३ साउन २०८१, ताप्लेजुङ। आज (सोमबार) देखि सुरु भएको दोस्रो संस्करणको ताप्लेजुङ गोल्डपक फुटवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लवसँग पाहुना टोली भारतको कञ्चनजंघा एफसी सिलिगुढी ७–५ गोल अन्तरले स्तब्ध बनेको छ।
सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा ५–२ गोलले पछि परेको अवस्थामा रोमाञ्चक पुनरागमन गर्दै कञ्चनजंघा एफसी खेलमा फर्किएको थियो। निर्धारित ९० मिनेटको खेल ५–५ को बराबरीमा सकिएको थियो। जीतको नजिक पुगिसकेको संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङ अन्तिम समयको केही मिनेट सम्हालिन नसक्दा कञ्चनजंघा एफसीले बराबरी गोल फर्काएको थियो।
त्यसपछि थप गरिएको १५ मिनेटको अतिरिक्त समयमा भने घरेलु टोली ताप्लेजुङले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्यो। अतिरिक्त समयको पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गर्दै ताप्लेजुङले ७–५ गोलको जीत निकाल्दै सेमीफाइनल यात्रा तय गर्दा पाहुना टोली सिलिगुढी भने पहिलो खेलबाटै घर फर्किनु पर्यो।
प्रतियोगिता अन्तर्गत मंगलबार हुने दोस्रो क्वाटरफाइनलमा सिरहाको सलहेश युथ क्लव र पाँचथर फुटवल क्लवबीच प्रतिश्पर्धा हुनेछ। लाखे जात्राको अवशरमा भदौ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंयाँ र उपविजेताले नगद २ लाख ५० हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।
