चाडपर्व लक्षित सुरक्षा योजना : घुर्बिसे पञ्चमी बजारमा प्रहरी र स्थानीयबीच छलफल
-
सुम्हात्लुङ टाइम्स
- २०८३ आश्विन २८, बुधबार
युद्धबहादुर बोहोरा
घुर्बिसे पञ्चमी, पाँचथर । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै इलाम-पाँचथरको सीमावर्ती घुर्बिसे पञ्चमी बजारसहित आसपासका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र स्थानीय सरोकारवालाबीच छलफल भएको छ।
बजारलाई शान्त, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बुधबार आयोजित छलफलमा लागूऔषध दुर्व्यसन, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने, होहल्ला मच्चाउने तथा तीव्र गतिमा र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल चलाउनेजस्ता गतिविधि नियन्त्रण गर्ने विषयमा चर्चा गरिएको थियो।

इलाका प्रहरी कार्यालय रवि, पाँचथरका प्रहरी निरीक्षक दुर्गा राई, प्रहरी चौकी फाक्तेका इन्चार्ज शेरबहादुर राई, घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिका अध्यक्ष जितेन छेम्जोङ, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बजारवासीको सहभागिता रहेको कार्यक्रममा बजारको सुरक्षा र व्यवस्थापनका विषयमा सुझाव आदानप्रदान गरिएको थियो।
छलफलमा राति १० बजेअघि बजार बन्द गर्ने, नियमित प्रहरी गस्ती तथा ट्राफिक जाँच गर्ने, सडकबत्ती मर्मत गर्ने, सीसीटीभी क्यामेरा जडान गर्ने र बजार सरसफाइमा ध्यान दिने विषय उठाइएको थियो। साथै, प्रहरी चौकी फाक्तेमा जनशक्ति थप गर्न, ट्राफिक नियम तथा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र अवाञ्छित गतिविधिमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गर्न स्थानीयवासीले माग गरेका थिए।

इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक राईले चाडपर्व नजिकिँदै जाँदा बजारमा भिडभाड बढ्ने र झैझगडा तथा अन्य आपराधिक गतिविधि हुन सक्ने भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पहल गरिएको बताए। नेपाल सरकार गृह मन्त्रालयको चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअनुसार यस क्षेत्रका नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्नु उद्देश्य रहेको उनको भनाइ थियो।
त्यस्तै, प्रहरी चौकी फाक्तेका इन्चार्ज राईले छलफलमा उठेका विषय कार्यान्वयनका लागि आवश्यक पहल गर्ने बताए। बजारमा शान्ति सुरक्षा कायम गर्न प्रहरी सधैँ सहयोगका लागि तयार रहेको उल्लेख गर्दै उनले कुनै पनि अवाञ्छित गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न स्थानीयवासीलाई आग्रह गरे।
इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको घुर्बिसे पञ्चमी बजार फाकफोकथुम र फाल्गुनन्द गाउँपालिका आसपासका बासिन्दाको महत्वपूर्ण व्यापारिक केन्द्र हो। बजारसहित आसपासका क्षेत्रमा शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम गर्न प्रहरी, बजार व्यवस्थापन समिति, संघसंस्था तथा स्थानीयवासीबीच सहकार्य बढाउने लक्ष्य राखिएको छ।
सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सुम्हात्लुङ टाइम्स
-
चाडपर्व लक्षित सुरक्षा योजना : घुर्बिसे पञ्चमी बजारमा प्रहरी र स्थानीयबीच छलफल
-
अमेरिकाको नर्थ क्यारोलिनामा आरटीपी दशैं कप सम्पन्न, दुर्गा एफसी विजेता
-
Sagar Kerung: A Multifaceted Journey from Mother-Tongue Knowledge Sovereignty to Indigenous Cinema
-
बसन्ता सम्बाहाम्फेको पालाम: हेन्जिला, मुक्सि नु परिक्हा? विमोचन
-
फिदिम -२ को दुई स्थानमा ट्राफिक सचेतना बोर्ड राखियो




प्रतिक्रिया