Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द गाउँपालिकाका उत्कृष्ट धान उत्पादक कृषक पुरस्कृत

१३ चैत २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले उत्कृष्ट धान उत्पादक कृषकहरुलाई पुरस्कृत गरेको छ। शुक्रबार गाउँपालिका कार्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट धान उत्पादक कृषकलाई सम्मान गरिएको हो।

गाउँपालिकाले कार्यविधि बनाई उत्कृष्ट धान उत्पादक कृषकहरुलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ। गाउँपालिकाले धान उत्पादक कृषकहरुको प्रोत्साहनको लागि ५० मुरीदेखि ९९ मुरीसम्म धान उत्पादन गर्ने कृषकहरुलाई जनही ३० हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएको छ। त्यस्तै एक सय मुरी वा सोभन्दा बढी धान उत्पादन गर्ने कृषकहरुलाई जनही ५० हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवी तुम्बापोले बताए।

यस वर्ष एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने तीन जना कृषक र ५० मुरी देखि ९९ मुरी सम्म धान उत्पादन गर्ने ५५ जना गरी कूल ५८ जना उत्कृष्ट धान उत्पादक कृषकहरुलाई पुरस्कृत गरिएको प्रमुख प्रसाशकीय अधिकृत तुम्बापोले बताए। गाउँपालिकाले आह्वान गरेको सूचना अनुसार कृषकहरुले आवेदन दिएका थिए। गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले मापदण्ड अनुसारको धान उत्पादन भए–नभएको अनुगमन र प्रमाणित गरी मापदण्ड पूरा गर्ने कृषकहरुलाई पुरस्कृत गरेको हो।

यस वर्ष दुई सय २९ मुरी १६ पाथी धान उत्पादन गर्ने फाल्गुनन्द–७ का दिप्सन चेम्जोङ पालिकामा सबैभन्दा धेरै धान उत्पादन गर्ने कृषक बनेका छन्। त्यस्तै फाल्गुनन्द–१ का मकर बहादुर तामाङले एक सय ५८ मुरी सात पाथी उत्पादन गरी दोस्रो र फाल्गुनन्द–७ का तिल बहादुर चेम्जोङ एक सय ३२ मुरी १६ पाथी उत्पादन गरी तेस्रो बनेका छन्। गाउँपालिकाको मापदण्ड अनुसार पुरस्कृत भएका कृषकहरुबाट मात्र यस वर्ष जम्मा तीन हजार ६८४ मुरी चार पाथी धान उत्पादन भएको गाउँपालिकाको कृषि विकास शाखा प्रमुख सुगम घिमिरेले बताए।

फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले कृषकहरुमा उत्पादनमा प्रतिस्पर्धा गराई गाउँपालिकाको प्रमुख खाद्यान्ह बाली धानको उत्पादन बढाउन गाउँपालिकाले ल्याएको यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको बताए।

त्यस्तै गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बेले विगत तीन आर्थिक वर्ष अघिदेखि सुरु गरिएको यो कार्यक्रमले हरेक आर्थिक वर्षमा थप उपलब्धी हाँसिल गर्दै लगेको बताउदै यो कार्यक्रम पूर्णतः सफल भएको बताए।