सरकार अराजक ढङ्गले अघि बढिरहेको कांग्रेस संसदीय दलका नेता आङदेम्बेको आरोप
-
सुम्हात्लुङ टाइम्स
- २०८३ आश्विन १२, सोमबार
पाँचथर। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सरकार अराजक ढङ्गले अघि बढिरहेको बताएका छन्।
पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै आङदेम्बेले सरकारका गतिविधिले मुलुकमा शुभ संकेत नदेखिएको बताए। सरकार पारदर्शितामा विश्वास नगर्ने प्रवृत्तिका कारण देश बिस्तारै गम्भीर संकटतर्फ धकेलिँदै गएको उनको भनाइ थियो। उनले सरकार लोकतन्त्रका सामान्य मर्म र भावनालाई समेत आत्मसात् गर्न तयार नरहेको नेता आङदेम्बेले आरोप लगाए।
राज्यका निकायले स्थापित विधि, प्रक्रिया र कानूनअनुसार काम गर्नुपर्ने भए पनि वर्तमान सरकारको कार्यशैली त्यसअनुकूल नरहेको उनले बताए। आङदेम्बेले प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाए। प्रहरी केवल आदेशपालकका रूपमा प्रस्तुत हुँदा आफ्नो पेसागत नैतिकता र जिम्मेवारी कायम राख्न नसकेको उनको आरोप थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउ प्रकरणलाई लिएर पनि उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
राणालाई रातारात पक्राउ गरिएको विषय रहस्यमय रहेको भन्दै पक्राउको प्रक्रिया र त्यस क्रममा अपनाइएको विधिमाथि उनले आपत्ति जनाए। ‘पूर्वप्रधानन्यायाधीशलाई रातारात किन र कसरी पक्राउ गरियो भन्ने कुरा रहस्यमय छ। मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेट्न दिइएन,’ उनले भने, ‘सरकार आफ्ना कुनै पनि क्रियाकलापलाई पारदर्शी बनाउन चाहँदैन।’ राणामाथि भएका गल्ती–कमजोरीबारे कानूनले आफ्नो बाटो खोज्ने भए पनि पक्राउ गर्ने पनि स्थापित विधि र प्रक्रिया हुने उनको तर्क थियो।
राणालाई पक्राउ गर्ने र पछि छाड्ने शैलीप्रति टिप्पणी गर्दै आङदेम्बेले यो गम्भीर राज्य सञ्चालनभन्दा ‘केटाकेटीको खेल’ जस्तो भएको बताए। उनले लोकतान्त्रिक व्यवस्थामा सरकारका निर्णय र गतिविधि पारदर्शी तथा जवाफदेही हुनुपर्नेमा जोड दिँदै राज्य सञ्चालनमा विधिको शासन कायम हुनुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधसभा सदस्य नरेन्द्रकुमार केरुङले पनि सरकारको कार्यशैलीको आलोचना गरे। प्रमुख विपक्षी दलका रूपमा कांग्रेसले संसद् र बाहिरबाट सरकारलाई सकारात्मक सहयोग गर्न खोज्दासमेत सरकारको भूमिका सन्तोषजनक नरहेको उनको भनाइ थियो। सरकारले आफ्नो कामको थालनी नै गरिब तथा सुकुम्बासी बस्तीमा डोजर चलाएर गरेको आरोप लगाउँदै केरुङले सरकार एकपछि अर्को अराजक गतिविधिमा अघि बढिरहेको बताए।
सरकारको जनविरोधी र अदूरदर्शी नीतिका कारण जनतामा निराशा छाएको दाबी गर्दै केरुङले सरकारको कार्यशैली परिवर्तन हुनुपर्ने बताए। उनले आगामी निर्वाचनबाट नेपाली कांग्रेस पुनः देशको पहिलो पार्टी बन्ने दाबीसमेत गरे। पाँचथरमा जारी कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
अधिवेशनले प्रदेश क्षेत्रको नेतृत्व चयनसँगै केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढाउनेछ। जिल्ला अधिवेशन भने क्षेत्रीय अधिवेशनपछि हुने कांग्रेसले जनाएको छ।
सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सुम्हात्लुङ टाइम्स




प्रतिक्रिया