि सहयोगी बन्छ ।
विभिन्न जातजातिमा आधारित नृत्य, खानपानले पर्यटक लोभ्याउछन् । पर्यटकको स्वागतका लागि पनि यी साँस्कृतिक सम्पदा महत्वपूर्ण मानिन्छन् ।
मुकुम्लुङ÷पाथीभरा, हलेसी, चतरा÷बराहक्षेत्र धाम, सताक्षीधाम, अर्जुनधारा जलेश्वर, माङ्सेबुङ, सिलौटी, लोब्रेकुटि, माङ्मालुङ, सेहोöनाम्लाङ, अगेजुङ गुम्बा, कुम्मायक कुसायक, सुम्हात्लुङ, हिलिहाङ दरबार, गुप्तेश्वर महादेव, दिकि छ्योलिङ गुम्बा, विराट राजाको दरबार, रामधुनी, विजयपुर क्षेत्र, विष्णुपादुका, छिन्ताङ जल्पादेवी, हतुवागढि, टक्सार, सिल्पासिलिचुङ, चोöलुङ पार्क, उदयपुर गडी, तुवाचुङ, मजुवा कालिका भगवती, साप्सुधाप, जन्तेढुङ्गा, चम्पादेवी लगायतका महत्वपूर्ण धार्मिक, ऐतिहासिक स्थल छन् ।
यहाँका धार्मिक तथा ऐतिहासिक स्थल र अनेकन साँस्कृतिक सम्पदाले पर्यटन प्रबद्र्धन गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन् । यहाँ मनाइने चाडपर्व पनि उत्तिकै महत्वपूर्ण छन् ।
ग्रामीण पर्यटन, होमस्टे
हाम्रोमा प्रर्वद्धन गर्नुपर्ने महत्वपूर्ण क्षेत्र ग्रामीण पर्यटन हो । यो आन्तरिक र भारतीय पर्यटकका लागि महत्वपूर्ण रहन्छ । गाँउहरू, हिमाल देखिने ठाउँ, हरियाली वा सहरभन्दा परका बस्तीमा यस्तो प्रबद्र्धन गर्न सकिन्छ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेको उत्तिकै महत्व छ । पाँचथरको उच्च पहाडी क्षेत्रमा गोठस्टे पनि सञ्चालन गरिदै छन् ।
मान्छेलाई सहरको भिडभाड भन्दा शान्त गाउँ प्रिय लाग्छ । हाम्रा गाउँहरू परम्परा झल्काउने छन् । यहाँको कृषि, अनेकन खानपान, स्थानीय उत्पादनमा आधारित रहेर ग्रामीण पर्यटन प्रबद्र्धन गर्न सकिन्छ । हाम्रै आफ्नै कला, संस्कृति छन् । घर बनाउने तरिका, पकाएर खाने तरिका । यी तरिका पनि सहरका बासिन्दाका लागि महत्वपूर्ण हुन्छ । फुत्त गाउँ निस्किएर रमाउने ठाउँ आवश्यक छ । यसका लागि ग्रामीण क्षेत्रमा राम्रा होमस्टे आवश्यक छ ।
प्रचार प्रसार, गन्तव्यको वर्गीकरण
माथि उल्लेख भएका भन्दा धेरै गन्तव्य र सम्पदा कोशी प्रदेशमा छन् । यिनिहरूको प्रचारको अभाव रहेको छ । यसका लागि प्रभावकारी प्रचारप्रसार आवश्यक छ । पर्यटन क्षेत्रमा लागेकाहरूले यसमा गम्भीरतापूर्वक काम गरेको देखिदैन ।
भिडियो, फोटो, भ्लगका माध्यमबाट प्रचार गर्न सकिन्छ । गन्तव्यहरूको ब्रोसर, लाग्ने समयदेखि खानपानको प्रबन्धसम्म प्रचार गर्न आवश्यक छ । यसका लागि आमसञ्चार, सोसियल मिडियालाई व्यापक प्रयोग गर्न सकिन्छ ।
हाम्रो पर्यटन गन्जागोलमा फसिरहेको छ । कुन गन्तव्य कसका लागि हो भन्ने वर्गीकरण आवश्यक छ । तेश्रो मुलुकका पर्यटक हिमाल, रेड पाण्डा, हात्ति हेर्न, रिसर्च गर्न बढि नेपाल आउछन् । तर गाउँहरू, डाँडाहरू घुम्ने आन्तरिक पर्यटकले हो । भारतीय पर्यटक पनि तराईदेखि पहाडसम्म आइपुगेका हुन्छन् । कुन ठाउँ कसका लागि हो भन्ने यकिन गरी सोही अनुसारको पूर्वाधार विकास तथा अन्य प्रचारात्मक काम गर्नु आवश्यक छ ।
पूर्वाधारनै मुख्य समस्या
कोशी प्रदेशमा अनेकन सम्भावना भए पनि पूर्वाधारको समस्या रहेको छ । गत बर्ष असोजमा (२०८१) सगरमाथा बेस क्याम्प जाने बाटो हिलाम्मे थियो । दुधकोसीको ओरानघाटमा पुल नभएपछि वारिका गाडीले वारि र पारिका गाडीले पारि पर्यटक ओसार्दै थिए । पैँया भन्ने ठाउँसम्म पुग्न नै समस्या थियो । मौसमको खराबीका कारण हवाई यात्रा अवरुद्ध भएपछि विदेशीहरू यहीँ बाटोमा यात्रामा थिए । बाटो हिलाम्मे थियो । निक्कै सकस देखिन्थ्यो ।
मकालु बेसक्याम्प पदयात्रामा पनि उस्तै छ । नुमसम्म जाने बाटो नै अप्ठ्यारो छ । त्यो भन्दा माथि निकुञ्जका कारण राम्रो पदमार्ग र बासस्थान बनाउन नसकिएको जनप्रतिनिधिको गुनासो छ ।
कञ्चनजंघा पदमार्गमा ठाउँ ठाउँमा बाटोको समस्या छ । कञ्चनजंघा संरक्षण परिषद्ले मात्र बनाउन सक्ने अवस्था देखिदैन । यी मूख्य गन्तव्यका समस्या हुन् । तर कोशीका प्रायः गन्तव्यमा पुग्न समस्या छ । पदयात्रादेखि गाडीमा यात्रा गर्न निक्कै कठिन हुने गरेको छ ।
प्रदेश सरकारले वि.सं. २०८२ साललाई पर्यटन भ्रमण वर्ष घोषणा गरेको छ । तर प्रभावकारी कार्यान्वयनको छनक देखिएको छैन भने यो वर्षलाई पनि पूर्वाधारकै असर पर्ने देखिन्छ । सडक, पुल, ट्रेकिङ ट्रेल, वर्षामा बिग्रिने संरचनाको समयमा मर्मत नहुने, वासस्थान, सूचना प्रविधि, स्वास्थ्य उपचार, सुरक्षा, सहायक संरचनाको अभाव देखिन्छ । भएका काम धेरै जसो वातावरण मैत्री छैनन् ।
साना साना ठाउँमा पर्यटन प्रबद्र्धन भन्दै बजेट खन्याईएको छ । पोखरी, कुवामा सिमेन्ट हालिदै छ । सिडिमार्ग भन्दै कङ्क्रिट भरिदै छ । वातावरण अनुकुलको विकास देखिदैन । बजेट छर्ने नाममा भएका कामले सहि उपलब्धि निस्कन सकेको देखिदैन । होटलको सेवा, राम्रा गाइड तथा यात्राका लागि पर्याप्त पदप्रर्दशनको अभाव छ ।
प्रदेशले पर्यटनको माध्यमबाट लाभ हाँसिल गर्नका लागि पूर्वाधार विकासमा जोड, वातावरणमैत्री विकास, प्रचारात्मक काम, प्याकेज निर्माणमा विशेष जोड दिन आवश्यक छ । गुणात्मक पर्यटक भित्र्याउनका लागि प्रदेश सरकार र यहाँका स्थानीय तहले विशेष भूमिका खेल्न आवश्यक छ । ०
The post पूर्वको पर्यटनः अथाह सम्भावना, कमजोर पूर्वाधार appeared first on sumhatlungtimes.
]]>The post महिलालाई उद्यमी बनाउने ढाकाको कथा appeared first on sumhatlungtimes.
]]>९ साउन २०८२, पाँचथर। विभिन्न पुरातात्विक तथा मानवविज्ञान सम्बन्धी अध्ययनहरूले प्रमाणित गरेका छन् कि कपडा लगाउने चलन मानव सभ्यताको विकाससँगै सुरु भएको हो । प्रारम्भमा जनावरको छाला, पात, रेशा आदि प्रयोग भए पनि समयसँगै कपडा बुनेर लगाउने सिपको विकास भयो । यसै सन्दर्भमा तान बुन्ने सीप र संस्कृति याक्थुङ (लिम्बू) जातिको प्राचीन सभ्यता र पहिचानसँग घनिष्ठ रूपमा गाँसिएको पाइन्छ ।
लिम्बू समुदायका आदिपुर्खा मानिने युमा? (बोजु) तान बुन्ने प्रारम्भिक आविष्कारकर्ताका रूपमा याक्थुङ मुन्धुम (परम्परागत वेद/शास्त्र) मा वर्णित छ । युमा? केवल सर्जक महिला होइनन्, उनी तान सिपकी वैज्ञानिक पनि हुन् । युमा?ले सुरु गरेको तान संस्कृति लिम्बू समाजमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आजसम्मको यात्रा तय गरेको छ ।
मुन्धुम अध्येता लक्ष्मण लाओतीका अनुसार युमा? द्वारा तान बुनेको सन्दर्भ पूर्वी लिम्बुवानका थुप्रै स्थानसँग जोडिएको पाइन्छ, जस्तैः पाँचथरको कुम्मायक–यासोक, ताप्लेजुङको थाक्सिबो–ताङ्गेलुङ, तेह्रथुमको पोक्लाबुङ–थाःक्चोगे थलायःक् र धनकुटाको चौविसे क्षेत्रको थाकेलुङ–खिबेलुङ जस्ता स्थल यस्तै ऐतिहासिक महत्वका तान केन्द्र हुन् । यी स्थान आज पनि मुन्धुमी गाथामा युमा? द्वारा तान बुनेको स्थलका रूपमा स्मरण गरिन्छन् ।
थाक्चोगे थाकेलुङ खिबेलुङ जस्ता शब्दहरूले लिम्बू भाषामा तान बुनाइसँग सम्बन्धीत उपकरण र धागोको संकेत गर्छन् । यसले देखाउँछ कि तान बुन्ने सिप लिम्बू समुदायको मौलिक आविष्कार हो, जसले परम्परागत घरेलु उद्योगको रूप लियो । लिम्बू समाजमा प्रायः हरेक घरमा तान उपकरण जडान गरिएको हुन्थ्यो । महिलाहरूले आफू र परिवारका लागि आवश्यक कपडा–गिम्ती, खेस बुन्ने गर्थे । तानका लागि आवश्यक धागो उत्पादन गर्न कपासको खेती समेत गरिन्थ्यो । लिम्बू समाजमा प्रचलित ‘खेती गरे साझे, सिप सिके पेवा’ भन्ने उखानको माध्यमबाट लिम्बू छोरी–चेलीलाई तानको सिपमार्फत् आत्मनिर्भर बन्न उत्प्रेरित गरिन्थ्यो ।
विशेषतः गिम्तीबाट साडी, सुरुवाल, टोपी, खेसबाट बर्को, पटुका, गुन्यू आदिको निर्माण गरिन्थ्यो । खेदको कुरा, गिम्ती बुन्ने सिप आज लोप भइसकेको छ । खेस बुन्ने सिप पनि केही वृद्धा महिलामा मात्र सीमित भएको जानकारी फिदिमकी तान उद्यमी दिलकुमारी फागोले दिनुभएको छ ।
कालान्तरमा खाडी बुन्ने सिप भित्रिएपछि लिम्बू जातिको तान सिप व्यावसायिक मोडतिर अग्रसर भयो । खाडी उत्पादनले बजारको माग समेत बटुल्यो । त्यतिबेला लिम्बुवानमा तानबाट उत्पादित कपडा गुणस्तरमा उत्कृष्ठ मानिन्थ्यो । यसैकारण तत्कालीन सरकारले खाडी कपडामा कर समेत लगाएको प्रमाण भेटिन्छ ।
मुन्धुमका अध्येता लक्ष्मण लाओतीद्वारा कान्तिपुर अनलाइनमा प्रकाशित लेख पल्लो किरातको व्यापार (मंसिर ८, २०८१) मा उल्लेख भए अनुसार, सन् १८६८ असार ३० गतेको एक लालमोहर दस्तावेजमा अरुणपूर्वका लिम्बू, राई, याम्फू, सुनुवार समुदायलाई सम्बोधन गर्दै खाडी कपडा सरकारी मूल्यमा बिक्री गर्न निर्देशन दिइएको छ । यसको उल्लङ्घन गरेमा ‘भारी दण्द’ को व्यवस्था गरिएको थियो । सो लालमोहर लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (इङनाम भगिराज, २०७७) मा समावेश छ ।
यसबाट खाडी उत्पादनको लोकप्रियता र अर्थतन्त्रमा यसको महत्व बुझ्न सकिन्छ । त्यसबेला खाडीका साना (छोटो हात) र लामो (लामो हात) किसिम छुट्याएर मूल्य निर्धारण गरिन्थ्यो ।
पछिल्लो इतिहास हेर्दा, सन् १९५० मा चीनले तिब्बत कब्जा गरेपछि उत्तरतर्फको व्यापार अवरुद्ध भयो । सन् १९५९ को तिब्बती विद्रोहपछि त व्यापार नै ठप्प भयो । जसको असरले परम्परागत तान उद्योग पनि प्रभावित भयो । भारतीय बजार हाबि हुँदै गएपछि लिम्बू समुदायको परम्परागत तान संस्कृति ओरालो लाग्यो ।
यद्यपि, बिक्रमाब्द दुई हजारको तेस्रो दशकबाट तेह्रथुममा ढाका बुनाइको नयाँ शैली विकसित भई खाडीको सट्टामा ढाका लोकप्रिय हुन थाल्यो । ढाका बुनाइ सिप विस्तार हुँदै पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा लगायतका जिल्लामा समेत फैलियो । ढाकाको व्यापक लोकप्रियता र पहिचानलाई दृष्टिगत गर्दै सरकारले तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिसकेको छ ।
आज ढाका केवल पोसाकको वस्त्र होइन, पूर्वी पहाडी पहिचानको प्रतीक, साँस्कृतिक सम्पदा, र आर्थिक आत्मनिर्भरताको आधार बनिसकेको छ । ढाका उत्पादनको आधारभूत संरचना परम्परागत तान–सेट प्रविधिमै आधारित रहेकाले यसलाई युमा?–प्रवर्तित तान संस्कृतिको आधुनिक रूप पनि भन्न सकिन्छ ।
सामाजिक, साँस्कृतिक, सौन्दर्य र पहिचानको सशक्त स्वरूप बनेको ढाकालाई यदि उचित बजार र बजारीकरणको पहुँच दिलाइयो भने यो पूर्वी पहाडको मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास गर्न सकिने विशाल सम्भावना बोकेको छ ।
तेह्रथुमः रातभरी चर्खा चलाएर धागो काति बिहान सबेरै तानमा खाँडीको कपडा बुन्नु लिम्बू समुदायको परम्परा थियो । बिसको दशकतिर पूर्वी पहाडमा दशैं–तिहार जस्ता चाडबाड सुरु हुँदै गर्दा नयाँ लुगाको लागि गाउँभरी खाँडीको कपडा बुन्ने लहर चल्थ्यो । अहिलेजस्तो बजारमा आधुनिक कपडा आउनु पहिले गाउँमा आफैंले बुनेको खाँडीको कपडा लाउने चलन थियो ।
त्यसबेला तेह्रथुमका महिलाहरु म्याङलुङ बजारको शुक्रबारे हटियामा लाच्छा धागो खरिद गर्थे । रातभरी चर्खामा लाच्छा धागोलाई बेरेर थोली धागो बनाउथे । त्यहीँ थोली धागोमा लाहुरबाट आउनेहरुले ल्याएको रङ्गिन धागो मिसाएर सेतो कपडालाई अलिअलि रङ्गिन बनाउने गरिन्थ्यो ।
म्याङलुुङ नपा–२ तुम्बाहाङफे गाउँकी रञ्जना तुम्बाहाङफे राईले वि.सं. २०२८ सालतिर १४ वर्षको हुँदादेखि आमाको खाँडीको तानमा रङ्गिन धागोको थोली हान्दै खाँडीलाई अलिअलि रङ्गिन बनाउन थालिन् । उसबेला म्याङलुङ बजारको शुक्रबारे हटियामा खाडि कपडा बनाउने लाच्छा धागो पाइन्थ्यो भने पल्टनबाट छुट्टी मनाउन घर आउने गाउँका लाहुरेहरुले रङ्गिन धागो ल्याउथे ।
बिसको दशकको अन्त्यतिर म्याङलुङमा हातले बुनेर प्रयोग गरिने खाँडीको सादा सेतो कपडा अलिअलि रङ्गिन हुन थाल्यो । वि.सं. २०३० सालमा कोशी हिल एरिया रिजनल डेप्लोमेन्ट प्रोग्राम (खार्डेप) नामक बेलायती परियोजना तेह्रथुममा सञ्चालन भयो । उक्त परियोजनामा स्वयमसेविकाको रुपमा कार्यरत बेलायती नागरिक सुसी डान्समोरले खाँडीको तानमा नवीनतम प्रयोग गर्दै ढाकामा परिणत गरिदिइन् । उनले म्याङलुङका रञ्जना लगायत अन्य महिलाहरुलाई खाँडीकै तानलाई परिष्कृत गर्दे ढाका बनाउन सिकाइन् । डान्समोरले ढाका कपडा बुन्दा प्रयोग गरिने रङ्गिन धागो कलकत्तासम्मबाट ल्याइन् । उनले ढाका कपडा बुन्दा रङ्गहरुको छनोट र बुट्टालाई कलात्मक बनाउने तरिका सिकाइन् । उत्पादित ढाका टोपीको बजारीकरणमा समेत योगदान गरिन् । डान्समोरको आगमनसँगै तेह्रथुमे ढाकाले व्यवसायीक मोड लिएको मानिन्छ ।
वि.सं. २०३५ सालमा खार्डेप परियोजना सकियो । त्यो सँगै डान्समोरले पनि तेह्रथुम छोडिन् । त्यसपछि जिल्लामा उनै रञ्जनाले ढाका कपडाको व्यवसायलाई निरन्तरता दिइन् । उनको परिवारले घरेलुमा बाँसघारी ढाका कपडा उद्योग दर्ता गरि तत्कालीन म्याङलुङ गाविस–२ मा ढाका कपडाको उद्योग सुरु गर्यो । त्यसबेला जिल्लाका विभिन्न स्थानबाट उद्योगमा काम गर्न महिलाहरु आउने गर्थे । उद्योगमा २५–३० जनाले बुनेका र गाउँभरिका महिलाहरुले बुनेका ढाका कपडा संकलन गरि बसन्तपुरसम्म भरियालाई बोकाएर निर्यात गरेको रञ्जनाले स्मरण गरिन् ।
वि.सं. २०४० सालमा सोही गाउँकी उज्ज्वलता सुब्बाले पनि ढाका कपडा उद्योग सुरु गरिन् । वि.सं. २०५१ सालमा सदरमुकाम म्याङलुङ सडक सञ्जालको पहुँचमा जोडिएपछि भने अन्य ढाका कपडाका उद्योग र पसलहरु खुल्न थाले । पराजुली ढाका कपडा उद्योग, आले ढाका कपडा उद्योग जस्ता ढाका उद्योग खुले । ‘त्यतिबेला उतिसारो वैदेशिक रोजगारीमा जाने चलन थिएन, आयस्रोतको बाटो पनि खासै थिएन, उद्योगहरु ढाका बुनकरहरुले टनाटन भरिएका हुन्थे, जिल्लाका विभिन्न गाउँ र धनकुटा, ताप्लेजुङ, पाँचथर सम्मका ढाका बुनकरहरु उद्योगमा काम गर्थे’, रञ्जनाले भनिन् । जिल्लाकै पहिलो ढाका उद्यमी रञ्जनाको अहिले म्याङलुङ बजारमा नवीन विकास ढाका कपडा उद्योग छ । किशोरावस्थामा सुरुवात गरेको ढाका व्यवसायलाई उनले बिवाहपछि पनि निरन्तरता दिइन् ।
तेह्रथुमको म्याङलुङमा सुरुवात भएको ढाका कपडा उद्योग अहिले छिमेकी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सुनसरी, झापा, मोरङ लगायतका जिल्लामा फैलिएको छ । ढाका व्यवसायमै जीवन बिताएकी रञ्जना उमेरले ७० वर्ष कटिन् । उनको उद्योगबाट अहिले बार्षिक ३० लाख रुपैंयाँ मूल्य बराबरको ढाका कपडाको कारोबार हुन्छ । जसबाट दुई सय ढाका बुनकरले रोजगारी पाएका उनले सुनाइन् ।
आज तेह्रथुमे ढाकाको आफ्नै पहिचान छ । देश–विदेशमा प्रशिद्धि कमाएको छ । तेह्रथुम र ढाका पर्याय जस्तै हुन् । यसमा बेलायती नागरिक डान्समोर, रञ्जना र उज्ज्वलता लगायतको योगदान छ । तेह्रथुमे ढाकाको प्रवद्र्धन र बजारीकरणका लागि नेपाल सरकारले वि.सं. २०७९ साल असार २० गते तेह्रथुमलाई ढाकाको राजधानी समेत घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुममा एक सय ५५ वटा ढाका उद्योग दर्ता छन् । ढाका उत्पादक समाज तेह्रथुमका अध्यक्ष भिम ल्वागुनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरेर १० हजार ढाका बुनकर रहेका छन् भने १४ वटा ढाका कपडाका पसल छन् । उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजिव ढुंगानाका अनुसार तेह्रथुमबाट वार्षिक तीन करोड मूल्य बराबरको ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गरेको छ । ०

इलामः इलाम भन्नासाथ धेरैको मनमा हरियो चियाबारी र झुल्के घामको सुन्दर दृश्य खेल्छ । पूर्वी पहाडी जिल्ला इलामलाई धेरैले ‘हरियो इलाम’ उपनाम दिन्छन् । सबैको मन लोभ्याउने इलामको चियाबारी र चियाको आफ्नै इतिहास, महत्व र प्रशिद्धि छ । पर्यटन, हरित कृषि र दुग्धजन्य उत्पादन इलामको चिनारी हुन् ।
उद्यममा अगाडी रहेको इलाममा ढाका उद्यममा भने अन्य जिल्लाको तुलनामा पछि रहेको छ । तर नेपाली मौलिक पहिचान बोकेको ढाका उद्यम इलाममा स्थापित हुने क्रममा भने छ । घरेलु तथा साना उद्योग कार्यालयमा १५ वटा ढाका उद्योग दर्ता भएका पाइन्छन् । धेरैजसो महिलाहरू घरमै तान जोडेर ढाका बुनिरहेका हुन्छन् । इलाम बजारस्थित ‘न्यू सम्झना ढाका उद्योग’ इलाममा लामो समयदेखि सञ्चालनमा रहेको ढाका उद्योग हो ।
वि.सं. २०५५ सालमा उद्योग स्थापना गरेको उद्योगकी प्रोप्राइटर देविका लिम्बूले बताइन् । उनले विगत सम्झिदै भनिन्, ‘वि.सं. २०४७ सालतिर काठमाडौं गएकी थिएँ, त्यहीँ पहिलोपटक कसरी ढाका बुनिन्छ भनेर देखें, मलाई पनि ढाका बुन्ने रहर जाग्यो र तीन वर्षसम्म सिकें ।’ उनले थपिन्, ‘त्यसपछि वि.सं. २०५१ सालमा दुईजना ढाका बुनकर राखेर काठमाडौंमै व्यवसाय सुरुवात गरेँ, पछि इलाम फर्किएँ ।’ इलाममा ढाका उद्योगलाई स्थापित गर्न धेरै संघर्ष गुर्नुपरेको उनको भनाई छ । लामो संघर्षबाट अहिले यो व्यवसायले प्रतिफल पनि दिइरहेको देविकाले सुनाइन् ।
हालः न्यू सम्झना ढाका उद्योगमा २० जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । अन्य ३५ जना महिला भने घरमै तान जोडेर ढाका कपडा बुन्छन् । उनीहरुको उत्पादन उद्योगले खरिद गर्दै आएको छ । एक थान साडी बनाउन सात देखि १५ दिनसम्म लाग्छ । धागोको गुणस्तर र डिजाइन अनुसार त्यसको मूल्य छ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ । देविकाका अनुसार साडीको माग बढी हुन्छ । त्यसपछि पछ्यौरी र चोलीको माग उच्च छ ।
पाँच वर्षअघि तेहथुमबाट इलाम आएकी सुमिता लिम्बू पनि ढाका उद्यममा सक्रिय छिन् । उनले लघु उद्यमको रुपमा घरैमा उद्योग सञ्चालन गरेकी छिन् । उनले छ जना महिलाले घरैमा बसेर बुनेका ढाका कपडा खरिद गरेर झापा, काठमाडौं जस्ता जिल्ला र यूकेसम्म निर्यात गर्दै आएकी छिन् । ‘महिनामा तीस÷चालिस हजार रुपैंयाँ सम्मको कारोबार हुन्छ’, उनले भनिन् ‘नानी सानो भएकोले सोचे जस्तो उद्योगलाई विस्तार गर्न सकिरहेको छैन, भविष्यमा उद्योगको आकार बढाउने सोच छ ।’
केही समययता जिल्लाका विभिन्न स्थानीय तहहरुले महिला दिदीबहिनीहरुलाई ढाका बुन्ने तालिम दिंदै आएका छन् । इलाममा करीब दुई सय ढाका बुनकर रहेका छन् । उत्पादित ढाका कपडा जिल्लामै भने धेरै खपत नहुने व्यवसायीको अनुभव छ । बाहिरी जिल्ला र विदेशबाट बढी माग आउने व्यवसायी बताउछन् । ‘वैशाखदेखि साउनसम्म त व्यापार खासै चल्दैन’, देविकाले भनिन् ‘तर अन्य महिनामा भने न्यू सम्झना उद्योगले मासिक तीन÷चार लाख रुपैयाँको कारोबार गर्ने गरेको छ ।’ उनका अनुसार अहिले सामाजिक सञ्जालको माध्यमबाट पनि धेरै ग्राहकसँग सम्पर्क हुन्छ ।
परम्परागत उत्पादनको रुपमा रहेको ढाकाले उद्योगको रुप लिएको छ । स्वरोजगार, आत्मनिर्भर र महिला सशक्तिकरणको माध्यम बनेको छ । इलाममा ढाका उद्यमको थप विस्तारका लागि सिप र कला सँगै अन्य प्रबद्र्धनात्मक कामहरु गर्नुपर्ने देखिन्छ । स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीले ढाकाको पोशाक अनिवार्य रूपमा प्रयोगको नीति बने मौलिक नेपाली उद्यम ढाकाको प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ । ०
The post महिलालाई उद्यमी बनाउने ढाकाको कथा appeared first on sumhatlungtimes.
]]>The post साहसिक डौडमा रमाउदै निक्की appeared first on sumhatlungtimes.
]]>सन्देश सुब्बा
३ साउन २०८२, पाँचथर। भनिन्छ, ‘जीवन संयोगै संयोगको योग हो ।’ यो भनाई एथलेटिक्सका राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ (निक्की)को जीवनमा लागू हुन्छ ।
पाँचथरको फाल्गुनन्द–५ कोप्चेमा जन्मेकी उनले कक्षा–५ सम्म गाउँकै टिकाभैरुङ आधारभूत विद्यालयमा पढिन् । संयोग भनौं, त्यसपछि उनी सानीमासँगै बसेर पढ्न सुनसरीको धरान झरिन् । धरानको शिक्षा निकेतन माविमा पढ्दा फुटवल र क्रिकेटप्रति उनको आकर्षण बढ्यो । साहसिक डौडको कुरा उनले कहिल्यै सोचिनन् । संयोगै भनौं, एक दशक अघि ‘धरान रन’ नामक डौड प्रतियोगिता आयोजना भयो । संयोगवस प्रतियोगितामा भाग लिएकी उनले यू–१६ ओमेन, आठ किलोमिटर डौडमा प्रथम स्थान हाँसिल गरिन् । पहिलो प्रयासमै मिलेको सफलताले किशोरी निक्कीलाई साहसिक डौडको लामो रेसमा अघि बढ्न प्रेरित ग¥यो । एथलेटिक्सको आफ्नो पहिलो सहभागिता र सफलतालाई निक्की आज पनि स्मरण गर्छिन्, ‘पहिलोपल्ट डौडिनु र पहिलै हुनु, सायद एउटा संयोग थियो, जसकारण आज म यहाँ छु ।’
फिटनेशका लागि डौडिने निक्कीको साहसिक डौड यहीँ संयोगसँगै अघि बढ्छ । त्यसपछि फुटवल र क्रिकेट छाडेर डौडतर्फ लागेकी निक्कीसँग आज राष्ट्रिय–अन्तरराष्ट्रिय साहसिक डौडका दर्जनौं सफलता र अनुभव छन् । ‘आफूले हाँसिल गरेका सफलता र प्राप्त गरेका अनुभव बाँढ्न पाउँदा खुसी लाग्छ’, निक्कीले भनिन् । साहसी र आत्मविश्वासी निक्कीले २०७९, १८ असोज देखि ३ कार्तिक सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा डुआथलन (डौड र साइकल चलाउने)तर्फ गोलमेडल जितिन् । गोलमेडल बनेसँगै निक्कीको चर्चा थप चुलियो । उक्त प्रतियोगितामा उनी त्रिभुवन आर्मी क्लवको तर्फबाट सहभागि भएकी थिइन् । त्यो सफलताले आफूमाथि थप जिम्मेवारी थपिदिएको निक्कीको अनुभव छ ।
निक्कीले देश–विदेशसम्मका एड्भेन्चर (साहसिक डौड, साइक्लिङ, ¥याफ्टिङ)मा भाग लिएकी छिन् र मेडल पनि जितेकी छिन् । ५० किलोमिटर भोजपुर ट्रेल रेस (२०२१), सिक्किम सरकारद्वारा आयोजित ४० किलोमिटर डौड (२०२१), एमटिबि साइकल रेस पश्चिम सिक्किम (२०२१), भारतकै अरुनाञ्जल प्रदेशमा आयोजित ६० किलोमिटर साइकल रेस (२०२२), इन्टरनेशनल ट्राई एडभेञ्चर कप्मिडिसन (२०२३), जोमसोममा भएको इन्टरनेशनल हाइ अल्टिच्युड ट्राई एड्भेञ्चर (२०२३), ५० किलोमिटर इन्टरनेशलन हिमालय क्रस कन्ट्रि कम्पिडिसन जस्ता प्रतियोगितामा निक्कीले गोलमेडल जितेकी छन् । साहसिक डौड र साइक्लिङको सिलसिलामा उनी नेपाल मात्र नभएर छिमेकी मुलुक भारत, चिनसँगै दक्षिण कोरिया, मलेसिया जस्ता मुलुक पनि पुगेकी छिन् ।
खेल्नलाई धेरै अप्सनहरु थिए । फुटवल र क्रिकेट त खेलिरहेकै थिइन् । तर ‘धरान रन’को सहभागिता र सफलताले निक्कीलाई यतातर्फ डो¥यायो । ‘अब त कहिलेसम्म सक्छु, डौडिरहन्छु’, निक्कीले सुनाइन् । अन्य खेलको तुलनामा यहाँ धेरै ‘रिस्क’ छ । तर एड्भेन्चरमा ती जोखिम र चुनौतिहरुलाई आत्मविश्वासले जितेर अघि बढ्नुको विकल्प नभएको उनी बताउछिन् । ‘मिहेनत सबैभन्दा ठूलो कुरा हो’, उनले भनिन् ‘निरन्तरता र मिहेनतले नै सफलताको शिखरमा पु¥याउछ ।’
निक्की रेस डिरेक्टर पनि हुन् । भोजपुर ट्राइल रेस (२०२१), धनकुटाको सिधुवा रोड रेस (२०२२), पाँचथरको उच्च पहाडी क्षेत्रमा आयोजित फालेलुङ ट्राइल म्याराथन रेस (२०२५) र कञ्चनजंघा साहसिक हाफ म्याराथन (२०२५) मा उनले रेस डिरेक्टरको रुपमा काम गरिन् । हाई अल्टिच्युडमा डौडिदा धावकहरुलाई विभिन्न समस्या आउन सक्छ । ती चुनौतीहरुसँग जुध्न आफूलाई कसरी तयार राख्ने ? डौडको क्रममा आउने समस्यालाई कसरी समाधान गर्ने ? धेरै उचाईमा डौडिदा के–के कुरामा ध्यान दिने ? रेस डिरेक्टरले यीनै कुराहरु सिकाउछ । जुन भूमिकामा पनि निक्किले आफूलाई अब्बल साबित गरेकी छिन् ।
आफूभन्दा जुनियर धावकहरुलाई प्रोत्साहित गरिरहेकी हुन्छिन्, निक्की । गत वर्ष आफ्नो गृह जिल्ला पाँचथर पुगेकी उनी वर्षेनी आयोजना हुने ‘सुम्हात्लुङ मिनी म्याराथन’को प्रबद्र्धन गर्न र सहभागिलाई प्रोत्साहित गर्न उनीहरुसँगै डौडिइन् । भर्खरै स्थापना भएको जिल्ला एथलेटिक्स संघमा आबद्ध खेलाडी र राष्ट्रपति रनिङ शिल्डको तयारीमा रहेका विद्यार्थीलाई प्रशिक्षण दिइन् । गृह जिल्ला पाँचथरको एथलेटिक्स विकासका लागि काम गर्ने मन रहेको निक्कीले सुनाइन् । ‘त्यसका लागि योजना पनि बनेका छन्’ उनले भनिन् ।
यो क्षेत्रमा आउन चाहने नयाँलाई उनको टिप्स छ, कठिन परिश्रम, समय व्यवस्थापन, लचिलोपन र गतिशीलता, इच्छाशक्ति र दृढ संकल्प अनि सहनशीलता । निक्कीले भनिन्, ‘अहिलेसम्मको मेरो संघर्ष र अनुभवबाट मैंले सिकेको पाठ यहीँ हो ।’ आगामी दिनमा साहसिक डौडलाई निरन्तरता दिंदै बिस्तारै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा लाग्ने योजना रहेको उनले सुनाइन् । साहसी धाविका निक्कीलाई सुम्हात्लुङ टाइम्सको शुभकामना । ०
The post साहसिक डौडमा रमाउदै निक्की appeared first on sumhatlungtimes.
]]>The post फोटोले समयलाई रोक्छ ? appeared first on sumhatlungtimes.
]]>भवानी तावा
२ साउन २०८२, पाँचथर। फोटोको सन्दर्भमा विज्ञहरु भन्छन्, फोटोले समयलाई रोक्छ । यो विषयले आर्कषित गरेपछि पान्थर अप्रभंसित नाम पाँचथरमा अवस्थित ऐतिहासिक स्थल सुम्जिरी सुम्हात्लुङ आम्बेपज?, ऐतिहासिक एवम् पुरातात्विक स्थल हिलिहाङ दरवार, याक्थुङ (लिम्बू)हरुको आधाध्यदेवी युमा?ले दर्शन दिएको पवित्र मुन्धुमी स्थल याङवरक, सदरमुकाम फेदेन (फिदिम) बजारको पुरानो फोटोहरु खोज–अनुसन्धाता, सामाजिक अध्येता, अन्वेषक, फोटोका सौखिन लगायतलाई महत्वपूर्ण हुन्छ भन्ने लागेर प्रकाशनमा ल्याउने सोच आयो । विगतमा खिचिएका पुराना फोटोहरु जुन लोकेशनबाट खिचिएको हो, त्यहीँ स्थानबाट फेरि खिचेर नयाँ र पुरानो फोटोलाई तुलना गर्दा विगत र वर्तमान बिचमा कस्तो अन्तर देखिएला ? विकासले प्रकृति र भूगोलमा कस्तो परिवर्तन ल्याउदो रहेछ ? के साँच्चै फोटोले समयलाई रोकेको प्रतीत हुँदो रहेछ त ? प्रस्तुत छ, पहिले र अहिले खिचिएका दश फोटोः
सुम्जिरी सुम्हात्लुङ

पान्थर (पाँचथर) सदरमुकाम फेदेन (फिदिम) गढीस्थित सुम्जिरी सुम्हात्लुङ आम्बेपज? । यसको स्थापना छैटौ सताब्दीमा भएको मानिन्छ । दश लिम्बुहरुले चुम्लुङ बस्ने उद्धेश्यले स्थापना गरेको सुम्जिरी सुम्हात्लुङमा तीन वटा ढुङ्गा गडेर, तीन वटा फरक प्रजातिका आँपहरु रोपेर यस स्थललाई सुम्जिरी सुम्हात्लुङ आम्बेपा? नामाकरण गरिएको इतिहासमा उल्लेख छ । पुरानो फोटो (माथि) वि.सं. २०४४ सालमा खिचिएको हो । नयाँ फोटो (तल) हालसालै खिचिएको हो।
हिलिहाङ दरबार
पाँचथरको हिलिहाङ गाउँपालिकामा अवस्थित, हिलिहाङ दरबार । यस स्थानमा रहेको दरबारको भग्नावशेष, इँटा, टायल र हिलिहाङले प्रयोग गर्ने हातहतियारहरुले यसको इतिहासलाई जीवित राखेको छ । यसै दरबारको नामबाट हिलिहाङ गाउँपालिका नामकरण गरिएको छ । यसले ऐतिहासिक एवम् पुराताङ्खित्वक स्थल हिलिहाङ दरबारको महङ्खव झन् बढेको छ । पुरानो फोटो (माथि) वि.सं. २०५२ सालमा खिचिएको हो । नयाँ फोटो (तल) हालसालै खिचिएको हो।
याङवरक
पाँचथरको याङवरक गाउँपालिकामा अविस्थत, याङवरक पोखरी । यो पोखरीको पुरानो फोटो (माथि) वि.सं. २०७५ सालमा खिचिएको हो । जहाँ हरेक दशैंको बेला निसान नचाइन्छ । यसलाई याङवरक गाउँपालिकाले राम्रो र सुन्दर बनाउने उद्देश्यले सिमेन्टेड गरेको छ, र कृतिम पानीको फोहरा लगाएको छ । यी फोटो मार्फत् पोखरी प्रकृतिक रुपमा रहँदाको सौन्दर्य र कृतिम बन्दाको सौन्दर्य बिच तुलना गरिएको छ । नयाँ फोटो (तल) हालसालै खिचिएको हो।
फिदिम बजार–१
करीब चार दशक अघि र अहिलेको पाँचथर सदरमुकाम फिदिम बजारको मेनरोड अनि पर देखिएको फिदिम नपा–२ ओदेनस्थित मौलो कोःक्मा (मौलो डाँडा) । यो पुरानो फोटो (माथि) वि.सं. २०४३ सालमा खिचिएको हो । त्यतिबेलाको र अहिलेको फिदिम बजारको स्वरुप हेर्दा ठूलो परिवर्तन भएको देखिन्छ । यो अवधीमा आधुनिक शहरको रुपमा विकास भइरहेको फिदिम बजारको भौतिक विकासले ठूलो फड्को मारेको छ ।
फिदिम बजार–२

फिदिम नपा–१ स्थित चुम्लुङहिम् र नेपाल पत्रकार महासंघको भवन मास्तिरको भ्यू–पोइन्टबाट देखिएको फिदिम बजार, फिदिम माविको खेलमैदान, आहालगैरी, चारबरे र गढी, सुम्जिरी सुम्हात्लुङ आम्बेपज?को दृश्य । वि.सं. २०५२ सालमा (माथि) र हालै खिचिएको (तल) यी दुई तस्बिरले ३० वर्ष अघि र अहिलेको फिदिम बजारको स्वरुप बुझाउछ । यी तस्बिरमा ‘मिनी उपत्यका’को झल्को दिने फिदिम बजारको सुन्दरता प्रतिबिम्बित भएको छ । 
The post फोटोले समयलाई रोक्छ ? appeared first on sumhatlungtimes.
]]>The post जंगल छेउका घर, डढेलोको डर appeared first on sumhatlungtimes.
]]>सीता लिम्बू/निमजिन
२६ जेठ २०८२, तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्ले, टारीका सुकवीर राईको घर चैत ४, २०८० मा जंगलको डढेलोले जल्यो । जुन घर उनका लागि घर मात्र थिएन, पाँच वर्षसम्म मलेसियामा दुःख गरेर जोगाएको पैसाले पूरा गरेको एउटा सपना थियो । वर्षौंको मिहिनेत खरानी भएको टुलुुटुल हेर्नबाहेक ५० वर्षका सुकवीरसँग अरू केही उपाय भएन ।
तमोर नदी र खोरुङवा खोलाको दोभानबाट बिहानीपख सुरु भएको डढेलोले मध्याह्न १२ बजेतिर सिम्लेका टारी, बाझीघरा, मयन्तप्पा, याङ्ख्वा, रातमाटे गाउँका १७ वटा घर खरानी बनाएको थियो ।
“चैत मासको त्यो कहालीलाग्दो डढलोबाट उठेको धूवाँले दिउँसै अँध्यारो भएको दिन सम्झिँदा पनि मुटु झसङ्ग हुन्छ,” सुकवीरसँगै उभिएकी उनकी श्रीमती चमेती भन्छिन्, “घरभित्र गएर केही सामान निकाल्ने मन थियो तर आगाकोे लप्का यति ठूलो थियो कि छोरीहरू समातेर भाग्नबाहेक अरू उपाय रहेन ।”
फेदापमा जस्तै डढेलो र आगलागीको जोखिममा छन् देशका धेरै ठाउँका वनजंगलछेउका बस्ती । जंगलको डढेलोले जंगल मात्र नभएर गाउँ नै सखाप पार्ने हुँदा जनधनको क्षति हुने गरेको छ । तर पनि डढेलो नियन्त्रण र जंगलछेउका बस्तीलाई जोगाउने पूर्वतयारी सरकारले गरेको पाइँदैन । जसले गर्दा डढेलोकै कारण सुकवीरजस्ता नागरिकले आफ्नो सर्वस्व गुमाइरहेका छन् । आहातमा परेका उनीहरूलाई राहतको मलहम लगाउने प्रयाससमेत पर्याप्त हुने गरेको छैन ।
सामान्य किसान परिवारका सुकवीरकै कुरा गर्दा उनी धनी त थिएनन् तर पनि उनको जीवन र घरपरिवार सरल र शान्तसँग चलिरहेको थियो । डढेलोले घर गुमाएपछि उनको जीवन बिथोलियो, नयाँ घर बनाउँदा ८ लाख रुपैयाँ ऋण लागेको छ उनलाई । “मेरो घर जलेर खरानी भयो, नयाँ बनाउँदा लागेको ऋण तिर्ने कसरी ?” उनी बिलौना गर्छन्, “घर जल्यो, ऋणको भारी थपियो, अब के गर्ने ? ऋण तिर्ने उपाय छैन ।”
स्थानीय जनप्रतिनिधिले घर बनाउन ४ लाख रुपैयाँ राहत दिने आश्वासन दिएपछि ऋण काढेर घर बनाएको सुकवीर बताउँछन् । “बसाइँ सरेर जाने ठाउँ भएन, छोरीहरूका लागि बासस्थान जोहो गर्नै पर्यो,” उनी भन्छन्, “त्यसमाथि ४ लाख रुपैयाँ राहतबापत् पाउने स्थानीय जनप्रतिनिधिले जानकारी गराएकाले घर बनाएँ ।”
आगलागीपीडित सबै १७ घरपरिवारलाई नै प्रतिपरिवार ४ लाख रुपैयाँ राहत दिने आश्वासन दिइएको थियो । तर उनीहरूले प्रतिपरिवार ३८ हजार रुपैयाँ मात्र पाएका छन् । बाँकी रकम कहिले पाउने कसैलाई थाहा छैन । “ऋण तिर्नुछ, जहान–परिवार पाल्नुछ, छोरीहरूलाई राम्रो शिक्षा दिनुछ,” सुकवीर प्रश्न गर्छन्, “तर कसरी ?”
डढेलोपीडित परिवारका महिलालाई पुर्खासँग गाँसिएका सरसामान नष्ट भएकामा पनि चिन्ता छ । किनकि त्यस्ता पुर्ख्यौली सरसामानले पुस्तापुस्तालाई भावनात्मक रूपमा जोडेर राख्न सक्थ्यो, जुन अब पैसाले किन्न असम्भव छ । गोमादेवी घतानी भन्छिन्, “डढेलोले घरभित्रका सम्पूर्ण सामान नष्ट गरिदियो, पुर्ख्यौली सरसामान जुन बाबुबाजेको चिनो थियो, त्यो पनि सबै जलेर खरानी बन्यो ।”
चप्लेटी सामुदायिक वनका सदस्य जयकुमार राईका अनुसार त्यो डढेलो यति भयंकर थियो कि, त्यसलाई नियन्त्रणको प्रयास नै गर्न सकिएन । “हावाहुरी बढेर आगोको लप्काहरू आकाश छुने गरी उडिरहेका थिए, धूवाँले आकाश नै ढाकिएको थियो,” उनी सम्झन्छन्, “डढेलोनजिकै सास फेर्न पनि धेरै गाह्रो भएको थियो, घर र धनसम्पत्तिभन्दा ज्यान जोगाउनतिर हामी लाग्यौँ, हेर्दाहेर्दै घरहरू खरानी भए ।”
सधैं डढेलोको त्रास
फेदापको सिम्लेका टारी, बाझिघरा, याङख्वा, मयन्तप्पा, रातमाटे गाउँमा अहिले नयाँ जस्तापाताले छाएका घर छन् । डढेलोले घर र सम्पत्ति गुमाएका गाउँले नयाँ घरमा बसेर त्यो विपद् बिर्सन चाहन्छन् । तर बिर्सनु त परैको कुरा, उनीहरू फेरि पनि त्यस्तै विपद् आउने हो कि भन्ने चिन्तामा छन् । घरधन्दा गरिरहँदा पनि दुःख गरेर बनाएको घर हावाहुरी र सुक्खायाममा डढेलोले फेरि डढ्ने हो कि भन्ने पीर लागिरहेको कल्पना राई बताउँछिन् ।
सुकवीरको घरमुनि कच्ची सडक छ । त्यो सडकले अग्नि रेखाको काम गर्ला र आगो माथितिर नआउला भन्ने सोचे पनि त्यस्तो भएन । भिरालो जमिन, तलबाट डढेलो सल्केको र त्यसपछि हावा धेरै लागेकाले आगोको लप्का जमिन माथि–माथि उडेर घरसम्म आइपुगेको थियो ।
डढेलोबाट आगलागी भएका गाउँ तमोर नदी र खोरुङवा खोलाको विशाल जंगल क्षेत्रको माथिल्लो भागमा छन् । यस ठाउँमा पानीको मुहान छैन, त्यसैले सधैंजसो सुक्खा रहन्छ । त्यसैले हिउँदमा सधैं डढेलोको जोखिम हुने स्थानीय बासिन्दा बताउँछन् ।
डढेलोबाट जोगिन फेदापका बासिन्दाले मिलेर आफ्नो घरबारीवरिपरि झाडीहरू फाँडेर सफा गरेका छन् । घरनजिकै आगोले छिट्टै टिप्ने मकैका ढोडको माच राखेका छैनन् ।
उनीहरूले गाउँनजिकैको सुक्खा झाडी पनि सफा गरेका छन् । तर पनि समस्या छ । टारी गाउँको पञ्चकन्या समूहका अध्यक्ष जयकुमार राई भन्छन्, “बाँझो जमिन र खोल्साको झाडी गाउँले मात्रले नष्ट गर्न सम्भव छैन ।”
पञ्चकन्या समूह डढेलो र यसको क्षति न्यूनीकरणमा क्रियाशील छ । महिनाको एक दिन उनीहरू बैठक बस्छन् । बैठकमा गाउँको विकाससँगै डढेलो रोकथामका बारेमा सल्लाह गर्छन् ।
गाउँको सुक्खापनको समस्यालाई हल गर्न तमोर लिफ्ट सिँचाइ आयोजना सम्पन्न हुन लागेको र सम्दुमा रहेको मूलबाट सिँचाइ सुविधा पनि ल्याउन पहल भइरहेको फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले बताए ।
सिँचाइ सुविधाले गाउँलेहरू कृषि क्षेत्रमा अगाडि बढ्न सक्ने र डढेलोको जोखिम पनि घट्ने विश्वास रहेको पञ्चकन्या समूहका अध्यक्ष जयकुमार बताउँछन् ।
डढेलो रोकथामका लागि वडा कार्यालयबाट ५० हजार रुपैयाँ छट्याएको थियो । तर त्यो रकम गाउँलेले लिएनन् । रकम लिन उपभोक्ता समिति बनाउनुपर्ने, २ घण्टाको बाटो हिँडेर पालिकाको कार्यालय धाउनुपर्ने, बैंक खाता खोल्नुपर्ने, रकमान्तरका लागि तारान्तार धाउनुपर्ने, कन्सल्टेन्सीलगायत अन्य शीर्षकमा रकम काटिने, धेरै झन्झटिलो हुने र त्यति रकम पर्याप्त पनि नभएकाले नलिएको जयकुमारले बताए ।
किन लाग्छ डढेलो ?
९९ प्रतिशत डढेलो मानवीय कारणले गर्दा हुन्छ, जसमा लापरबाही प्रमुख हो । वनमा नयाँ घाँस पलाउने आसमा जानाजान आगो लगाउनु, असुरक्षित तरिकाले झाडी नष्ट गर्नु, वनमा चुरोट, बिँडी खानु र त्यसका ठुटा जथाभावी फाल्नु, वन क्षेत्रमा बालेको आगो राम्रोसँग ननिभाउनु, दुर्व्यसनीहरूले वनमा अखडा बनाउनु, केटाकेटीलाई सलाई, लाइटर खेलाउन दिनुजस्ता मानवीय क्रियाकलाप नै डढेलो लाग्नुका प्रमुख कारण हुन् ।
चट्याङ पर्दा र ढुंगा पल्टिँदा निस्कने झिल्काबाट पनि आगलागीको खतरा हुन्छ । पहाडी तथा हिमाली क्षेत्रमा बाँझो जमिन बढ्दै गएको र त्यस्तोे जमिनमा मिचाहा वनस्पतिका झाडी बढ्नु, वनपैदावरको प्रयोगमा धेरै कमी आएर घाँसपात सुकेर ज्वलनशील अवस्थामा रहनु, ग्रामीण भेगमा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण जनशक्ति कम हुनु, आधुनिक कृषि औजारको प्रयोगले पशुपालनमा कमी आउनु र भौगोलिक विकटता पनि डढेलोसँग सम्बन्धित छन् ।
डढेलोको अर्को मुख्य कारण जलवायु परिवर्तन भएर विश्वको तापक्रम बढ्नु हो । जसले गर्दा हिउँदमा धेरै कम मात्रा पानी पर्छ, सुक्खापन बढिरहेको हुन्छ, हावाहुरी धेरै चल्छ, पानीका मुहानहरू सुकेका छन्, तापक्रम बढेर रूखबिरुवा सुक्न थालेको छ । यी कारणहरूले डढेलोलाई बढावा दिइरहेको छ ।
सहायक कारणमा देशको नयाँ संरचना बन्दा डढेलो नियन्त्रण र रोकथाममा संघ, प्रदेश र स्थानीय तहमा प्रभावकारी समन्वय नहुनु, यी तीन तहबीच स्रोत र खर्च बाँडफाँडमा अस्पष्टता रहनु, डढेलो लगाउने व्यक्तिलाई कानुनी सजायबारे जानकारी र डर नहुनु, सचेतनात्मक कार्यक्रमहरू प्रभावकारी नहुनु, विपद् न्यूनीकरणका लागि कम बजेट छुट्याउनु आदि छन् । वन डढेलो रोकथामसम्बन्धी जिम्मेवारी बहनमा कार्यरत निकायहरूबीचमा अन्योल देखिन्छ ।
सरकारले वन डढेलो व्यवस्थापन रणनीति २०६७ ऐन बनाएर लागू गरे पनि यसको कार्यान्वनमा समस्या रहेको र अहिलेको समयानुकूल नरहेको डढेलोविद् सुन्दर शर्माले बताएका छन् । वन विभागका महानिर्देशक बद्रीप्रसाद ढुंगानाका अनुसार डढेलो रोकथाम र नियन्त्रणमा सामुदायिक वन र स्थानीय बासिन्दाको प्रमुख जिम्मेवारी रहेको बताउँछन् ।
सामुदायिक वनका पदाधिकारीलाई जिम्मेवारी कागजी रूपमा मात्र प्रदान गरिएको तर काम गर्नका लागि स्रोतसाधन उपलब्ध नगराएको गुनासो फेदाप गाउँपालिका–१ सिम्लेका अध्यक्ष मनबहादुर श्रेष्ठले गरेका छन् ।
डढेलो र जलवायु परिवर्तन
जलवायु परिवर्तनले विश्व तापमान निरन्तर बढिरहेको छ । तापक्रम बढेकै कारण वनमा सुक्खा इन्धनको मात्रा बढ्छ, जसले डढेलोलाई बढावा दिइरहेको छ ।
डढेलोको घटना बढेकै कारण जलवायु परिवर्तनमा तीव्रता पनि हुन्छ । वातावरणविद् भूषण तुलाधारका अनुसार वन डढेलोले गर्दा कार्बनडाइअक्साइड धेरै उत्सर्जन हुने, ब्ल्याक कार्बन पनि उत्सर्जन हुने र वनजंगलले कार्बनडाइअक्साइड सोस्ने काममा पनि कमी आउने हुन्छ, जसले जलवायु परिवर्तनमा सहयोग पुग्छ ।
डढेलोबाट उत्सर्जन हुने ब्ल्याक कार्बनले जलवायु परिवर्तनलाई तीव्र बनाउने साथै त्यस्ता ब्ल्याक कार्बन हिमाली क्षेत्रमा पुगेमा त्यसले सूर्यको किरण ज्यादा सोसेर हिउँ पग्लने क्रममा तीव्रता ल्याउने वातावरणविद् भूषण बताउँछन् ।
संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन फ्रेमवर्क सन्धि यूएनएफसीसीसीमा नेपालले पेस गरेको राष्ट्रिय सञ्चार प्रतिवेदन, सन् २०२१ अनुसार नेपालले डढेलोबाट कार्बनडाइअक्साइड (सीओटु), मिथेन (सीएचफोर) र नाइट्रेडअक्साइड (एनटुओ) उत्सर्जन हुन्छन् । नेपालको हरित गृह ग्यासको उत्सर्जन र अवशोषणसम्बन्धी विवरण, सन् २०११ अनुसार त्यति बेला डढेलो तथा खेतबारीमा कृषिजन्य फोहोर जलाउँदा करिब १ लाख ७६ हजार टन मिथेन ग्यास र २१ हजार टन नाइट्रेडअक्साइड ग्यास उत्सर्जन भएको अनुमान छ । सन् २०११ यता यसबारे अध्ययन भएको छैन । त्यसैले सन् २०२१ को राष्ट्रिय सञ्चार प्रतिवेदनमा यही तथ्यांक राखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला वर्षमा डढेलो बढ्दो छ । जसले गर्दा डढेलोबाट उत्सर्जन हुने ग्यासको मात्रा पनि बढेको मान्न सकिन्छ ।
जलवायु परिवर्तनको कारण हिउँदमा पानी कम पर्ने, पानीका मुहान सुक्ने, सुक्खापनमा वृद्धि हुने, बोटबिरुवाहरू सुक्ने भएकाले वनजंगल ज्वलनशील अवस्थामा रहन्छ । जसले गर्दा सानो आगोको भिल्काले ठूलो डढेलोको रूप लिन्छ ।
रेड कार्यान्वयन केन्द्रको तथ्यांकअनुसार नेपालका वनमा करिब १ अर्ब ५ करोड ५० लाख टन कार्बन सञ्चिती क्षमता छ । जसमा १ हेक्टर वन क्षेत्रले औसतमा १७६.९५ टन कार्बन सञ्चित गर्ने देखाउँछ ।
डढेलोले हजारौँ हेक्टर वन नष्ट हुँदा यसबाट धेरै कार्बनलगायत हरित गृह ग्यास उत्सर्जन हुने र कार्बन सञ्चितिमा पनि असर पारेर जयवायु परिवर्तनमा सहयोग पुर्याइरहेको छ ।
संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमले सन् २०२० मा निकालेको प्रतिवेदनअनुसार जलवायु परिवर्तनले विश्वभर चरम डढेलेको जोखिम सन् २०३० सम्म १४ प्रतिशत, २०५० सम्ममा ३० प्रतिशतले र यो शताब्दीको अन्त्यसम्ममा ५० प्रतिशतले बढ्ने अनुमान छ ।
सरकारी प्रयास
डढेलो रोकथाम र नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालय मातहतको वन तथा भूसंरक्षण विभाग, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश र जिल्लाका विपद युनिटहरू, प्रदेश वन मन्त्रालय, डिभिजन वन कार्यालय र सव–डिभिजन वन कार्यालयहरू कार्यरत छन् ।
कार्बन व्यापार हेर्ने निकाय रेड कार्यान्वयन केन्द्र र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग पनि डढेलो रोकथाम र नियन्त्रणका लागि कार्यरत छन् ।
स्थानीय तहका वातावरण शाखाले वन डढेलो रोकथाम र नियन्त्रणका लागि कार्य गरिरहेका छन् । सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो कार्यक्षेत्रमा डढेलो रोकथाम र नियन्त्रणका लागि कार्य गरिरहेका हुन्छन् ।
डढेलो नियन्त्रणका लागि सरकारले ऐन तथा कार्यविधिहरू बनाएर कार्यान्वन गरिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुदीप छत्कुलीले बताए । उनका अनुसार डढेलो, आगलागी तथा व्यवस्थापन शीर्षकमा वार्षिक ६० देखि ७० लाख रुपैयाँ बजेट विनियोजन हुने गरेको छ । यो रकम तालिम सञ्चालनदेखि रणनीति निर्माण गर्नसम्म खर्च गर्नुपर्ने भएकाले बजेट अभाव भएको उनी बताउँछन् ।
उपसचिव सुदीपका अनुसार वन तथा भूसंरक्षण विभाग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा मोडिस सेन्सरबाट प्राप्त हुने तथ्यांकबाट डढेले पत्ता लगाउने र अगुनमन गर्ने गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाको टेरा र एक्वा स्याटेलाइटमा रहेको ‘मोडरेट रिजोल्युसन इमेजिङ स्पेक्ट्रोरेडियोमिटर’ सेन्सर विश्वभरका जंगलको आगो पत्ता लगाउन र अनुगमन गर्न प्रयोग हुने गरेको छ ।
मोडिसबाट दैनिक प्राप्त हुने जानकारीलाई प्रशोधन गरी डढेलोे लागिरहेका स्थानको पहिचान गरिन्छ । जुन जानकारी वन डिभिजन र सव–वन डिभिजनका प्रमुखहरूलाई पठाइन्छ भने उनीहरूमार्फत स्थानीय तह र सम्बन्धित सामुदायिक वनका सदस्यहरूसम्म पुग्ने गरेको उपसचिव सुदीपले जानकारी दिए ।
सरकारले वन डढेलो व्यवस्थापन रणनीति २०६७ जारी गरेर डढेलो नियन्त्रणका लागि दीर्घकालीन रणनीतिहरू पनि तय गरेको छ । यस रणनीतिमा नयाँ बन्ने वनसम्बन्धी नीति, रणनीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनहरूमा वन डढेलोको विषयलाई समावेश गरिएको छ ।
सरकारले वन ऐन २०७६ मा वन डढेलो लगाउने कार्यलाई कानुनी अपराध मानेर डढेलो लगाउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकेको र बिगो भराउने पनि व्यवस्था गरेको छ । डढेलो लगाउनेको सुराकी दिने व्यक्तिलाई जरिवानाको १० प्रतिशत पुरस्कार दिने व्यवस्था पनि गरेको छ ।
सरकारले डढेलो रोकथाम र नियन्त्रणका लागि राष्ट्रियस्तरमा सूचना प्रचारप्रसार गर्ने कार्य गरिरहेको छ । संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने कार्य पनि गरिरहेको छ । सरकारले डढेलो रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, दमकल तथा उपकरण खरिद तथा व्यवस्थापन गर्ने, फायर फाइटरलाई तालिम प्रदान गर्नेजस्ता कार्यहरू गरिरहेको छ ।
यसै वर्षदेखि डढेलो नियन्त्रणका क्रममा घाइते वा मृत्यु भएमा त्यस्ता स्वयंसेवकहरू ५ सय जनाको बिमा गरिएको र त्यस्तो घटना भएमा बिमाद्वारा क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था गरिएको वन तथा भूसंरक्षण विभागका महानिर्देशक बद्रीप्रसाद ढुंगानाले जानकारी दिए ।
वन मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी डढेलो नियन्त्रणका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी परिचालन गर्दै आएको छ । तेह्रथुम जिल्लामा डढेलो नियन्त्रण र रोकथामका लागि जिल्ला विपद् व्यवस्थापन समितिको प्रत्येक बैठकमा छलफल हुने गरेकोे, विपद् समाज सेवा गठन गरिएको, समुदायमा सचेतनामूलक कार्यक्रम गरिएको, विद्यालयस्तरमा पनि सचेतनात्मक कार्यक्रम गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
डढेलो रोकथाम र नियन्त्रणमा समस्या
तेह्रथुमकोे म्याङलुङ नगरपालिका–१० को केउरेनी सामुदायिक वनमा वैशाख १, २०८२ मा लागेको डढेलो स्थानीय समुदाय र सरोकारवाला निकायहरूले दोस्रो दिन नियन्त्रण गरे ।
तर ३ गते फेरि त्यही ठाउँमा डढेलो लाग्यो, त्यो डढेलोमा केउरेनीका नानम गोले (६३) घाइते भए । उनी डढेलो नियन्त्रण गर्ने टोलीले राम्रोसँग डढेलो ननिभाई लापरबाही गरेकाले पुनः डढेलो सल्किएको बताउँछन् ।
यसले लापरबाहीका कारण डढेलो रोकथाम र नियन्त्रण हुन नसकेको देखाउँछ । तर यस्तो लापरबाही यत्तिमा मात्रै सीमित छैन । सुक्खायामको सुरुवात भएर हावाहुरी चल्ने बेलामा डढेलोका घटना बढ्दै जान्छन् । जब डढेलो लाग्छ तब मात्र यसबारे कुराकानी हुन्छ । विशेष गरी चैत/वैशाखबाहेक अरू महिनामा डढेलोका बारे त्यत्ति धेरै बहस नै हुँदैन । यसले डढेलो नियन्त्रण र रोकथामको पूर्वतयारीमा ध्यान नगएको देखाउँछ । “डढेलो रोकथामका सचेतनात्मक कार्यक्रमहरू प्रभावकारी नभएको तथा कार्यक्रमका लागि मात्र कार्यक्रमहरू गरिराखिएको देखिन्छ,” डढेलोविद् सुन्दर शर्मा भन्छन् ।
सचेतनात्मक कार्यक्रमार्फत ज्ञान बाँड तापनि उक्त ज्ञानलाई व्यवहारमा उतार्न नसक्दा र क्षणिक फाइदाका लागि आगो लगाउने प्रवृत्ति नरोकिँदा डढेलो रोकथाम हुन नसकेको तेह्रथुम जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
डढेलोविद् सुन्दर भने डढेलो लगाउने व्यक्तिहरूलाई कानुनी दायरा ल्याउन नसकिएका कारणले पनि डढेलो रोकथाम गर्न नसकिएको बताउँछन् ।
पहाडी भेगको भौगोलिक विकटताका कारण, भिरालो जमिन हुनु, हावाको बहाव धेरै रहनुले पनि डढेलो रोकथाम र नियन्त्रण प्रभावकारी हुन नसकेको देखिन्छ । पहाडी भेगमा यातायात सुविधा कमी हुनुका कारणले पनि डढेलो लागेको स्थानमा सही समयमा डढेलो नियन्त्रण गर्न सकिएको छैन । संघीय सरकारको पहुँच स्थानीस्तर तथा प्रभावित क्षेत्रमा कम हुनु र स्थानीय तहसँग वन व्यवस्थापन गर्ने अनुभव कम भएका कारण डढेलो रोकथाम र नियन्त्रणमा समस्या आएको वातावरणविद् भूषण तुलाधारको ठम्याइ छ ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक बद्रीप्रसाद ढुंगानाका अनुसार वनको उपयोग कम हुनु, सामुदायिक वनहरूले वनको राम्रो व्यवस्थापन गर्न नसक्नु, हिउँदे वर्षा कम हुनु, डढेलो नियन्त्रणमा आधुनिक प्रविधि प्रयोग गर्न नसक्नु आदि कारणले प्रभावकारी रूपमा डढेलो रोकथाम र नियन्त्रण हुन सकेको छैन ।
वन डढेलो व्यवस्थापन रणनीति २०६७ को ३.१.१ बुँदामा बहुसरोकारवालाहरूको संलग्नतामा वन क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनहरू परिमार्जन गरी डढेलो व्यवस्थापनसम्बन्धी विषयलाई समावेश गर्ने उल्लेख छ । तर त्यसपछि बनेको राष्ट्रिय वन नीति २०७५ को उद्देश्यहरूमा वन डढेलो नियन्त्रण र रोकथामका विषय समावेश नै छैन । त्यस्तै वन ऐन २०७६ मा पनि डढेलो लगाउने कार्यलाई कानुनी अपराध मानी सजाय तोकिएको बाहेक डढेलो शीर्षकमा अन्य कुनै कुरा उल्लेख छैन ।
जसले डढेलोजस्तो संवेदनशील घटनालाई सरकारले प्राथमिकता नदिएको देखिन्छ । सरकारी ऐन, कानुनमा डढेलो नियन्त्रण र रोकथामका कुराहरू प्रस्ट नहुँदा अधिकार र जिम्मेवारी बाँडफाँटमा नै समस्या आएको देखिन्छ ।
छुट्टै निकायको आवश्यकता
डढेलोको नियन्त्रण र रोकथामका लागि विभिन्न सरकारी निकायलाई जिम्मेवारी र अधिकार दिई यस क्षेत्रमा काम भइरहेको छ । तर डढेलो नियन्त्रणसम्बन्धी काम गर्ने छुट्टै निकायको व्यवस्था नभएकामा डढेलोविद् सुन्दर शर्मालाई चित्त बुझेको छैन ।
डढेलोको समस्या दिनानुदिन बढिरहेको र यसको बहुपक्षीय असर भयावह हुने भन्दै उनी भन्छन्, “यसको नियन्त्रण र रोकथामका लागि छुट्टै निकायको व्यवस्थाको माग नीति निर्माता, सरकारी उच्च ओहोदाका कर्मचारी, तत्कालीन मन्त्रीहरूमाझ ३० वर्षदेखि गर्दा पनि हालसम्म सुनवाइ भएन ।” छुट्टै निकायको व्यवस्था नहुँदा जिम्मेवारी बहनमा अलमल हुन गई प्रभावकारी काम हुन नसकेको उनको मूल्यांकन छ ।
यकिन तथ्यांक संकलन नहुँदा यसले पुर्याएको क्षति र असरका बारे प्रस्ट रूपमा जानकारी पाउन सकिएको छैन । जसले राहत वितरणमा समस्या हुने गरेको छ । अझ डढेलोले बहुमूल्य वनस्पति, जडीबुटी र वन्यजन्तुमा पुर्याएको क्षतिबारे कुनै पनि क्षेत्रले अध्ययन–अनुसन्धान गरेको देखिँदैन ।
अलग निकाय गठन गरेमा उसले सही तथ्यांक संकलन गर्ने र डढेलोका कारण भएको भयावह क्षतिको जानकारी सबै पक्षले पाएमा यसको नियन्त्रण र रोकथाममा सबै पक्षले प्रभावकारी कदम चाल्नेमा दुईमत नरहेको डढेलोविद् सुन्दर बताउँछन् ।
आर्थिक व्यवस्था हुने, प्रभावकारी रोकथामका उपायहरू अपनाइने, डढेलो नियन्त्रणमा सबै पक्षलाई परिचालन गरिने, आवश्यक ऐन–कानुन बन्ने, सामुदायिक वनसँग सहकार्य हुने, स्थानीय तहसँग समन्वय हुने, डढेलोको घटना र क्षतिको यकिन विवरण प्राप्त हुने, राहत वितरण सहज हुने साथै डढेलोका घटनामा कमी आउन सक्ने उनी बताउँछन् ।
दीर्घकालीन समाधान
डढेलो राष्ट्रियस्तरको ठूलो विपद् बन्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्ण अधिकार र पर्याप्त बजेटसहितको एउटा छुट्टै निकायको व्यवस्था गर्नुपर्नेमा डढेलोविद् सुन्दर जोड दिन्छन् । जसले हाल छरिएर रहेको योजना, बजेट र जनशक्तिलाई एकीकृत गरी प्रभावकारी कदम चाल्नु आवश्यक छ । डढेलो रोकथामको पूर्वतयारी प्रभावकारी रूपमा गर्न र नियन्त्रणका लागि सम्बन्धित निकायसँग सजिलै समन्वय गर्न सकोस् ।
सरकारले डढेलो रोकथामका लागि दीर्घकालीन र रणनैतिक कार्ययोजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव पनि छ– डढेलोविद् सुन्दरको । सरकारले वन डढेलो व्यवस्थापन रणनीति– २०६७ अनुसार काम गरिरहेकामा यस ऐनलाई परिमार्जन गरेर अहिलेको समयानुकूल बनाउनुपर्छ । संघ, प्रदेश र स्थानीय तहहरूलाई डढेलो नियन्त्रणमा अझ सक्रिय बनाउनुपर्छ ।
तराई क्षेत्रभन्दा पहाडी र हिमाली क्षेत्रमा भौगोलिक कठिनाइ हुने भएकाले डढेलो लाग्नुपूर्व नै अति संवेदनशील र संवेदनशील क्षेत्रमा विभाजन गरेर आवश्यक तयारी गर्नुपर्छ । अति संवेदनशील क्षेत्रको स्थानीय तहमा दमकल उपलब्ध गराउनुपर्छ । दमकल पुग्न नसक्ने स्थानहरुमा ट्यांकी जडित पानी ओसारपसार गर्न मिल्ने ट्र्याक्टरमा जेनेटर जडान गरी डढेलो नियन्त्रणमा प्रयोग गर्नुपर्छ । जुन म्याङलुङ नगरपालिकाले प्रभावकारी रूपमा अभ्यास गरिरहेको छ । यसको व्यवस्थापन स्थानीय तहहरुले आफैं पनि गर्न सक्ने म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्वाहाङफेको अनुभव छ ।
सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ तथा प्लास्टिक पोखरीको व्यवस्था गरी कृषकहरूलाई खेतीपातीमा प्रोत्साहन गर्नुपर्छ । वन पैदावरको प्रयोगलाई सहज बनाई वनका उपभोक्ताहरूलाई वन पैदावरको प्रयोगमा प्रोत्साहन गर्ने, वनमा भएका सुकेका पातपतिंगर, घाँस, दाउरालाई बायो बिर्गेड बनाउने उद्योगहरू सञ्चालन गर्ने तथा निजी क्षेत्रलाई पनि संलग्न गराएमा डढेलो रोकथाममा सहयोग पुग्ने वातावरणविद् भूषणले बताए ।
कृषकहरूलाई पशुपालनतर्फ पनि आकर्षण बढाउनुपर्छ । पशुपालनले वन पैदावरको प्रयोग वृद्धि भई वन संरक्षणमा सहयोग पुग्छ । जमिन बाँझो रहन नदिन सरकारले नीति बनाउनुपर्छ । ग्रामीण क्षेत्रमा आवश्यक सेवासुविधा पुर्याई विभिन्न सहुलियतहरू प्रदान गरेर बसाइँसराइलाई नियन्त्रण गर्नुपर्छ ।
सरकारले विद्यालय तहदेखि नै पाठ्यक्रममा डढेलोसम्बन्धी विषयवस्तुलाई समेटी बालबालिकाहरूलाई पठनपाठनमार्फत डढेलोबारे ज्ञान दिने व्यवस्था गर्नुपर्छ । डढेलो लगाउने व्यक्तिलाई खोजीखोजी कानुनी सजायको भागीदार बनाउनुपर्छ । डढेलो लगानु कानुनी अपराध हो भनी सबैलाई सचेत गराउनुपर्नेमा डढेलोविद् सुन्दर जोड दिन्छन् ।
उनका अनुसार वनका उपभोक्ताहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै उनीहरूलाई वन संरक्षण र यसको प्रयोगमा सहयोग गर्नुपर्छ । उनीहरूलाई हिउँद याममा नै झाडी फँडानी गर्न सहयोग गर्नुपर्छ । जथाभावी आगो बाल्न रोक्न गोठ निर्माण र सुधारिएको चुलो निर्माणमा सहयोग गर्नुपर्छ । अग्नि नियन्त्रकहरूलाई आवश्यक तालिम दिई डढेलो नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ । विभिन्न सञ्चारमाध्यमहरूबाट प्रभावकारी सेचतनात्मक कार्यक्रम गर्नुपर्छ ।
कभर तस्बिर – चैत ४, २०८० मा जंगलको डढेलोले फेदापमा आगलागी भएको घर अवलोकन गर्दै स्थानीयबासिन्दा । तस्बिर सौजन्य : धनराज राई ।
यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।
The post जंगल छेउका घर, डढेलोको डर appeared first on sumhatlungtimes.
