SumhatlungTimes
२०८३ आश्विन १४ बुधबार | Wed, 30 Sep 2026
NepaliTheme
राजनीति

पाँचथरबाट दुई पत्रकार कांग्रेस महाधिवेशन प्रतिनिधि उम्मेदवार

पाँचथरबाट दुई पत्रकार कांग्रेस महाधिवेशन प्रतिनिधि उम्मेदवार

पाँचथर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरमा सोमबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ।

अधिवेशनमा दुई जना पत्रकारसमेत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका छन्। नेपाल पत्रकार महासंघका वर्तमान केन्द्रीय सदस्य लवदेव ढुंगाना र प्रदेश परिषद् सदस्य गजेन्द्र तुम्बापो केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवारहरूको नामावलीअनुसार पत्रकार ढुंगाना समावेशी खस आर्य (खुला) तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार बनेका हुन्। एक जना आवश्यक संख्या रहेको यो समूहमा ढुंगानासहित पाँच जना उम्मेदवार छन्।

त्यस्तै, अर्का पत्रकार तुम्बापो युवा (खुला) समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका हुन्। दुई जनाको कोटा रहेको यो समूहमा तुम्बापोसहित पाँच जना उम्मेदवार रहेका छन्।

पत्रकार दलगत सक्रिय राजनीतिबाट अलग रहनुपर्छ भन्ने मान्यता रहे पनि जिल्लाका दुई पत्रकार भने पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिजस्तो जिम्मेवार पदका लागि उम्मेदवार नै बनेका हुन्। ढुंगाना यसअघि जिल्लामा नेपाल पत्रकार महासंघको दुई कार्यकाल अध्यक्ष बनेका पत्रकार हुन्। कुशल नेतृत्व र आलोचनात्मक चेतसहितको समाचार लेखनका कारण उनी नामी पत्रकारका रूपमा चिनिन्छन्। तुम्बापो भने पाँचथरको पछिल्लो पुस्ताका युवा पत्रकार हुन्।

फिदिम–२ स्थित हरि–हंश स्मृति प्रतिष्ठानको सभाहलमा जारी क्षेत्रीय अधिवेशनको उद्घाटन सोमबार नेपाली कांग्रेस संघीय संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रतिनिधिसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङ, प्रदेशसभा सदस्य मैंया श्रेष्ठ लाओती र जिल्ला सभापति रुपनारायण जबेगुलगायत नेताहरूको उपस्थितिमा गरिएको थियो।

अधिवेशनले पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ र २ गरी दुवै क्षेत्रीय समितिका लागि एक सभापति, एक उपसभापति, एक सचिव, एक महिला अनिवार्यसहित दुई सह–सचिव र १३ सदस्यीय छुट्टाछुट्टै क्षेत्रीय समिति निर्वाचित गर्नेछ। त्यस्तै, ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र दुवै क्षेत्रीय समिति अन्तर्गत २३–२३ जना प्रदेश प्रतिनिधि निर्वाचित हुने बताइएको छ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार निर्विरोध निर्वाचित भएका बाहेकका पदका लागि मंगलबार बिहान आठ बजेदेखि मतदान सुरु हुनेछ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP