Advertisement Ad

Advertisement Ad

तिजोक डाँडामा निर्मित केः (च्याब्रङ) स्तम्भको उद्घाटन

१ वैशाख २०८३, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ र फिदिम नगरपालिका–६ को सीमावर्ती क्षेत्र पर्यटकीय स्थल तिजोक बहूसाँस्कृतिक पार्कमा निर्मित केः (च्याब्रुङ) स्तम्भको उद्घाटन गरिएको छ।

नयाँ वर्ष २०८३ को अवसर पारेर एक कार्यक्रमको आयोजना गरी उक्त च्याब्रुङ स्तम्भको उद्घाटन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि, किरात याक्थुङ चुम्लुङका संघीय सचिव लक्ष्मण लाओतीले च्याब्रुङ स्तम्भको उद्घाटन गर्नुभएको थियो। स्तम्भको उद्घाटन गर्दै प्रमुख अतिथि लाओतीले केः अर्थात् च्याब्ुङ याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक बाजा सँगै साँस्कृतिक बिम्ब पनि भएकाले पछिल्लो समयमा विभिन्न स्थानमा यस्ता स्तम्भहरु निर्माण हुने क्रम जारी रहेको बताउनुभयो।

स्थानीय युवाहरुको सक्रियतामा तिजोक पर्यटन प्रबद्र्धन विकास क्षेत्र नामक संस्था स्थपना गरी विभिन्न जाजजातिका साँस्कृतिक स्तम्भ र अन्य पर्यटकीय संरचनाहरु निर्माण गरिएपछि पछिल्लो समय तिजोक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ। सोही स्थानमा पाँचथरका संस्कृतिप्रेमीहरुले अभियान चलाएर संकलन गरेको रकमले उक्त केः अर्थात् च्याब्रुङ स्तम्भ निर्माण गरिएको तिजोक केः (च्याब्रुङ) स्तम्भ निर्माण समितिका सह–संयोजक मचिन्द्र सेमी लोवाले बताउनुभयो।

देश–विदेशमा रहेका विभिन्न व्यक्तित्वहरुबाट स्वेच्छिक रुपमा संकलित एक लाख ६० हजार रुपैंयाँभन्दा बढी लागतमा उक्त स्तम्भ निर्माण गरि तिजोक पर्यटन प्रबद्र्धन विकास क्षेत्रलाई हस्तान्तरण गरिएको हो। स्तम्भ निर्माणको लागि पाँच हजार रुपैंयाँ भन्दा बढी रकम सहयोग गर्ने ३१ जनाको नाम शीलालेखमा समेत लिपिबद्ध गरिएको छ। स्तम्भ उद्घाटन समारोहको अवसरमा निर्माण समितिका संयोजक बिमला नेम्बाङले स्तम्भ निर्माणको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।

तिजोक बहूसाँस्कृतिक पार्कमा हालसम्म लिम्बू जातिको सिलाम साक्मा, च्याब्रुङ, मगर जातिको खुर्पेटो र तामाङ जातिको डम्फूको स्तम्भ निर्माण गरिएका छन्। त्यस्तै तिजोक नामकरणको जनश्रुतिसँग जोडिएको ७ फिट अग्लो बेत बाँसको स्तम्भ निर्माण सम्पन्न भई राख्न मात्र बाँकी रहेको तिजोक पर्यटन प्रबद्र्धन विकास क्षेत्रका अध्यक्ष राज दिलाञ्जलीले बताउनुभयो।

त्यस्तै मगर जातिको मादल, राई जातिको चिण्डो, आर्यहरुको शंख र दलित शिल्पीहरुको नर्सिङ्गाको स्तम्भ पनि निर्माणको चरणमा रहेको उहाँले बताउनुभयो। प्राकृतिक सुन्दरताले भरिपूर्ण तिजोकमा हालसम्ममा करीब ३० लाख रुपैंयाँभन्दा बढीका पर्यटकीय संरचना निर्माण गरिसकिएको छ।