८ भदौ २०८१, ताप्लेजुङ। बिर्तामोड युनाइटेड क्लव झापालाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध पार्दै लसहेश युथ क्लव सिरहा ताप्लेजुङमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण ताल्लेजुङ गोल्डकपको फाइनल प्रवेश गरेको छ।
फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलको छिनोफानो टाइब्रेकरबाट लिनु परेको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
टाइब्रेकरमा सलहेशका जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रवेश दनुवारले गोल गर्दा श्रीजन गौतमको प्रहार बाहिरिएको थियो। बिर्तामोड युनाइटेडका हिसुप थपलिया र रोहन कार्कीले मात्र गोल गरे। निमा तामाङको प्रहारलाई सलहेशका गोलकिपर प्रदीप भण्डारीले बचाउदा सौरभ सुब्बाको प्रहार साइडबारमा लाग्दै बाहिरिएको थियो।
खेलको म्यान अफ् दि म्याच सलहेशका गोलकिपर प्रदीप भण्डारी बने। उनले नगद ५ हजार रुपैंयाँ प्राप्त गरे। खेलको १८ औं मिनेटमा विदेशी खेलाडी जोन ग्लोरीको गलबाट सलहेशले अग्रता लिएको थियो। तर, ६५ औं मिनेटमा बिर्तामोड युनाइटेडले आत्मघाती गोल उपहार पाउँदा खेल बराबरी भएको थियो। निर्धारित र अतिरिक्त दुबै समयमा दुबै टोलीले अवशरहरु सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो।
सलहेशले अब उपाधीका लागि भदौ १० गते मोरङको सगरमाथा युथ क्लवसँग खेल्नेछ। मोरङ शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लवलाई हराउदै फाइनल प्रवेश गरेको हो।
