‘नयाँ सोच, सुदृढ संगठन र समावेशी नेतृत्व’ को एजेण्डासहित पूर्णकुमार तुम्बापो मैदानमा
तीन दशकको अनुभव, नयाँ सोच र सुदृढ संगठनको प्रतिबद्धता
-
सुम्हात्लुङ टाइम्स
- २०८३ आश्विन १८, आईतवार
पाँचथर । नेपाली कांग्रेसका युवा नेता पूर्णकुमार तुम्बापोले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पार्टीको आदिवासी जनजाति ‘क्लस्टर’ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
शनिबार काठमाडौंको सिनामंगलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्दै नेता तुम्बापोले पार्टीको सुदृढीकरण, समावेशी प्रतिनिधित्व र देश निर्माणसँग सम्बन्धित छबुँदे एजेण्डा सार्वजनिक गरेका छन् ।
तुम्बापोले अघि सारेका एजेण्डामा अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन, समावेशी प्रतिनिधित्व, सुदृढ संगठन, सहमति–सहकार्य र एकता, नयाँ सोच र जिम्मेवार नेतृत्व तथा समृद्ध र समुन्नत नेपाल निर्माण रहेका छन् ।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, सुदृढ, समावेशी, लोकतान्त्रिक र जनमुखी पार्टीका रूपमा थप स्थापित गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन् । अग्रज पुस्ताको अनुभव र योगदानलाई सम्मान गर्दै युवाको ऊर्जा, क्षमता र नवीन सोचलाई पार्टीको नेतृत्वमा प्रभावकारी रूपमा जोड्ने उनको प्रतिबद्धता छ ।
त्यसैगरी, आदिवासी जनजाति, महिला, युवा, दलित, मधेसी, पिछडिएका तथा विभिन्न समुदायको अर्थपूर्ण र न्यायोचित प्रतिनिधित्वका लागि आवाज उठाउने, पार्टी संगठनलाई व्यक्ति केन्द्रित नभई विधि, विधान, विचार र संस्थागत प्रणालीमा आधारित बलियो संगठनका रूपमा विकास गर्ने तथा कार्यकर्ताको सम्मान र उचित मूल्यांकन गर्ने उनले बताएका छन् ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सहमति, सहकार्य र एकताको संस्कृतिलाई संस्थागत गर्ने, नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिने तथा बदलिँदो समय र जनअपेक्षाअनुसार कांग्रेसमा नयाँ विचार, नीति र कार्यक्रम विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ ।
देशको राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अवसरको समान पहुँचलाई प्राथमिकतामा राख्दै समुन्नत, आत्मनिर्भर र न्यायपूर्ण नेपाल निर्माणका लागि नेपाली कांग्रेसलाई थप प्रभावकारी नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न आफ्नो अनुभव, क्षमता र ऊर्जा पूर्ण रूपमा समर्पित गर्ने उनले बताएका छन्।
तुम्बापोले आफ्नो उम्मेदवारीको मूल भाव स्पष्ट गर्दै भनेका छन्, “पद मेरो लक्ष्य होइन, जिम्मेवारी हो; प्रतिनिधित्व मेरो अधिकार मात्र होइन, समुदाय, पार्टी र देशप्रतिको दायित्व हो ।”
नेता तुम्बापो विगत तीन दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनले वि.सं. २०५३ सालमा झापास्थित मेची बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिमा प्रवेश गरेका थिए। नेविसंघको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेपछि उनी पार्टीको मूल राजनीतिमा सक्रिय भएका हुन् ।
पार्टीको पाँचथर जिल्ला सदस्य हुँदै कोशी प्रदेश समिति सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका तुम्बापो यसअघि नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहिसकेका छन् । यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुँदै उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
शैक्षिक रूपमा गणितमा एम.एस्सी. तथा राजनीतिशास्त्रमा एम.ए. गरेका तुम्बापोलाई कांग्रेसभित्र बौद्धिक तथा अध्ययनशील नेताका रूपमा समेत चिनिन्छ ।
पाँचथरको फिदिम नगरपालिका–५, चोकमागु स्थायी घर भएका तुम्बापोले पार्टीभित्रको लामो राजनीतिक अनुभव, अध्ययन र सक्रियतालाई आगामी नेतृत्वमा उपयोग गर्दै कांग्रेसलाई अझ सुदृढ, समावेशी, लोकतान्त्रिक र जनमुखी बनाउने तथा मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सुम्हात्लुङ टाइम्स
-
दक्षिण कोरियाबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यमा नवराज शिवाकोटीको उम्मेदवारी घोषणा ।
-
‘नयाँ सोच, सुदृढ संगठन र समावेशी नेतृत्व’ को एजेण्डासहित पूर्णकुमार तुम्बापो मैदानमा
-
लिम्बू सांस्कृतिक परिषद्को प्रकाशन `थिम् साक्थिम´ बिमोचन
-
पत्रकार गजेन्द्र तुम्बापो नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित
-
कांग्रेस नेत्री थेगिम द्वारा जिम्मेवारी परित्याग गर्दै क्रियाशील सदस्यता खारेज गरिदिन अनुरोध




प्रतिक्रिया