]]>The post चोत्लुङ पार्कः पर्यटन, संस्कृति र इतिहासको संगमस्थल appeared first on sumhatlungtimes.
]]>सन्देश सुब्बा
३ कात्तिक २०८१, तेह्रथुम। तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानीको रुपमा चिनिन्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल टिएमजे क्षेत्रमा ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यहीँ टिएमजे क्षेत्रको प्रवेशद्वार पर्यटकीय बजार वशन्तपुरमा निर्मित चोत्लुङ पार्क पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति र इतिहास अध्ययनको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।
चोत्लुङ पार्क तेह्रथुमको लालीगुराँस नगरपालिकाको सेवा केन्द्र वशन्तपुर बजार छेउमै रहेको छ । रैथाने वास्तु शैलीमा निर्मित घरहरु, ढुंगा बिछ्याएर बनाइएका फलैंचा र बिसौनीले याक्थुङ (लिम्बू) संस्कृति मात्र झल्काउदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउछ । गुराँसे जंगलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैयूँ), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते?लासे (केरा), लि?सिङ् फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पतीहरु रोपिएका छन् । मुन्धुममा वर्णन गरिए जस्तो अग्ला अग्ला ढुंगा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएका छन् । जसमा मुन्धुमी सभ्यता प्रतिबिम्बित भएको अनुभूत हुन्छ ।
चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । जहाँ तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धी, सम्झौता, रुक्का लगायतका ऐतिहासिक कागजात र दस्तावेज संग्रहित गरिएका छन् । याक्थुङ (लिम्बू)हरुसँग सम्बन्धीत पुराना गरगहना, भेषभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्का लगायतका महत्वपूर्ण सामग्रीहरुलाई संग्रहालयमा सुरक्षित गरिएका छन् । संग्रहालयको २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति, वरिष्ठ कवि बैरागी काइँलाले उद्घाटन गरेका थिए ।
ती ऐतिहासिक वस्तुहरु याक्थुङ (लिम्बू)को इतिहास र संस्कृति सम्बन्धी खोज, अनुसन्धाताहरुका लागि अन्यन्तै उपयोगी हुने बिहीबार चोत्लुङ पार्क परिषरमा भेटिएका वरिष्ठ कलाकार प्रेम सुब्बाले बताए । चोत्लुङ पार्क र त्यसभित्र रहेको संग्रहालय अवलोकनपछि भावि सन्ततीलाई आफ्नो संस्कृति र इतिहास चिनाउने महत्वपूर्ण काम भएको आफूले महसुस गरेको धनकुटाका बक्सिङ् प्रशिक्षक किशोर सम्बाहाम्फेले सुनाए । ‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ हुन्छ । ‘पूर्णता’ हुन्छ । प्रकृति, संस्कृति र इतिहासको समिश्रण पाइने चोत्लुङ पार्क पुग्दा आफू पूर्ण भएको अनुभूत भएको पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी एनटिभी इटहरीमा कार्यरत सञ्चारकर्मी बिनु चेम्जोङले बताइन् ।
मुन्धुम र इतिहासका अध्येता तथा लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङको परिकल्पनामा चोत्लुङ पार्क निर्माण भएको हो । वि.सं.२०७४ बाट निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । चोत्लुङ पार्क निर्माणमा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर र अन्य निकायको गरी हालसम्ममा दुई करोडबढी रकम खर्च भएको लालीगुराँस नगरपालिकाका नगर प्रमुख माबुहाङले बताए ।
चोत्लुङ पार्क आउने पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र संग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ । चोत्लुङ पार्क घुम्न आउने पर्यटकबाट मात्र बार्षिक करीब १३ लाख राजश्व संकलन हुने गरेको नगर प्रमुख माबुहाङले बताए । वशन्त ऋतुको सिजनमा चोत्लुङ पार्कमा पर्यटकको घुइँचो लाग्छ । गुराँस अवलोकन गर्न टिएमजे जाने पर्यटक चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कन्छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको वशन्तपुर बजारकै छेउमा रहेको चोत्लुङ पार्क पुग्न कुनै सास्ती खेप्नु पर्दैन ।
The post चोत्लुङ पार्कः पर्यटन, संस्कृति र इतिहासको संगमस्थल appeared first on sumhatlungtimes.
]]>The post तेह्रथुमे चिनो, ‘तेह्रथुमे ढाका’ appeared first on sumhatlungtimes.
]]>सन्देश सुब्बा
१९ असोज २०८१, तेह्रथुम। केही समय अघि तेह्रथुमकी स्थानीय सञ्चारकर्मी बबिता राई र रेडियो नेपालकी समाचार सम्पादक सुखकला राई तेह्रथुम सदरमुकाम म्याङलुङमा भेटिए । पहिलोपल्ट भएको भेटमा दुईबीच चिनजानसँगै केही बातचित पनि भयो । छुट्टिने बेलामा बुट्टा भरेर ‘मायाको चिनो’ लेखिएको ढाकाको रुमाल बबिताले सुखको हातमा थमाइन् । सुखले अनौंठो मानेको देखेर बबिताले भनिन्, ‘राख्नुस न दिदी, बैनीले दिएको तेह्रथुमे चिनो हो ।’
पहिले पहिले युवा–युवती र साथी–साथी कतै भेटेर टुट्टिदा सम्झना स्वरुप रुमाल चिनो साट्ने वा दिने चलन थियो । तर, त्यो ढाकाकै भने नहुन सक्थ्यो । पछिल्लो समय यो चलन हराउदै गएको छ । यद्यपी तेह्रथुम आउने पाहुनालाई भने तेह्रथुमे ढाकाको रुमाल वा ढाकाकै अन्य सामग्री चिनो दिने चलन बढेको छ । तेह्रथुम पुग्ने पाहुना, साथीभाई र आफन्तलाई तेह्रथुमे ढाकाबाट बनेको रुमाल, मफलर, पछ्यौरी, टोपी, पर्स, साडी वा चौबन्दी चोलीको कपडा चिनो दिने चलन पछिल्लो समय संस्कृतिको रुपमा विकास भइरहेको संचारकर्मी बबिताले बताइन् ।
तेह्रथुमे ढाका उसै पनि प्रख्यात छ । स्थानीय महिलाले हाते तानबाट बुनेको तेह्रथुमे ढाकाको कपडा धेरैको रोजाइमा पर्छ । ‘त्यहीँ ढाकाको कपडाबाट बनेको सामान चिनो पाउँदा खुसी लाग्यो’, सुखकलाले सुनाइन् । स्थानीय महिलाहरुले तानको सहायतमा हातले बुनेको तेह्रथुमे ढाकाको प्रबर्दनका लागि कुनै कार्यक्रम र अन्य भेलामा जिल्लाबाहिरबाट आउने पाहुनालाई तेह्रथुमे ढाकाबाट बनेको केही न केही सामान चिनो दिने गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए ।
विभिन्न कामले तेह्रथुम पुग्ने आगन्तुकले पनि स्थानीयस्तरमा उत्पादित ढाकाको कपडाबाट बनेका विभिन्न सामग्री तेह्रथुमको चिनोको रुपमा किनेर लाने गरेका छन् । पाँचथरका साँस्कृतिक अभियन्ता नरेन्द्रराज केरुङले केही समयअघि कामको सिलसिलामा धरान, धनकुटा हुँदै तेह्रथुम भएर पाँचथर फर्कदा सदरमुकाम म्याङलुङमा तेह्रथुमे ढाकाको मफलर, चिनो स्वरुप किनेको सुनाए । देश–विदेशमा रहेका आफन्त र साथीभाईलाई तेह्रथुमे ढाका कपडा र त्यसबाट निर्मित विभिन्न सामग्री उपहारको रुपमा दिने वा पठाउने चलन रहेको किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका अध्यक्ष राज कुमार तेयुङले बताए ।
तेह्रथुमे ढाकाको प्रशिद्धि देशभित्र मात्र होइन विदेशसम्म पनि फैलिएको छ । नेपाली रहे, बसेका विभिन्न देशहरुमा तेह्रथुमे ढाका पुग्ने गरेको तेह्रथुमकी पुराना ढाका कपडा उद्यमी तथा म्याङलुङस्थित उज्ज्वलता ढाका कपडा पसलकी प्रोप्राइटर उज्ज्वलता सुब्बाले बताइन् । ढाका कपडाको मूल्य प्रतिमिटर १ हजार रुपैंयाँदेखि गुणस्तर हेरी २ हजार ५ सय रुपैयाँसम्म पर्छ । त्यसैले कोट, साडी, चौबन्दी चोलीको नापो अनुसारको मूल्य पर्छ भने रुमाल, पर्स जस्ता सामग्री ३/४ सय रुपैंयाँदेखि माथि पर्छ ।
तेह्रथुमस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ वटा ढाका कपडा उद्योग दर्ता भएका कार्यालय प्रमुख प्रदीप पौडेलले जानकारी दिए । तर, उद्योगमा मात्र होइन सदरमुकाम म्याङलुङसँगै नजिकका गाउँका प्रायः सबै घरमा ढाका कपडा बुनिन्छ । क्याम्पस पढ्ने विद्यार्थी र डेरा बस्ने अन्य महिलाले आफू डेरा बस्ने कोठामै तान जोडेर ढाका बुन्ने गरेका छन् । म्याङलुङ बजारस्थित गारागार टोलमा डेरा गरेर बस्ने मञ्जु लिम्बूको दिन ढाका बुनेरै बित्छ । आठ बर्ष अघि श्रीमानको मृत्यु भएपछि ढाका बुनेर हुने आम्दानीले नै एक छोराको पढाइसँगै घरव्यवहार चलाउदै आएको उनले बताइन् । ढाकाको साडी बुन्ने उनलाई एउटा साडी सिध्याउन सातदेखि दश दिन लाग्छ ।
मेन्छ्यायेम गाउँपालिका–२ घर भएकी १९ बर्षीया सन्ध्या लिम्बू म्याङलुङ क्याम्पसमा अध्ययरत छिन् । म्याङलुङ बजारस्थित रतनपुरमा डेरा गरी बस्ने उनले पनि कोठामै मफलर बुन्ने हाते तान जोडेकी छिन् । मफलर बुन्ने तान सानो हुने भएकाले कोठाभित्रको सानो ठाउँमा पनि अँटाउन सकिन्छ । पढाइबाट बँचेको समय उनी ढाकाको मफलर बुन्छिन् । त्यहीँ मफलर पसललाई बेचेर कोठा भाँडा र पकेट खर्च जुटाउने गरेको उनले सुनाइन् । तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष राजिव ढुंगानाका अनुसार दर्ता भई सञ्चालन भएका उद्योगहरुबाट मात्र बार्षिक करोड बढीको ढाका कपडा जिल्ला बाहिर निर्यात हुन्छ । दर्ता नगरी सञ्चालन गरिएका उद्योग र निजी रुपमा धेरै ढाका कपडा उत्पादन हुने भएकाले जिल्लाबाट कूल यति नै रकमको ढाका निर्यात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको अध्यक्ष ढुंगानाले बताए । सदरमुकाम म्याङलुङमा मात्र आधा दर्जनबढी ढाका कपडा पसल छन् ।
तेह्रथुमका ग्रामीण क्षेत्रमा परम्परागत खाडीका कपडा धेरै पहिलेदेखि बुन्ने गरिएको तथ्य भेटिन्छ । रङ्गीन धागोबाट बुनिने ढाका कपडा कहिलेदेखि बुन्न थालियो भनेर यकिन गर्न गाह्रो छ । यद्यपी सन् १९८३ ताका नेपाली ढाकाको क्षेत्रमा काम गर्ने आङ्दिकु शेर्पा मार्फत् बेलायती महिला सुमी डान्स्मोर तेह्रथुमे ढाकाबारे अध्ययन गर्न म्याङलुङ आइन् । उनले ढाकामा प्रयोग हुने कलर म्याचिङ्बारे अध्ययन गरिन् । तेह्रथुमे ढाकाको अध्ययनकै सिलसिलामा तीन पटक तेह्रथुम आएकी उनै डान्स्मोरले रङ्ग छनौंट गरिदिएपछि तेह्रथुमे ढाका कपडा उत्पादनले व्यवसायिक मोड लिएको नवीन विकास ढाका उद्योगकी सञ्चालक रञ्जना राईले बताइन् । पाँच बर्ष अघि लण्डनमै दिवाङ्गत भएकी डान्स्मोरले आफ्नै घरमा बसेर धागोको रङ्ग छान्न सिकाउने काम गरेको उनले सुनाइन् । तेह्रथुमको सिको गर्दै अहिले छिमेकी जिल्लाहरु ताप्लेजुङ, पाँथचर, धनकुटा लगायतमा पनि ढाका कपडाको व्यवसायिक उत्पादन हुने गरेको छ ।
तेह्रथुमे ढाका कपडाको प्रबर्दन, विविधिकरण र प्रचारप्रसारका लागि म्याङलुङ नगरपालिकाको सहजीकरणमा २० असार २०७९ मा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरेको छ । नगरपालिकाले गत बर्ष म्याङलुङ बजारस्थित टुडिखेलमा ढाका बुन्दै गरेकी महिलाको स्तम्भ समेत निर्माण गरेको छ । तेह्रथुमे ढाकाको चिनारी, प्रबर्दन र ढाका बुन्ने महिलाहरुको कला र सिपको सम्मान स्वरुप प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा दश लाख रुपैंयाँ लागतमा स्तम्भ निर्माण गरिएको नगरप्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले बताए ।
The post तेह्रथुमे चिनो, ‘तेह्रथुमे ढाका’ appeared first on sumhatlungtimes.
]]>The post नोगेन हाङसरुम्बा लिम्बूः भ्वाइसको फिनालेमा गुञ्जिएको पहिलो पाँचथरे स्वर appeared first on sumhatlungtimes.
]]>– राधा लुइटेल
ग्रामीण परिवेशमा जन्मेका नोगेनको शौख सानैदेखि संगीतमा थियो । रहरै रहरमा उनी ९ वर्ष नपुग्दै फिदिमस्थित बरदान संगीतालयमा भर्ना भए । अनि, सांगीतिक यात्रामा पाइला चाल्न सुरु गरे ।
सांगीतिक यात्रा सुरुवात त भयो तर निरन्तरता दिनु कसरी ? चुनौतीको विषय थियो । यद्यपी नोगेनको सपना पूरा गर्न बुबा आमाले सदैब साथ दिए । निम्न मध्यमवर्गीय परिवारमा जन्मेका नोगेनका बाबु देउमान रोजगारीका लागि खाडीतर्फ हानिए । आमा सदरमुकाम फिदिममा होटल चलाउथिन् । रहरै रहरमा संगीत सिक्न थालेका उनले बरदान संगीतालयमै रहँदा विशेषतः पुर्वेली लोकलयमा आधारित हाक्पारे, पालाम सहितका भाकासँग परिचित भए । अन्ततः १९ वर्षको उमेरमा भ्वाइस अफ् नेपालको स्टेजमा पुगेर आफ्नो प्रतिभा प्रष्फुटन गर्ने सौभाग्य पाए ।
‘‘परिवारको पहिलो सन्तान हँु, भाइ सानै थियो, बुबा–आमाले दुःख गरेरै संगीत क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुभयो, मेरो इच्छा उहाँहरुको रुची बन्न पुग्यो ।’’ उनले भने । गत वर्ष सम्पन्न भएको भ्वाइस अफ् नेपालमा नोगेन सुदूरपूर्वको सुर बनेर देश–विदेशसम्म गुञ्जिए । अनि, संसारभर रहेका नेपालीहरुको मन जिते ।
त्यसपटक भ्वाइस अफ् नेपालमा भाग लिने नोगेनको इच्छा थिएन । केही समय पर्खिनुपर्छ भन्ने लागेको थियो । तर, परिवार, साथीभाई र शुभचिन्तकले ‘ढिलो हुन्छ’ भन्दै प्रतिश्पर्धामा उत्रिन दवाब दिएपछि भ्वाइसमा आउन बाध्य भएको उनी सुुनाँउछन । उनले संगीतसँगै पढाइलाई पनि निरन्तरता दिइरहेका छन् । उनी काठमाण्डौँको कञ्चनजंघा बहुमुखी क्याम्पसबाट स्नातक गर्दैछन् ।
भ्वाइस अफ् नेपाल सिजन–५ मा नोगेन पूर्वको ‘सुर’ बनेर गुञ्जिए । त्यो स्टेजमा उनले पस्किएका ‘हाक्पारे’, ‘पालाम’ र पूर्वेली रैथाने लोकभाखाको सुगन्ध मौलिक नेपाली संगीत थियो । जसको जरा पूर्वको भूगोल, मुन्धुम र सभ्यता नै हो भन्दा अत्युक्ती हुँदैन । द भ्वाइस अफ् नेपालको ग्राण्ड फिनालेमा गुञ्जिएको पहिलो पाँचथरे स्वर नोगेनको हो ।
नोगेनको प्रस्तुतिसँग उनकै संगीत गुरु बुद्वराज इङ्वा पनि मख्ख छन् । ‘‘मौलिक नेपाली संगीतको जरा समातेर, त्यसको मर्म र मूल्यबोध गर्नु सामान्य होेइन, जुन खुबी नोगेनसँग छ ।’’ नोगेनका गुरु बुद्धले भने । संगीत आफ्नो रहर भए पनि भ्वाइस अफ् नेपालमा गइहालँु जस्तो नलाग्दा नलाग्दै परिवार र साथीभाइको दबाब झेल्न नसकेर सहभागी भए, नोगेन । सहभागी भइसकेपछि केही चरण पार गर्नु नै पर्ने थियो । डिजिटल र फिजिकल अडिसन पछि ब्लाइण्ड राउण्डमा उनका लागि चार चरणसम्म एउटै कुर्सी घुमेन । उनी झण्डै आउट भए । अन्तिममा कोच प्रमोद खरेलले घुमाएको कुर्सी उनका लागि ग्राण्ड फिनालेसम्म पुग्न कोशेढुंगा साबित भयो ।
व्याटल राउण्ड पार गरेर नकआउट चरणमा प्रवेश गरेका नोगेनले लाइभ शो को ‘डे सिक्स’ मा डेन्जर जोनको सामना गर्नुपर्यो । उनले दार्जिलिङकी ट्रिजा प्रधानलाई भोटमा पछि पार्दै अगाडि बढे । नोगेन लाइभ शो को ‘डे सेभेन’ मा पनि खरो प्रतिश्पर्धी तेन्जिङ डोल्मा गुरुङलाई रोकेर अघि बढे । अन्तिम ‘४’ मा आफ्नो स्थान सुरक्षित गरे । यसरी भ्याइस अफ् नेपालको ग्रान्ड फिनालेसम्म पुग्न विभिन्न चरण पार गरेका नोगेनको प्रस्तुति निकै दमदार थियो । त्यहीँ प्रस्तुतिका कारण उनलाई देश विदेशबाट हजारौं नेपालीले भोट गरे ।
सामाजिक सञ्जालहरु उनकै प्रसंशामा रंगिए । यद्यपी नोगेनलाई समर्थक र शुभचिन्तकले देखाएको त्यो माया र सद्भाव भ्याइस अफ् नेपाल सिजन ५ को तेस्रो नम्वरमा आएर रोकियो । भ्याइस अफ् बिजेता नबने पनि नोगेनको सांगीतिक यात्रा रोकिएको छैन । पछिल्लो समय उनी ठाउँ–ठाउँमा आयोजना हुने स्टेज कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दैछन् भने उनको स्वरमा रेकर्ड भएका गीतहरु बजारमा आउने क्रम जारी छ । पछिल्लो समय नोगेनको स्वर र प्रस्तुतिमा रिलिज भएको ‘जीउ पैंचो’ लाई युट्युबमा एक महिनामा झण्डै नौ लाखले हेरेका छन् ।
नोगेन भने भ्वाइसको फाइनलिस्ट बनेकैमा सन्तुष्ट छन् । ‘यति ठूलो स्टेजको यो स्थानसम्म पुग्छु भन्ने सोचेकै थिइँन’ उनी भन्छन्, ‘भ्वाइसको उपाधि जित्ने कोसिस गरेकै हुँ, सम्भव भएन, जुन उपलब्धी हाँसिल भयो त्यसैमा खुसी छु ।’ नोगेनको आग्रह छ– ‘‘भगवानरुपी दर्शक ! अथाह माया दिनुभयो । यहाँहरुलाई धेरै धेरै धन्यवाद छ, तपाईँहरुको माया र सद्भावले सदैब अघि बढिरहन्छु । सदैव आर्शिवाद दिनुहोला ।’’
The post नोगेन हाङसरुम्बा लिम्बूः भ्वाइसको फिनालेमा गुञ्जिएको पहिलो पाँचथरे स्वर appeared first on sumhatlungtimes.
]]>The post पाँचथरे आरोहीका अनुभवः हिमाल चढ्न भन्दा ओर्लन कठिन appeared first on sumhatlungtimes.
]]>– लक्ष्मी गौतम
हिमाल चढ्न जति गाह्रो हुन्छ । त्यो भन्दा कठिन हुन्छ ओर्लिएर गन्तव्य सम्म पुग्न । त्यसमा पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुगेर फर्किनु कति चुनौतीपूर्ण होला ? एक पटक कल्पना गरौं त ! केही मान्छे यस्ता हुन्छन्, उनीहरु अनेक संकल्प गरेर चुनौतीका पहाड पन्छाउदै अघि बढ्छन्, अनि चुचुरो चुमेर किर्तिमान बनाँउदै फर्कन्छन् । यो सामग्रीमा पाँचथरका पत्रकार लक्ष्मी गौतमले पाँचथर जिल्लालाई प्रतिनिधित्व गर्दै हिमाल चढ्ने तीनजना आरोहीका कथा समेटेका छन्ः
सुशील सेर्मा
पाँचथरको कुम्मायक–२ मङजावुङका सुशील सेर्मालाई कक्षा तीनमा पहिलो सगरमाथा आरोही तेन्जिङ नार्गे सेर्पा र एडमण्ड हिलारीको जीवनी पढेपछि सगरमाथा चढ्न इच्छा जाग्यो ।
स्कुलबाट फर्केपछि आमालाई त्यो पाठ पढेर सुनाए । अनि ‘‘ठूलो भएपछि म पनि सगरमाथा चढ्छु है !’’ भनेर प्रस्ताव राखे । पहिलोपटक यो प्रस्ताव राख्दा आमा बिना प्रतिक्रिया मुसुक्क हाँसिन् । सुशीलले त्यहीँ कुरा पटक–पटक दोहो¥याए । ‘‘हिमाल त शेर्पाहरुले मात्रै चढ्छन, तिमी लिम्बूको छोरा हौ, फेरि त्यहाँ जानु सजिलो छैन, हिउँमा पुरिएर मरिन्छ पनि ।!’ भनेर प्रतिक्रिया दिइन् ।
उमेर छिप्पिदै जाँदा सुशीलको हिमाल आरोहण गर्ने सपना पनि झागिँदै गयो । १९ वर्षको उमेरमा नेपाली सेनामा भर्ना भए । तालिम पूरा गरे । करिब २ वर्ष जागिर खाएपछि उनी आफ्नै बाल्यकालदेखिको इच्छा पूरा गर्न हिमाल आरोहणको अभ्यासमा जुटे ।
शेर्माले हालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ठुला साना आधा दर्जन हिमालको सफल आरोहण गरिसकेका छन । यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, आइसल्यान पिक र लाङटाङ हिमालको सफल आरोहण गरेका उनी पछिल्लो पटक गत वर्ष रसियाको माउण्ट एल्ब्रुस नामक हिमालको चुचुरोमा पुगेर नेपाली झण्डा फहराउन सफल भए ।
उनी सन् २०१७ को मे २० का दिन सगरमाथाको चुचुरोमा पुगेका थिए । त्यसअघि उनले २०६८ साल असोज ६ गते आइसल्याण्ड पिकको आरोहण गरेका थिए । यी बाहेक उनीसँग लाङटाङ हिमाल आरोहण र नेपालको सबैभन्दा होचो भू–भाग झापाको केचनादेखि विश्वको तेस्रो हिमाल कञ्चनजंघा आधार शिविरसम्म पैदल यात्रा गरेको अनुभव छ ।
आरोही सेर्मालाई संविधान दिवस २०७९ कोे अवसर पारेर नेपाल सरकारले ‘सगरमाथा आरोहण पदक’ मार्फत विभुषित गर्यो । अब विश्व शान्ति, मानव एकता र आणविक सस्त्र अस्त्र निसस्त्रीकरणको सन्देश लिएर ७ महादेशका प्रमूख ७ वटा हिमाल आरोहण गर्ने उनको संकल्प योजना छ ।
सेर्माले पछिल्लो पटक गत साउन ३२ गते बिहान ५ बजेर २५ मिनेट जॉदा रसियामा अवस्थित ५ हजार ६ सय ४२ मिटर उचाईको माउण्ट एल्ब्रुस हिमाल सफल आरोहण गर्दै शिखरमा नेपाली झण्डा फहराएका थिए । आरोही सेर्माले सन २०११ देखि नेपालका विभिन्न हिमाल आरोहण सुरु गरेका थिए ।
‘‘जहॉ पुगे पनि विश्व शान्ति, धार्मिक सहिष्णुता र आणविक सस्त्र अस्त्र निसस्त्रीकरणको सन्देश दिनु मेरो उदेस्य हो ।’’ शेर्मा भन्छन् । रसियाको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा र लुम्बिनी जस्ता धार्मिक र पर्यटकीयस्थल भ्रमणको निम्तो दिएको उनले बताए ।
शेर्माले यसपछि तान्जानियाको किली मन्जारो हिमाल आरोहण गर्नेछन् । ७ वटा महादेशका ७ वटै अग्ला हिमाल आरोहण गर्दै विश्व शान्ति, मानव एकता, आणविक शस्त्र अस्त्र निसस्त्रीकरण सँगै नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने योजना रहेको शेर्मा सुनाउँछन् ।
शेर्मा नै पाचथर जिल्लाको पहिलो र लिम्बू समुदाबाट सगरमाथा आरोहण गर्ने दोस्रो आरोही हुन् । जस्लाई जिल्लाका विभिन्न संघ–संस्था र सरकारी, गैर सरकारी निकायले अभिनन्दन र सम्मान गरेका थिए ।
किशोर जबेगू
फालेलुङ–८ अंशुभञ्ज्याङका २७ वर्षीय किशोर जबेगू नेपाली सेनामा कार्यरत छन् । उनी २०८० साल जेठ १ गते बिहान १० बजेर ५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुग्न सफल भए । उनी श्री सिंहनाथ बाहिनीको कमाण्डो फोर्समा कार्यरत नेपाली सेनाका जवान हुन् ।
नेपाली सेनाले सञ्चालन गरेको सगरमाथा सफाई अभियान अन्तरगत उनीसँग पाँच सेना र चार शेर्पा गरी नौ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । ‘‘सफल आरोहणपछि फर्कने क्रममा हाम्रो टोलीको एकजना साथीको मृत्यु भयो, आँखै अगाडी सहकर्मीको ज्यान गएपछि सगरमाथा चढ्नु भन्दा ओर्लनु जोखिम रहेछ भन्ने चेत खुलेको छ ।’’ जबेगू भन्छन् ।
जवेगू आधार शिबिरबाट हिंडेको तीन दिन, एक रातमा चुचुरोमा पुग्न सफल भएका थिए ।
आरोहण गर्न गएकाहरु धेरै आधा बाटो नपुगी फर्किन्छन् । कोही चुचुरोमा पुग्छन् । ती मध्ये कोही त बाटैमा मर्छन् । हामी सगरमाथा सरसफाई अभियानमा थियौं । समूहमा गएका थियौं । समूहमै शिखर चुम्यौं । एकजना सहकर्मी भने फर्कदा हिउँमा चिप्लेर बित्नुभयो । सगरमाथा आरोहण गर्नु जति कठिन छ, त्यो भन्दा चार गुणा कठिन ओर्लिनका लागि छ । सगरमाथाको चुचुरो चुमेर गन्तव्य फर्किनु पुनर्जन्म पाउनु जस्तै हो ।’’ जबेगू भन्छन् ।
