Advertisement Ad

फिदिम नगरपालिकाका २० सामुदायिक विद्यालय अब सीसीक्यामेराको निगरानीमा

Advertisement Ad

१६ फागुन, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा रहेका २० सामुदायिक विद्यालयहरुको नगरपालिकाले सीसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले नगर भित्रका सबै माध्यमिक विद्यालयमा सीसीटीभी जडान गरेपछिको दृष्य देखाउँदै उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख काफ्लेले उक्त सीसीक्यामेरामा दृश्य मात्रै नभई आवाज समेत सुनिने भएकाले विद्यालयहरुको प्रभावकारी अनुगमन हुने बताए । माविहरुमा सीसी क्यामेरा थप्ने तथा आधारभूत विद्यालयहरुमा समेत सीसी क्यामेरा जडान गर्ने योजना बनाएको नगरप्रमुख काफ्लेले बताए ।

फिदिम नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट ८ लाख ८५ हजार बजेटको ब्यवस्था गरी सीसी क्यामेरा जडान गरेको हो । सीसीक्यामेराको दृश्य नगरपालिकाको शिक्षा शाखा, मेयर र उपमेयरको मोबाईल ट्याबबाट सिधै विद्यालयको गतिविधि हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

उद्घाटन कार्यक्रममा विद्यालयको अनुगमनका साथै विद्यालय परिसरमा हुने विभिन्न गतिविधि पनि निगरानी गर्न सीसीटीभी क्यामेरा सहयोगी हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बताए । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङले शैक्षिक क्रियाकलाप र शिक्षकहरुको नियमित निगरानीले विद्यालयमा हुने क्रियाकलाप र शिक्षकहरुको आचरण सुधारमा मद्दत मिल्ने बताए ।

फिदिम नगरपालिकामा २० माध्यमिकसहित कूल ७९ वटा सामुदायिक विदालयहरु रहेका छन् । सबै सामुदायिक विद्यालयहरुमा विद्युत, इन्टरनेट र इ–हाजिरीको ब्यवस्था गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।