Advertisement Ad

Advertisement Ad

लिम्बू पत्रकार संघले सम्झियो, पूर्व अध्यक्ष स्व.युवराज लिम्बूलाई

१ चैत २०८२, धरान। लिम्बू पत्रकार संघका पूर्व अध्यक्ष स्व.युवराज लिम्बू (फागो चोङबाङ)को १३ औं स्मृति दिवसको अवसर पारेर संघले आइतबार एक कार्यक्रमको आयोजना गरी पूर्व अध्यक्ष लिम्बूको स्मरण गरेको छ।

लिम्बू पत्रकार संघ, संघीय कार्य समितिको आयोजना एवम् जिल्ला कार्य समिति सुनसरीको व्यवस्थापनमा चुम्लुङहिम धरानमा आयोजित स्मृति सभामा स्व.युवराज लिम्बूको योगदानको चर्चा गरिएको थियो। कार्यक्रममा लिम्बू पत्रकार संघका तुम्याहाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बा, तुम्याहाङ द्धय सेसेमी से–नाल्बो, मोहन हुक्पा चोङबाङ र पत्रकार तथा अध्येता अमित थेबेले स्व.युवराज लिम्बूले लिम्बू पत्रकार संघको संस्थागत विकासमा पुर्याएको योगदान र उनको बहूआयामिक व्यक्तित्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको माध्यमबाट याक्थुङ (लिम्बू) समुदायको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएका युवराज पत्रकारिताको क्षेत्रमा मात्र नभएर प्राज्ञिक जगतमा पनि आविश्मरणीय व्यक्तित्व भएको बताएका थिए। पुख्र्यौली थलो साँघु ताप्लेजुङ भई मोरङको इटहरामा वि.सं. २०३५ सालमा जन्मिएका उनको वि.सं. २०६९ साल चैत १ गते अल्पायूमै निधन भएको थियो।

स्व.युवराज लिम्बूले किरात याक्थुङ चुम्लुङको मुखपत्र ‘तान्छोःप्पा’, लिम्बू विद्यार्थी मञ्चको मुखपत्र ‘युक्फो’, लिम्बुवान जर्नल, चुम्लुङहिम अभिलेख, गोर्खा सञ्चार सहकारी संस्था द्वारा प्रकाशित द गोर्खाज साप्ताहिक, एथ्निक मिडिया फाउण्डेशन द्वारा प्रकाशित एथ्निक भ्वाइस बुलेटिन जस्ता पत्रपत्रिका, जर्नल र दस्तावेजहरुको सम्पादन गरेका थिए। स्व.युवराज लिम्बूको योगदानलाई दस्तावेजीकरण गर्न ‘युवराज लिम्बूः स्मृति ग्रन्थ’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ।

१३ औं युवराज लिम्बू स्मृति दिवस कार्यक्रम संघका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो।