Advertisement Ad

Advertisement Ad

पाँचथरको फालेलुङमा चैत ३० देखि वैशाख २ गते सम्म नवौं चौरी पर्यटन महोत्सव हुने

२० चैत २०८२, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–४ चाररातेमा यस वर्ष पनि यहीँ चैत ३० गतेदेखि वैशाख २ गते सम्म नवौ फालेलुङ चौरी पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

हिमाली क्षेत्रको सौन्दर्य चौरी, चौरीपालन र चौरीजन्य उत्पादनको प्रबर्द्धन, बजार विस्तार र चौरीको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न हरेक वर्ष चौरी पर्यटन महोत्सव आयोजना गरिँदै आएको छ । शुक्रबार पाँचथर सदरमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गरी नवौं संस्करणको चौरी पर्यटन महोत्सवबारे जानकारी दिइएको हो ।

समुन्द्री सतहदेखि करीव ३ हजार ५०० मिटर उचाइमा अवस्थित सुन्दर स्थान चाररातेमा वितग नौ वर्ष अघिदेखि आयोजना गरिँदै आएको चौरी पर्यटन महोत्सवलाई यसपल्ट पनि निरन्तरता दिइएको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताउनुभयो ।

महोत्सवमा चौरीका विभिन्न प्रजाती साथै चौरीजन्य विभिन्न परिकार र वस्तुहरुको प्रदर्शनी गरिनेछ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने महोत्सवमा याक चढ्ने लगायतका मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन गरिने आयोजक कञ्चनजंघा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङले बताउनुभयो ।

नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा नेपालका विभिन्न जिल्ला सँगै भारतको सिक्किम, पश्चिम बङ्गाल, पञ्जाव, कोलकाता, भूटान सम्मका पर्यटकको सहभागिता रहने आयोजकको अपेक्षा छ । महोत्सवमा फुटबल प्रतियोगिता, चौरी नृत्य र साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिनेछ । फुटबल प्रतियोगिताको विजेता र उपविजेता टिमलाई क्रमशः ४० केजी र २० केजी चौरीको घिउ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवको प्रबर्द्धक फालेलुङ गाउँपालिका सँगै प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवलाय लगायत छन् ।