SumhatlungTimes
२०८३ आश्विन १४ बुधबार | Wed, 30 Sep 2026
NepaliTheme

यूएईमा पहिलोपटक साम्जिक मुन्धुमसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया

  • सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स
  • २०८३ आश्विन १४, बुधबार
यूएईमा पहिलोपटक साम्जिक मुन्धुमसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया

यूएई। किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा प्रवासमा पहिलोपटक साम्जिक मुन्धुमसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मुन्धुमविद् तथा सावारा साम्बा भवानी अन्छङ्बोको प्रशिक्षण तथा सहजीकरणमा सेप्टेम्बर २७ तारिख आइतबार बर दुबईस्थित नाङ्लो रेस्टुरेन्टको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सावारा साम्बा अन्छङ्बोले साम्जिक मुन्धुमका विभिन्न पक्षबारे विस्तृत व्याख्या गर्नुभएको थियो। उहाँले संसारको सृष्टिदेखि पोरोक्मी यम्भामी माङ्को भूमिका, याक्थुङ (लिम्बु) समाजको उत्पत्ति, माङ्गेना–यक तथा याक्थुङ समाज मातृसत्तात्मक बन्नुको आधारलगायत विषयबाट प्रशिक्षण सुरु गर्नुभएको थियो।

उहाँले याक्थुङ समाजमा माङ–साम्माङ र सामलाई मान्ने तथा पूजा गर्ने कारण, साम्जिक मुन्धुमका घटनासँग जोडेर याक्थुङ लाजे (लिम्बुवान) का विभिन्न भूगोलको नामकरण भएको विषय, माङ्गेना र नाहाङ्गमा गर्ने कारण तथा नगर्दा हुने प्रभावबारे मुन्धुमका आधारमा व्याख्या गर्नुभएको थियो।

त्यस्तै, याक्थुङ समाजमा मृत्यु संस्कार र मेखिम (विवाह) संस्कारको सुरुवात, त्यसका आधार तथा प्रमाण, तङ्सिङको अर्थ र यसको आवश्यकता लगायतका विषयमा पनि प्रशिक्षण दिइएको थियो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले याक्थुङ/लिम्बुहरूको गोत्र, मृत्यु संस्कारमा शव जलाउने वा चिहान बनाउने परम्परा, स्वर्ग–नर्कको अवधारणा, होम–चरु पोल्ने प्रचलन मुन्धुममा रहे–नरहेको, अन्तरजातीय विवाह, विवाहित याक्थुङ महिलाले लगाउने सिन्दुर–पोतेको महत्व, चेली–माइतीबीच फूलले हानाहान गर्न नहुने आधारलगायत विषयमा प्रश्न गरेका थिए।

त्यसैगरी, युमा माङ् हुन् वा पितृ बोजु, मुन्धुममा ‘किरात’ शब्दको प्रयोग, मृत्यु संस्कारमा कपाल खौरिने चलन, याक्थुङ समाजमा मेल्लुङ् फु:मा गर्नुको कारण तथा यसको अनिवार्यताजस्ता विषयमा पनि सहभागीले जिज्ञासा राखेका थिए। ती प्रश्नहरूको सावारा साम्बा अन्छङ्बोले साम्जिक मुन्धुमका आधारमा स्पष्ट पार्नुभएको आयोजकले जनाएको छ।

प्रशिक्षणका क्रममा मुन्धुममा आधारित याक्थुङ समाजका संस्कार, संस्कृति, परम्परा र सामाजिक अभ्यासको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे समेत चर्चा गरिएको थियो।

सावारा साम्बा अन्छङ्बोले यूएईमा साम्जिक मुन्धुमसम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै प्रवासमा आफू स्वयं साम्बाको सहभागितामा मुन्धुमसम्बन्धी प्रशिक्षण कार्यक्रम पहिलोपटक आयोजना भएको बताउनुभएको थियो। उहाँले आगामी दिनमा नेपाल तथा विदेशमा रहेका याक्थुङ/लिम्बु संस्थाहरूले यस्ता कार्यक्रम समय–समयमा आयोजना गर्न आवश्यक रहेको बताउनुभएको थियो।

किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्षको कार्यव्यस्तताका कारण वरिष्ठ उपाध्यक्ष गोविन्द कुमार लुम्फुङ्वाले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो। दियो–कलश राखी दीप प्रज्वलन तथा राष्ट्रगानसहित कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार कमल लावती, सल्लाहकार डम्बर लिबाङ, विक्रम पंधाक मिसाम, खड्क पंधाक र सुनिता पाङ्मा लिङ्देन, पूर्वअध्यक्ष गज वनेम टेक र सरोज पयाङ्गो, फागो वनेम समाज यूएईका अध्यक्ष माइकल वनेम फागो, युमा साम्यो महासभा यूएईकी महिला उपाध्यक्ष चन्द्र प्राङ्देन तथा याक्थुङ सयङ सङ्जुम्भो–अबुधाबी यूएईका संरक्षक काजिमान लिबाङलगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूएईका कार्यसमिति पदाधिकारी तथा सदस्य, आजीवन सदस्य र यूएईका विभिन्न स्थानबाट आएका याक्थुङ/लिम्बु समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

उपस्थित अतिथिहरूलाई संस्थाकी प्रथम उपाध्यक्ष मनिषा खाम्दाक इङ्गाषाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा फागो वनेम समाज यूएईका अध्यक्ष, चुम्लुङ यूएईका पूर्वअध्यक्ष, सल्लाहकार, प्रमुख सल्लाहकारलगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव भूमि इधिङ्गो यम्भामीले गर्नुभएको थियो। अन्त्यमा सभापति वरिष्ठ उपाध्यक्ष गोविन्द कुमार लुम्फुङ्वाले मन्तव्य राख्दै कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभएको थियो।

कार्यक्रमपछि मौलिक परम्पराअनुसार तुम्याहाङहरूले प्रमुख अतिथि तथा प्रशिक्षक सावारा साम्बा भवानी अन्छङ्बोलाई धन्यवादसहित बिदाइ गरेका थिए।

किरात याक्थुङ चुम्लुङ यूएईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, अतिथिहरू र सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP