SumhatlungTimes
२०८३ आश्विन १६ शुक्रबार | Fri, 02 Oct 2026
NepaliTheme

लिम्बू सांस्कृतिक परिषद्को प्रकाशन `थिम् साक्थिम´ बिमोचन

  • सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स
  • २०८३ आश्विन १६, शुक्रबार
लिम्बू सांस्कृतिक परिषद्को प्रकाशन `थिम् साक्थिम´ बिमोचन

काठमाडौं । किरात याक्थुङ चुम्लुङको विषयगत समिति–लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ताभन्दा लामो संस्थागत यात्रा, याक्थुङ–लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान–परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार गरेको प्राज्ञिक जर्नल–स्मारिका ‘थिम्–साक्थिम्’ सार्वजनिक गरेको छ ।

चुम्लुङहिम, ललितपुरमा शुक्रबार सम्पन्न विशेष समारोहमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा लिम्बू सांस्कृतिक परिषद्का संस्थापक अध्यक्ष गोविन्द आङबुङले जर्नल–स्मारिकाको औपचारिक विमोचन गरेका हुन् । समारोहमा याक्थुङ–लिम्बू समुदायका विद्वान्, अनुसन्धानकर्ता, साहित्यकार, कलाकार, चलचित्रकर्मी, अभियन्ता तथा विभिन्न सामाजिक–सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।

वि.सं. २०६१ सालमा स्थापना भएको लिम्बू सांस्कृतिक परिषद्ले स्थापनाकालदेखि याक्थुङ–लिम्बू समुदायको भाषा, लिपि, साहित्य, कला, संस्कृति, चलचित्र, लोकनाटक, नाटक, इतिहास, मुन्धुम, दर्शन, संस्कार तथा सभ्यतागत पहिचानका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । परिषद्का अनुसार एक पुस्ताभन्दा लामो संस्थागत यात्रामा आर्जित ज्ञान, अनुभव, संघर्ष, अभ्यास र सांस्कृतिक चेतनालाई स्मृतिमा मात्र सीमित नराखी अभिलेखका रूपमा भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले ‘थिम्–साक्थिम्’ प्रकाशन गरिएको हो ।
करिब ३५० पृष्ठको जर्नल–स्मारिकामा याक्थुङ भाषा, साहित्य, संस्कृति, मुन्धुम, इतिहास, कला, शिक्षा, चलचित्र तथा सामाजिक–सांस्कृतिक विषयसँग सम्बन्धित अनुसन्धानात्मक, वैचारिक तथा प्राज्ञिक सामग्री समेटिएका छन् । प्रकाशनमा डा. कमल तिगेला, डा. मधुराज केरुङ, प्राध्यापक कर्णहाङ ताम्लिङ, प्राज्ञ यासेली योङहाङ, प्राध्यापक युन्छोकहाङमा लिम्बू, प्राज्ञ हरिचन्द्र लावती, एमफिल स्कलर अर्पिता सुब्बा, बसन्ता सम्बाहाङफे, प्राध्यापक वीरमान लिम्बू ‘प्रनेश’, लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङबा, किरात सामाजिक मुन्धुम निसामहिमका प्रधानाध्यापक ललितचन्द्र फियाक, याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा ‘पापो’, लिम्बू सांस्कृतिक परिषद्का संघीय उपाध्यक्ष भवानी विक्रम सम्बाहाङफे, संघीय सचिव डिआर हाङसरुम्बा, लिम्बू सांस्कृतिक परिषद्का अध्यक्ष सागर केरुङ, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङ तथा ‘के’ र ‘केला:ङ’का अनुसन्धाता ऐत खजुमलगायतका विद्वान्, अनुसन्धानकर्ता तथा स्रष्टाका लेख–रचना समावेश छन् ।

जर्नल–स्मारिकाको सम्पादन सागर केरुङ, बसन्ता सम्बाहाङफे, कञ्चन थलङ, डिआर हाङसरुम्बा र कृष्णराज थलङले गरेका हुन् । यसको आवरण चलचित्रकर्मी खगेन्द्र पन्धाक लिम्बूले सिर्जना गरेका छन् भने डिजाइन विवस हेल्लोक लिम्बूले गरेका छन् ।
समारोहमा किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य यासेली योङहाङले ‘थिम्–साक्थिम्’को समग्र समीक्षा प्रस्तुत गरेका थिए । उनले जर्नल–स्मारिकामा समेटिएका विषयवस्तु, अनुसन्धानात्मक सामग्री तथा याक्थुङ ज्ञान–परम्परा र सांस्कृतिक विमर्शका पक्षबारे चर्चा गरेका थिए ।

