दक्षिण कोरिया ०९ फेब्रुअरी २०२६
“सञ्चारमा समावेशी आवाज! समृद्धिको आधार: पूर्ण समावेशी सञ्चार!” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुनमा आयोजित अधिवेशनले आगामी दुई वर्षका लागि उत्तम खजुमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष: विशाल श्रेष्ठ, उपाध्यक्ष: विमल सिं लामा (तामाङ), सचिव: अमर योञ्जन, सह-सचिव: विक्रम वज्यु, कोषाध्यक्ष: गेल्छिरि शेर्पा, सदस्यहरू: रोशन राई, अर्जुन तुम्बापो, अर्जुन माबोहाङ, दिलिप वाङ्तावा, केशर राना मगर, छेदेन योञ्जन, श्रवण श्रेष्ठ, सन्तलाल घिसिङ र भुवन मोक्तान ।
नेपाली राजदूतावासका उप-नियोग प्रमुख निर्मलप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील विभिन्न जातीय, क्षेत्रीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। अधिवेशनको बन्द सत्रले निवर्तमान सचिव विमल सिं लामा र कोषाध्यक्षको प्रतिवेदन पारित गरे लगत्तै निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समिति संयोजक डम्बर सुब्बाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नवनिर्वाचित अध्यक्ष उत्तम खजुमले आफ्नो कार्यकालमा फोनिज कोरियाको आधिकारिक न्युज पोर्टल fonijkorea.net को सुदृढीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले प्रवासी भूमिमा आदिवासी जनजातिका अधिकारका साथै सम्पूर्ण नेपाली समुदायका गतिविधिलाई कुनै भेदभाव नगरी समान रूपमा सूचना सम्प्रेषण गर्ने बताएका छन्।
अधिवेशनमा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले फोनिजले कोरियामा रहेका नेपाली समुदायलाई सुसूचित गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।


