दक्षिण कोरिया ०४ अप्रिल २०२६
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल फुटबल महासंघको सहकार्यमा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी अप्रिल १९, २०२६ मा कोरियाको छनान (Cheonan) स्थित फुटसल मैदान (천안시 동남구 신방동 645-1) मा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
“फुटबल प्रवासमा एकता, मनोरञ्जन, स्वस्थ जीवनको लागि आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा कोरियामा क्रियाशील विभिन्न नेपाली क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ।
प्रतियोगितामा विजेताले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान गरिनेछ । त्यस्तै, सेमिफाइनल पुग्ने टिमलाई ४ लाख वोन तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १ लाख वोन पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि ३ लाख ५० हजार वोन प्रवेश शुल्क तोकिएको छ भने दर्ताको अन्तिम मिति अप्रिल १२, २०२६ सम्म रहेको आयोजकले जानकारी दिएको छ ।
कोरियामा रहेका सम्पूर्ण नेपाली फुटबल क्लबहरूलाई सहभागी भई प्रतियोगितालाई सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ । प्रतियोगिताले नेपाली समुदायमा खेलकुदप्रति आकर्षण बढाउने र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
