Advertisement Ad

फिदिम–६, सिवामा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यक्रम

Advertisement Ad

इवारा लिम्बू

१४ असोज २०८०, पाँचथर। फिदिम–६, सिवामा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यक्रम शनिबार सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको चार दिने क्षमता अभिवृद्धि कार्यक्रम शनिबार सम्पन्न भएको हो।

चार दिन सञ्चालन भएको कार्यक्रममा व्यवहारिक तमसुक, मेलमिलाप, मुचुल्का, प्रस्तावना लेखन र उद्घोषण तालिम दिईएको थियो। फिदिम–६, सिवाका ४५ जना आदिवासी जनजातिहरुको सहभागिता रहेको तालिमको सहजीकरण अधिवक्ता देवी थापा, आदिवासी जनजाति अभियन्ता चन्द्र कुमार आङदेम्बे र पत्रकार गणेश साम्पाङले गरेका थिए। तालिम फिदिम–६, सिवा मगरगाउँस्थित लखन थापा आटैकान साँस्कृतिक समूहको भवनमा सम्पन्न भएको थियो।

फिदिम नगरपालिका ६ नं.वडा कार्यालयको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ, वडा समन्वय परिषद फिदिम–६, सिवाले तालिमको आयोजना गरेको हो। तालिम समापन समारोहमा आफ्नो अनुभव बाँढ्दै प्रशिक्षार्थी लोकेन तुम्रोकले तालिमबाट प्राप्त ज्ञान, सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै प्रशिक्षार्थी अञ्जली तामाङले आफ्नो लागि नयाँ र सिक्नैपर्ने कुरा सिकेको बताउदै खुसी व्यक्त गरिन्।

सोही अवशरमा आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद फिदिम–६ सिवाले २०७९ को स्थानीय तह निर्वाचनमा वडाबाट निर्वाचित आदिवासी जनजाति जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेमा फिदिम–६ का वडा वडाअध्यक्ष विपन तुम्रोक, फिदिम नगर कार्यपालिका सदस्य कामना राई, वडासद्वय लोकेन्द कुमार तुम्रोक र तेजहाङ तुम्रोक रहेको आयोजक संस्थाका सचिव गणेश तुम्रोकले बताए।

समापन समारोहमा प्रमुख अतिथि, फिदिम–६ का वडा अध्यक्ष बिपन तुम्रोकले लगायतले तालिममा सिकेका ज्ञान र सिपलाई उपयोग गर्दै सामाजिक रुपान्तरणमा खरो उत्रिन सहभागिलाई आग्रह गरेका थिए। समापन समारोहमा स्थानीय मगर समुदायले हुर्रा नाच प्रस्तुत गरेका थिए। समापन समारोह नेपाल आदिवासी जनजाति महासंघ, वडा समन्वय परिषद फिदिम–६, सिवाका अध्यक्ष डिगबीर सारु मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

आदिवासी जनजातिबारे अन्तरक्रिया

आदिवासी जनजाती क्षमता अभिवृद्धि कार्यक्रम समापनको दिन फिदिम–६, सिवामा आदिवासी जनजातिको अधिकार र अवस्थाबारे अन्तरक्रिया समेत गरिएको छ।

अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष सागर केरुङले आदिवासी जनजातिको हक अधिकारकारबारे संवैधानिक व्यवस्थाका बिषयमा र १ नं.प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरका अध्यक्ष सुवाश तुम्बापोले प्रदेशको नाम ‘कोशी’ खारेजीको आन्दोलनको विषयमा प्रष्ट पारेका थिए।

संविधानको धारा ४, ९ र धारा ३१ को उपधारा ५ ले नेपालका आदिवासी जनजातिहरुलाई दमन गरेकाले अधिकार सुनिश्चितताका लागि संघर्ष जारी राख्नुपर्ने केरुङको भनाई थियो। त्यस्तै संयुक्त संघर्ष समितिका संयोजक तुम्बापोले ऐतिहासिक पृष्ठभूमी र शासकीय भूगोलको आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ हुनुपर्ने उल्लेख गर्दै इतिहास र सभ्यतालाई कुनै बहूमतले पनि निषेध गर्न नसक्ने दाबि गरे।

कार्यक्रममा फिदिम–६, सिवास्थित आदिवासी जनजाति महासंघका पदाधिकारी तथा सदस्य, महासंघमा आबद्ध जातीय संस्थाका प्रतिनिधि साथै वडास्थ्ति आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो।