३ असोज २०८२, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित हिलिहाङ दरबार परिसरमा सोमबार हिलिहाङ साहित्य महोत्सव २०८२ सम्पन्न भएको छ।
हिलिहाङ गाउँपालिकाको सहयोग एवम् किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिको संयोजनमा हिलिहाङ फाउण्डेशनले हाङ हिलिहाङको २९९ औं जन्मोत्सवको अवसर पारेर हिलिहाङ साहित्य उत्सवको आयोजना गरेको हो। महोत्सवको अवसर पारेर हिलिहाङ फाउण्डेशनले वरिष्ठ कलाकार, गीतकार तथा मुन्धुमसाबा यासेली योङहाङ र स्रष्टा विद्या निर्दोषी ओझालाई सम्मान–पत्र र नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो। सम्मानितहरुलाई हिलिहाङ फाउण्डेशनका अध्यक्ष हर्क बहादुर योङहाङ र कार्यक्रमका प्रमुख अतिथि, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीले सम्मान गरेका थिए।
महोत्सवलाई सम्बोधन गर्दै, प्रमुख अतिथि अधिकारीले हिलिहाङको इतिहासलाई संरक्षण गर्दै हिलिहाङ दरबार क्षेत्रलाई पुरातात्विक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गर्न हिलिहाङ गाउँपालिका लागिपरेको बताए। महोत्सवका मूख्य आकर्षणको रुपमा रहनुभएका यासेली योङहाङले हाङ हिलिहाङको विषयमा थप खोज–अनुसन्धान आवस्यक रहेको उल्लेख गर्दै दरबार क्षेत्रलाई मौलिक रुपमै विकास र प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए।
महोत्सवमा साहित्यकार मनु योङहाङले हिलिहाङ गाउँपालिकाको साहित्यिक इतिहास र सागर केरुङले लोक संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै वक्ताहरु याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगुले मातृभाषा साहित्य विकासको जुक्ति, साहित्यकार तथा राजनैतिक व्यक्तित्व नरेन्द्र कुमार केरुङले साहित्य र राजनीति, पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद ढुंगानाले शिक्षा र साहित्य त्यस्तै मुक्कुम्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले स्रष्टाहरुको आन्दोलन शीर्षकमा वक्तव्य दिएका थिए।
महोत्सवको अतिथि कविको रुपमा कविहरु समदर्शी काइँला, लेकाली कान्छा मुक्कुम, अधिकारी बिमला, उदय अपेक्षा, नरेन्द्रराज केरुङ, पुष्पहाङ लोवा, सन्देश सुब्बा र करिना थलङसँगै हिलिहाङ गाउँपालिकाका दर्जन बढी स्रष्टाहरुले कविता वाचन गरेका थिए। कार्यक्रममा केलाःङ (च्याब्रुङ नाच) र गायिका दीपा सुहाङ त्यस्तै गायक दिनेश योङहाङले साँगीतिक प्रस्तुती दिएका थिए।
हिलिहाङ र ऐतिहासिक हिलिहाङ दरबारबारे प्रचार–प्रसार एवम् पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हिलिहाङ फाउण्डेशनका महासचिव सूर्य योङहाङले बताए। महोत्सव फाउण्डेशनका अध्यक्ष हर्क बहादुर योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