परिषद्का अनुसार ‘थिम्–साक्थिम्’ले संस्थाको विगतको यात्रा अभिलेखीकरण गर्नुका साथै मुन्धुमी दर्शन, परम्परागत ज्ञान, मौखिक परम्परा, सामुदायिक विश्वास प्रणाली, ऐतिहासिक स्मृति, सामाजिक अभ्यास, भाषिक चेतना, सांस्कृतिक मूल्य तथा सामुदायिक अनुभवलाई समकालीन प्राज्ञिक विमर्शमा ल्याउने प्रयास गरेको छ । प्रकाशनलाई याक्थुङ–लिम्बू समुदायको सांस्कृतिक संविधान निर्माणका लागि आवश्यक बौद्धिक आधार निर्माण गर्ने दिशामा समेत महत्वपूर्ण दस्तावेजका रूपमा लिइएको परिषद्ले जनाएको छ ।
लिम्बू सांस्कृतिक परिषद्का संघीय अध्यक्ष सागर केरुङले ‘थिम्–साक्थिम्’लाई एक पुस्ताको संस्थागत यात्रा, अनुभव र ज्ञान अभिलेखीकरण गर्ने प्रयासका रूपमा लिइएको बताए । उनका अनुसार प्रकाशनको उद्देश्य विगतलाई केवल स्मरण गर्नु नभई विगतबाट ज्ञान ग्रहण गर्दै वर्तमानलाई आलोचनात्मक रूपमा बुझ्नु र भावी पुस्ताका लागि सांस्कृतिक मार्गदर्शन निर्माण गर्नु हो ।

“एक पुस्ताको संस्थागत यात्रालाई एउटा दस्तावेजमा समेट्नु विगतका श्रम, संघर्ष, योगदान, परम्परागत ज्ञान र उपलब्धिप्रतिको सम्मान मात्र होइन, वर्तमानप्रतिको बौद्धिक जिम्मेवारी र भविष्यप्रतिको सांस्कृतिक उत्तरदायित्वको अभिव्यक्ति पनि हो,” केरुङले भने ।

समारोह सांस्कृतिक प्रस्तुतिसँग समेत जोडिएको थियो । गायिका मनु नेम्बाङ, देशु सुहाङ, नेपाली तारा दिपक लिम्बू, ‘द भ्वाइस अफ नेपाल’का नोगेन लिम्बू हाङसरुम्बा तथा गायिकाहरू गङ्गा फियाक, निरन्ता नेम्बाङ, बिवास नेम्बाङ र मिरा फियाकले लिम्बू भाषाका गीत प्रस्तुत गरेका थिए ।

नैनाकला वनेमले हाक्पारे प्रस्तुत गरेकी थिइन् भने कर्ण चेम्जोङ, बौद्धमान हुक्पा चोङबाङ र सीता तिगेलालगायतले पालाम प्रस्तुत गरेका थिए । नायिका लक्ष्मी योङहाङ, मोडल आशिस लिम्बू, युगल लिम्बू र सुमी खेवाले लिम्बू भाषाको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

लिम्बू सांस्कृतिक परिषद् ललितपुरको तर्फबाट दिलिप लिम्बूको समूह तथा लिम्बू सांस्कृतिक परिषद्का संघीय सदस्य बौद्धमान हुक्पा चोङबाङको समूहले केला:ङ प्रस्तुत गरेका थिए । लिम्बू सांस्कृतिक परिषद् ललितपुर र काठमाडौंले केला:ङका विभिन्न परिकारसमेत प्रस्तुत गरेका थिए ।

समारोहमा ‘थिम्–साक्थिम्’मा लेख–रचना उपलब्ध गराउने लेखक तथा जर्नलको सम्पादनमा योगदान पुर्‍याउने सम्पादकहरूलाई धन्यवादपत्र प्रदान गरिएको थियो । पुस्तकका डिजाइनर विवस हेल्लोक लिम्बू र आवरण डिजाइनर खगेन्द्र पन्धाक लिम्बूलाई पनि धन्यवादपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लिम्बू सांस्कृतिक परिषद् ललितपुर, भक्तपुर र काठमाडौं सह–आयोजकका रूपमा सहभागी थिए । परिषद्का अनुसार जर्नल–स्मारिकाको विमोचन केवल एउटा प्रकाशन सार्वजनिक गर्ने औपचारिक कार्यक्रम नभई लिम्बू सांस्कृतिक परिषद्को संस्थागत इतिहास, याक्थुङ ज्ञान–परम्परा, सांस्कृतिक स्मृति र समकालीन बौद्धिक विमर्शलाई सार्वजनिक अभिलेखमा स्थापित गर्ने अवसरका रूपमा आयोजना गरिएको हो ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP