Advertisement Ad

वाफ महिला च्याप्पियनसिपको उपाधीका लागि आज नेपालले जोर्डनसँग खेल्दै

Advertisement Ad

१७ फागुन २०८०,काठमाडौँ। पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ। साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ।

फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन्। त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने भएकी छन्।

विश्व फुटबल महासंघ (फिफा) को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ। वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो।

तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विन्डोभन्दा बाहिर छ। त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो। जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन्। उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।

साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन्। उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन्। सेमिफाइनल खेलमा नेपालले लेबननलाई २–१ गोलले हराएको थियो।

नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो। नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो। नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो। जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ।

जारी प्रतियोगितामा जोर्डन पनि बलियो टोलीका रुपमा देखिएको छ। जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो। जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको थियो।

जोर्डनले पहिलो खेलमा आयोजक साउदी अरेबियालाई ३–१, दोस्रो खेलमा ग्वामलाई ३–० र तेस्रो खेलमा लेबननलाई २–० गोलले हराएको थियो। सेमिफाइनलमा भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० गोलको फराकिलो जित हात पारेको थियो।

जोर्डनले फाइनलको यात्रा तय गर्दासम्म विपक्षीको पोस्टमा १३ गोल गरिसकेको छ। हालसम्म जोर्डनले एक गोलमात्र खाएको छ। जारी प्रतियोगितामा जोर्डनकी मायसा जबारह सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छिन्। उनले हालसम्म पाँच गोल गरिसकेकी छन्।

त्यसैले पनि बिहीबार खेलिने नेपाल र जोर्डनबिचको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। नेपालले आमन्त्रित टोलीको रुपमा यो प्रतियोगितामा सहभागिता जनाएको हो। (रातोपाटीबाट)