‘‘हिमाल आरोहणका लागि नेपाली सेनाले फोर्सका मान्छेहरुलाई छानेर तालिम दिन्छ । थोरैले हिमाल चढ्ने मौका पाउँछन् । ती भाग्यमानीहरुको सूचीमा म पनि परेको छु । हिमालको सरसफाई गर्दै शिखरमा पुग्ने जिम्वेवारी थियो, पुग्यौ, फर्कियौं । फर्किएपछि स्वास्थ्यमा समस्या भएर झण्डै दुई महिना रेष्ट गर्नपर्यो ।’’ जवेगू भन्छन्, ‘‘हामी फौजीहरु चेन अफ् कमाण्डमा चल्नुपर्छ । मिडियामा बोल्न माथिको आदेश लिनुपर्छ । धेरै नभनौं, मलाई फोर्सले सगरमाथा चढ्ने मौका दियो । सकुुुुसल चढेँ, फर्किएँ । आरोहणका क्रममा सँगालेका अनुभवलाई सम्पतीका रुपमा सँगालेको छु ।’’
जवेगू पाँचथरका दोस्रो सगरमाथा आरोही हुन् ।
उदय केरुङ
वैदेशिक रोजगारीमा गएका प्रायः मान्छे स्वदेश फर्केपछि नयाँ घर बनाउँछन् । घडेरी जोड्छन् । उद्यम, व्यवसाय वा कृषि कर्म गरेर परिवारसँगै जीउने सपना देख्छन् ।
तर पाँचथरको फालेलुङ–३ का उदय केरुङले घर घडेरी जोड्ने र उद्यमशीलतामा जोडिनेभन्दा पनि हिमाल चढ्ने कामलाई प्राथमिकतामा राखे । अन्ततः जेठ ६ गते बिहान ६ बजेर ८ सेकेण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भए ।
सन् २०२१ देखि हिमाल आरोहण थालेका उनले सगरमाथा बाहेक मेरापिक र मनास्लुको सफल आरोहण गरिसकेका छन् । उनको हिमाल आरोहण यात्रा इतिहास निकै नै रोचक छ । १७ वर्ष पूरा नहुँदै पासपोर्ट बनाएर सन् २००८ मा मलेसिया हानिएका उनी १३ वर्षपछि २०२१ मा नेपाल फर्के । कोरोना महामारीका कारण विश्वव्यापी लकडाउनले पुनः मलेसिया फर्किन सकेनन् ।
‘‘नेपाल बसाईको समय सदुपयोग गर्न अन्नपूर्ण सर्किटको पदयात्रामा गएँ । फर्केको केही समयमा सगरमाथा आधार शिविरको पदमार्गको यात्रा गरें । ती याात्राले म भित्र हिमाल आरोहणको भोक जगायो ।’’ केरुङ भन्छन् ।
उनले गत बर्षको असोज ९ गते ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल र त्यसअघि ६ हजार ४ सय ७६ मिटरको मेरापिक हिमाल सफलतापुर्वक आरोहण गरेका थिए । ‘‘मनास्लुको आरोहणपछि मेरो मनमा विश्वका आठ हजार मिटर माथिको १४ वटा हिमाल आरोहण गर्ने हिम्मत जाग्यो । अब यो अभियानलाई निरन्तरता दिन्छु ।’’ सगरमाथाको चुचुरोबाट आधार शिविर फर्के लगत्तै उनले भने ।
‘‘मनास्लु आरोहण गरेपछि मलाई किन सगरमाथा नचढेको ? भनेर धेरैले प्रश्न गर्नुभयो, मेरो घर परिवार र छिमेकीलाई एकैचोटी ठूलो हिमाल चढ्न सकिदैन भन्ने थाहा रहेनछ, हिमाल चढ्नेलाई सरकारले टन्नै पैसा दिन्छ भन्ने उहाँहरुलाई लागेको रहेछ, मलाई पनि आरोहण अभ्यास सुरु गर्नुअघि हिमाल र पर्वतारोहणबारे धेरै कुरा थाहा थिएन ।’’ उनले भने ।
‘‘प्रायः मानिस विदेश जाने, पैसा कमाउने र कतै राम्रो ठाउँमा जग्गा किन्ने अनि घर बनाउने विषयलाई प्राथमिकतामा राख्छन् । मलाई चाहीँ हिमाल चढ्ने भोक लाग्यो । अब पुनः एक पटक विदेश गएर आरोहण यात्रालाई निरन्तरता दिन्छु ।’’ उनले थपे ।
सगरमाथाको चुचुरोमा केरुङले नेपालको राष्ट्रिय झण्डा सँगै फालेलुङ गाउँपालिकाको लोगो अंकित झण्डा, किरात याक्थुङ चुम्लुङ र केरुङ चो?लुङ सङ्जुम्भोको झण्डा फरहराएका छन् । सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरको फालेलुङ गाउँपालिकाको दोस्रो र पाँचथर जिल्लाकै तेस्रो व्यक्ति हुन् ।
केरुङलाई सगरमाथा आरोहण गर्दा ३५ लाख भन्दा धेरै खर्च लाग्यो । त्यो खर्च सबै वैदेशिक रोजगारीका क्रममा आर्जन गरेर बचत गरेको उनले सुनाए । यसअघि मेरापिक र मनास्लु आरोहण पनि उनले व्यक्तिगत खर्चमै गरेका थिए ।
पाँचथरलाई प्रतिनिधित्व गर्दै हिमाल आरोहण गर्ने सेर्मा, जवेगू र केरुङ सिङ्गो जिल्लाको साहसिक पर्यटन अभियन्ताको नमुना पात्र हुन् । उनीहरुको ज्ञान र अनुभव युवा पुस्तामा बाड्न जरुरी छ ।
The post पाँचथरे आरोहीका अनुभवः हिमाल चढ्न भन्दा ओर्लन कठिन appeared first on sumhatlungtimes.
]]>The post धार्मिक पर्यटनको केन्द्रः लब्रेकुटी र सिलौटी appeared first on sumhatlungtimes.
]]>– विजयबोध लाओती
७ भदौ २०८१, पाँचथर। नाम्भुनयक् अर्थात् सिलौटी डाँडा वि.सं.१९७० अघि याम्बोङ र पौवाली नेम्बाङहरुको गौचरन अर्थात् खर्क थियो । त्यो बेला सिलौटी गाई, गोरु, भैँसी, भेंडाबाख्रालाई गोठ राख्ने र चराउने चरन क्षेत्रको रुपमा रहेको थियो । यहीँ सिलौटी यतिबेला पाँचथरको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तब्य बनेको छ ।
नजिकै रहेको लब्रेकुटी क्षेत्रलाई पनि त्यहीँ समय आसपास चोकमागुका तुम्बापो, सिवाका तुम्रोक र कुगेनाम्बाहरुले खर्ककै रुपमा प्रयोग गर्दै आएका थिए । अहिले लब्रेकुटी पनि किरात धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र सँगै मनै लोभ्याउने सुन्दर पर्यटकीयस्थलको रुपमा विकास भएको छ ।
सिलौटी र लब्रेकुटी समुन्द्री सतहबाट २४ सयदेखि २८ सय मिटर उचाइमा पर्दछन् । यी स्थानमा मौसम अनुसार हिउँ र तुषारो पर्छ । उच्च पहाड भए पनि फाँटिलो भू–बनावट भएको लब्रेकुटी र सिलौटीलाई त्यतिबेला खर्कको रुपमा उपयुक्त देखेर पुर्खाहरुले तत्कालीन समयमा त्यसरी नै प्रयोग गरेको पाइन्छ । यहीँ सुन्दर लब्रेकुटी–सिलौटी क्षेत्रमा वि.सं. १९४२ कार्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बामा जन्मिएका राष्ट्रिय विभूति, महागुरु फाल्गुनन्दको आगमनसँगै यी स्थलहरुको महत्व पनि बढेको पाइन्छ ।
महागुरु फाल्गुनन्द वि.सं. १९७८ मा चोकमागु आएका थिए । त्यसपछि महागुरुले लब्रेकुटी–सिलौटी क्षेत्रको अवलोकन गरे । सम्भवतः यहाँको सुन्दर, स्वच्छ र पवित्र वातावरण एवंम् परिवेशले आकर्षित गर्यो । पछि महागुरु फाल्गुनन्दले यहीँ स्थललाई आफ्नो पावन कर्मभूमी बनाए । जबसम्म मनलाई आनन्द र शान्ति मिल्दैन, जतिसुकै राम्रो वा सुबिधायुक्त स्थलको पनि कुनै अर्थ रहदैन । फाल्गुनन्दले धेरै स्थलको अवलोकन गरे । धेरै स्थलहरुमा ध्यान र तपजप गरे । तर अन्ततः लब्रेकुटी र सिलौटी क्षेत्रलाई आफ्नो पावन कर्मभूमी बनाए । आज पनि जुनसुकै मौसममा लब्रेकुटी र सिलौटी पुगे पनि त्यहाँको वातावरणले सधैं मन तान्ने गरेको अनुभूती लब्रेकुटी–सिलौटी पुग्नेहरु सुनाउनछन् ।
लब्रेकुटी।
फिदिम नपा–५ चोकमागुमा पर्ने लब्रेकुटी महागुरु फाल्गुनन्दको पावन कर्मभूमी हो । लब्रेकुटीमा महागुरुको जीवनकालमा स्थापना गरिएका विभिन्न माङ्हिमहरु रहेका छन् । महागुरुसँग सम्बन्धीत थुप्रै महत्वपूर्ण वस्तुहरु रहेका छन् । अलि मास्तिर रहेको सिलौटीमा उनै महागुरुको समाधीस्थल छ । तत्कालीन लिम्बुवानको भुगोलमा (ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङ) बसोबास गर्ने बुद्धिजिजी, समाजसेवी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा वि.सं. १९८८ बैशाख २४ गते लब्रेकुटीमा वृहत् भेला गराएर महागुरुले सत्यधर्म मुचुल्का घोषणा गरेका थिए ।
उक्त सत्यधर्म मुचुल्कमा छोरीचेलीको सोतरीत सुनौली रुपौली नलिने, नारी सृष्टिकर्ता भएकाले नारी जातीको उच्च सम्मान गर्ने, विभिन्न कर्मकाण्ड गर्दा भोगबली तथा जीवहत्या नगर्ने, त्यसको साटो फलफूल नैबेध प्रयोग गर्ने, लिम्बू भाषा तथा लिपी पढाउने लगायतका कुरा उल्लेख छ । तसर्थ लब्रेकुटी समाज सुधारका लागि ऐतिहासिक कार्यको थालनी भएको स्थल हो । महागुरु फाल्गुनन्दले सिलौटीमा २००५ पौष १३ गते अन्तिम धार्मिक उपदेश दिएका थिए । २००५ साल चैत्र २२ गते उनको देहावशान भयो । उनको समाधीस्थल सिलौटीमा रहेको छ । किरात धर्म दर्शनका जन्मतादा एवंम् प्रचारक, महान समाज सुधारक महागुरु फाल्गुन्दलाई नेपाल सरकारले २०६६ साल मंसिर ६ गतेका दिन राष्ट्रिय विभूति घोषणा गरेको छ ।
महागुरु फाल्गुनन्दले कर्मभूमी बनाएपछि लब्रेकुटी–सिलौटी क्षेत्रप्रति आम मानिसको चासो बढ्न थालेको पाइन्छ । समाज सुधारका लागि सत्यधर्म मुचुल्का बनेको समयदेखि लब्रेकुटी र सिलौटीको थप चर्चा चुलियो । यी क्षेत्रको विकास र प्रवर्दनको काम सुरु भयो । महागुरुको कर्मभूमी एवंम् समाधीस्थल रहेको लब्रेकुटी र सिलौटीमा माङ्हिमरु बन्दै गए । आसपास रस्तीबस्ती बस्न थाल्यो । मुलुकमा गणतन्त्र स्थापनापछि लब्रेकुटी र सिलौटीमा धार्मिक पर्यटन प्रर्वद्धन तथा विकासका अन्य काम सुरु भए । जुन आज पनि जारी छ । वि.सं.२०६३ पछि यहाँ पर्यटन महोत्सव हुन थालेको छ । सरकारले राष्ट्रिय विभुति घोषणा गरेपछि तिनै तहको सरकारबाट विभिन्न शीर्षकमा रकम विनियोजन गरेर लब्रेकुटी र सिलौटीमा धार्मिक, वातावणीय र पर्यटन पुर्वाधार निर्माणका कामहरु हुँदै आएका छन् ।
नाम्भुनयक् (सिलौटी)।
धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित लब्रेकुटी–सिलौटी क्षेत्रको विकास र प्रबद्र्धनका लागि प्रदेश सरकार र स्थानीय तहले विस्तृत कार्ययोजना बनाएर पुर्वाधार निर्माण तिव्र गतिमा भइरहेको छ । प्रदेश सरकारबाट दुई अर्ब बढीको विस्तृत योजना बनाएर पहिलो चरणमा १९ करोड रुपैंयाँ बिनियोजन गरी भौतिक पूर्वाधार निर्माणको काम हुँदैछ ।
करिव तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको लब्रेकुटी–सिलौटी क्षेत्र मेची राजमार्ग आसपामा पर्दछ । फिदिम–५ चोकमागुमा पर्ने लब्रेकुटी मेची राजमार्गको इलाम–फिदिम खण्ड अन्तर्गत फिदिम–३ कान्छीदोकानबाट अढाई किलोमिटर दूरीमा रहेको छ । महागुरु फाल्गुनन्दको समाधीस्थल रहेको सिलौटी भने पर्यटकीय बजार पौवाभञ्ज्याङबाट मेची राजमार्गलाई छोडि फाल्गुनन्द मार्गको प्रयोग गरेर करीब २५ मिनेटमा पुग्न सकिन्छ । लब्रेकुटी र सिलौटी क्षेत्र प्राकृतिक दृष्टिले सुन्दर छन् । शान्त र रमणीय छन् ।
सो क्षेत्रमा थप पुर्वाधार बन्न थालेपछि धार्मिक तथा पर्यटकको चहलपहल बढेको छ । जैविक तथा वनस्पतिक विविधता, औषधीजन्य जडिबुटी, त्यहाँबाट देखिने सुन्दर हिमश्रृङ्खला, टाढाटाढासम्मका दृष्य, अनौठा र आकर्षण पहाड, पाखापखेरा, खोलाखोल्सी, आकर्षक रैथाने शैलीका घर र गाउँबस्तीले सबैको मन तान्छ । पछिल्लो समय धार्मिक आस्थाले र घुमफिरका लागि लब्रेकुटी–सिलौटी क्षेत्र पुग्नेको संख्या बढेको छ । सडक तथा पदमार्गसँगै आसपासमा रैथाने शैलीका होटल तथा होमस्टेको स्थापनाले लब्रेकुटी–सिलौटी क्षेत्रको यात्रालाई अझ सहज बनाएको छ।
The post धार्मिक पर्यटनको केन्द्रः लब्रेकुटी र सिलौटी appeared first on sumhatlungtimes.
]]>