१० चैत २०८२, झापा। याक्थुङ (लिम्बु) समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते हुने भएको छ। चुम्लुङले मंगलबार झापाको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशन बारे जानकारी दिएको हो।
झापाको भद्रपुर स्थित मेची रङ्गशाला अगाडीको खुल्ला मैदानमा हुने कार्यक्रमको उद्घाटन चैत १२ गते हुनेछ। कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संस्थापक उपाध्यक्ष, पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङ रहने किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले पत्रकार सम्मेलनमा जानकारी दिइन्।
महाधिवेशनमा लिम्बूवानका नौ वटा जिल्लासहित उपत्यकाका तीन जिल्ला र ओखलढुंगा, पोखरा र चितवन गरी १५ जिल्लाका प्रतिनिधीहरु र पर्यवेक्षकहरूको उपस्थिति रहने जनाइएको छ। साथै लिम्बुवान प्रदेश समिति, नेवा–ताम्सालिङ प्रदेश समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेशस्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बूजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी करिब ५ सय जनाको सहभागी रहने जनाइएको छ।
महाधिवेशन अन्तर्गत चैत्र १३ र १४ गते सगरमाथा चोकस्थित होटल डेग्लोको सभाहलमा सञ्चालन हुने कार्यक्रमको बन्दसत्रमा मुकुम्लङ संरक्षण, नो केबलकार, प्रदेश १ लाई लिम्बुवान किरात नामाकरण, नो कोशी तथा याक्थुङ (लिम्बू) भाषाको वर्तमान अवस्था, प्रदेश नं.१ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन, लिम्बू समुदायको मृत्यु संस्कार परम्पराः विचलन र प्रभावहरू, आदिवासीजन्य संघ–संस्था र ऐन कानून सम्बन्धमा छलफल हुने पनि महासचिव तुम्बापोले बताइन्।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको आयोजना तथा किरात याक्थुङ चुम्लुङ झापाको व्यवस्थापन र किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर समितिको सह–व्यवस्थापनमा महाधिवेशन सम्पन्न हुने चुम्लुङ झापाका अघ्यक्ष सेसेहाङ फियाकले जानकारी दिए।
