१६ चैत २०८२, पाँचथर। नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघको पाँचथर शाखाले सोमबार समाचार वाचन प्रतियोगिता आयोजना गरेको छ ।
फिदिम–१ फाल्गुनन्द चोक स्थित नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सभाहलमा आयोजित समाचार वाचन प्रतियोगितामा इवारा जबेगु प्रथम, कमल घिमिरे द्वितीय र भीम चेम्जोङ त्रितिय बने । उनीहरुले क्रमशः नगद सात हजार रुपैंयाँ, पाँच हजार रुपैंयाँ र तीन हजार रुपैंयाँ सहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै प्रतियोगितामा सहभागि फिदिम माध्यमिक विद्यालयमा कक्षा–७ मा अध्ययरत साम्भावी श्रेष्ठ, कक्षा–९ मा अध्ययनरत सुविज्ञा राई र पूजा तुम्बापो सान्तवना भए । उनीहरुले जनही एक हजार रुपैंयाँ र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा जम्मा २२ जनाले सहभागिता जनाएका थिए भने पत्रकार मंगल बेघा, खबिन लुईटेल र सन्देश सुब्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम भट्टराई, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, फोनिजका प्रदेश अध्यक्ष विजयबोध लाओती, नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष द्वय लक्ष्मी गौतम, गिरिराज बाँस्कोटा र पत्रकार गणेश साम्पाङले नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको शुभकामना दिनुभएको थियो ।
समाचार लेखन र वाचनमा युवा पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष सरोज शर्माले बताउनुभयो । कार्यक्रम शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको सचिव रविन्द्र काफ्लेले बताउनुभयो ।
