Advertisement Ad

Advertisement Ad

नरेन्द्र कुमार केरुङः एक बौद्धिक र शालीन नेताको संसदीय यात्रा

२४ फागुन २०८२, पाँचथर। नेपाली काँग्रेस पाँचथरको सांगठनिक जीवनमा बहुदल प्राप्ती पछिका निर्वाचनमा विजय भन्दा पराजयका अनुभव बढी छ।

वि.सं. २०५१ सालको मध्यावधी निर्वाचनमा वसन्त कुमार नेम्बाङलाई पराजीत गर्दै दीपक प्रकाश बाँस्कोटाले पाँचथर क्षेत्र नं.१ बाट चुनाव जितेका थिए। बाँस्कोटा अर्थराज्यमन्त्री समेत बने। त्यसपछि वि.सं. २०६४ को संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं.१ बाटै पूर्ण कुमार शेर्माले सात मतको अन्तरले चुनाव जिते। त्यतिबेला नेकपा एमालेका गणेश काम्बाङलाई पराजीत गरेका शेर्मा स्थानीय विकासमन्त्री बनेका थिए।

१४ जेठ २०६९ मध्यराती संविधानसभा विघटन भएपछि वि.सं. २०७० सालमा भएको संविधानसभाकै दोस्रो निर्वाचनमा भीष्मराज आङदेम्बेले नेकपा एमालेका डम्बरसिंह सम्बाहाम्फेलाई पराजीत गरेका थिए। पञ्चायतपछिका निर्वाचनमा पाँचथरमा नेपाली काँग्रेसले यति नै जीतको इतिहास लेख्न सक्यो। संघीय संविधान जारी भएपछिका दुबै निर्वाचनमा हार व्यहोरेको पाँचथर काँग्रेसलाई यसपल्टको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने नरेन्द्र कुमार केरुङले संसदीय यात्रा तय गराएका छन्।

भर्खरै सम्पन्न काँग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका केरुङ २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरबाट विजयी हुँदा पाँचथरे काँग्रेसीजनमा खुसीयाली छाएको छ। देशभरको नतिजामा काँग्रेस धेरै पछि परे पनि पाँचथरमा भने केरुङको जीतले मल्हमपट्टी गरेको छ।

उनले निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्त राज शेर्मा (ब्रबिम)लाई दुई हजार ४९९ मत अन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्य निर्वाचन जित्दा यसअघिका दुई निर्वाचनमा लगातर हार व्यहोरेको पाँचथरे काँग्रेस वृत्तमा उत्साहको तरङ्ग सञ्चार भएको छ। केरुङले १७ हजार २३३ मत प्राप्त गर्दैै विजय हाँसिल गर्दा श्रम संस्कृतिका शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे। चुनावअघि कडा प्रतिस्पर्धीको रुपमा हेरिएका नेकपा एमालेका अइन्द्र सुन्दर नेम्बाङ र हर्क बहादुर नेम्बाङ (मिक्सो)ले भने क्रमशः १४ हजार ५३४ र ११ हजार ४४३ मत प्राप्त गर्दै तेस्रो र चौंथो बने।

यसअघि २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा त्यतिबेलाका नेकपा एमालेका गणेश कुमार काम्बाङ सँग र २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा पनि काम्बाङ सँगै पराजीत भएका केरुङले तेस्रो पल्टको प्रयासमा संसदीय यात्रा तय गरेका हुन्। करीब साँढे तीन दशक अघिदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय केरुङ जिल्लामा शालीन र बौद्धिक नेताको रुपमा परिचित छन्।

२०४८ सालमा विद्यार्थीकालमै नेविसंघको जिल्ला सचिव भएर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका केरुङसँग शिक्षक, प्राध्यापक संगठन, ट्रेड युनियन काँग्रेसको हुँदै दुई कार्यकाल नेपाली काँग्रेस पाँचथरको जिल्ला सभापतिको भूमिकामा रहेर काम गरेको अनुभव छ। विशेष महाधिवेशन मार्फत् हालः केन्द्रीय सदस्य रहेका केरुङ पाँचथरमा नेपाली काँग्रेसको संगठन सुदृढीकरणमा लामो समय खटिएका नेता हुन्।

व्यवस्थापनमा स्नातकोत्तर तह सम्मको औपचारिक अध्ययन पूरा गरेका केरुङले पाँचथर बहुमुखी क्याम्पसमा १२ वर्ष प्राध्यापन गरे। गत भदौं २३ र २४ को जेन–जी आन्दोलनपछि दुई वर्ष अगावै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर नेपाली काँग्रेसको नराम्रो हारको नतिजा आइरहेको बेला केरुङले पाँचथरमा नेपाली काँग्रेसको साख बचाएका छन्।

चुनौतिपूर्ण समयमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका केरुङले सकेसम्म सदनमा अर्थपूर्ण प्रतिनिधित्व गर्ने र समग्र जिल्लाको विकासको लागि योगदान गर्ने अनि सबैलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। केरुङले आइतबार सदरमुकाम फिदिममा निकालिएको विजय र्यालीपछि आयोजित कार्यक्रममा अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण पाँचथरे मतदातालाई धन्यवाद दिए।