Advertisement Ad

‘चौबिसे थुमको एतिहासिक अध्ययन’ अनुसन्धानमुलक पुस्तकको बिमोचन

Advertisement Ad

६ असार २०८१, धनकुटा। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको समन्वय एवंम् चौबिसे गाउँपालिकाको प्रकाशनमा प्रकाशित अनुसन्धानमुलक लेखहरु संग्रहित ‘चौबिसे थुमको एतिहासिक अध्ययन’ पुस्तकको मंगलबार बिमोचन गरिएको छ।

राजारानीस्थित चौबिसे गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा, प्रमुख अतिथि, चौबिसे गाउँपालिकाका अध्यक्ष राज कुमार चेम्जोङ सहित अन्य अतिथिहरुले पुस्तक बिमोचन गरेका थिए। बिमोचन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष चेम्जोङले पुस्तकले चौबिसे गाउँपालिकामा रहेका महत्वपूर्ण र ऐतिहासिक पक्षहरुको उजागर गरेको बताए। पहिलो प्रकाशनमा विविध कारणवस छुटेका विषयहरुलाई आगामी संस्करणमा समेटेर पुस्तकलाई पूर्ण बनाउने उनले बताए।

कार्यक्रममा विशेष अतिथि, मुन्धुम एवंम् लिम्बुवानको इतिहासका ज्ञाता अर्जुनबाबु माबुहाङले अहिले गाउँ बनाउने एजेण्ड कसैसँग नभएको बताउदै गाउँठाउँमा रहेका ऐतिहासिक र मुन्धुमिक धरोहरहरु संकटमा पर्दै गएका उल्लेख गरे। तेह्रथुमको लालीगुराँस गरपालिकाका नगर प्रमुख समेत रहेका माबुहाङले तीनको गम्भिर ढंगको खोज र अनुसन्धानबाट मात्र गाउँको वास्तविक विकासको आधार तय गर्न सकिने बताउदै यस किसिमका खोज–अनुसन्धानका काम अन्य पालिकाहरुले पनि गर्नुपर्ने बताए।

पुस्तकमाथि समिक्षात्मक टिप्पणी राख्दै टिप्पणीकार डा.कमल तिगेलाले चौबिसे थुमको विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरुका लागि पुस्तक सहयोगी बन्ने बताए। उनले केहि महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा छाडिएका विषयवस्तुलाई पनि समेट्न सुझाब दिए। अर्का टिप्पणीकार कोशी प्रदेश प्रहरी प्रमुख, डीआईजी चन्द्र कुबेर खापुङले पुस्तक आगत दिनमा गरिने खोज–अनुसन्धानका लागि आधारशील बनेको बताउदै चोबिसे गाउँपालिकाको यस कार्यलाई अन्य पालिकाहरुले अनुशरण गर्नुपर्ने विचार व्यक्त गरे। यद्यपी चौबिसे गाउँपालिकाको अध्ययन यतिले मात्र पूरा नहुने खापुङको भनाई थियो।

पुस्तकमा ‘आदिवासी पहिचान र स्थान नामकरणः राजारानीको प्रशंग’ शीर्षकमा त्रिबि मानवशास्त्र विभाग प्रमुख, डा.डम्वर चेम्जोङ, ‘याक्थुङ लिम्बूहरुको चौबिस थुम’ शीर्षकमा मुन्धुम एवंम् लिम्बुवानको इतिहासका ज्ञाता अर्जुनबाबु माबुहाङ, ‘इतिहासको साक्षी कुर्लेगढी’ शीर्षकमा लेखक तथा पत्रकार राजकुमार दिक्पाल, ‘ऐतिहासिक पुरुष हाम्वेकहाङ एक अध्ययन’ शीर्षकमा लिम्बू संस्कृतिका ज्ञाता आइत खजुम र ‘सक्रक्पाः नामभित्र लुकेको रहश्य’ शीर्षकमा अनुसन्धाता भीमा खजुमले लेखेका छन्।

त्यस्तै ‘सांस्कृतिक सम्पदा युमाः थाक्केलुङ–खिवेत्लुङ’ शीर्षकमा केजी सुब्बा, ‘थिबोङ याक्थुङकालीन पधे यक् संरक्षणको पर्खाइमा’ शीर्षकमा हितराम तिल्लिङ, ‘ओझेलमा परेको ऐतिहासिक चेम्जोङ घर’ शीर्षकमा सागर सरगम चेम्चोङ, ‘सम्लोलुङधुङको सामाजिक–साँस्कृतिक महत्व’ शीर्षकमा पात्रकार सन्तवीर लामा र ‘पूवेर्ली मगरको पहिचानः हुर्रा नाच’ शीर्षकमा पत्रकार विदुर खवासले कलम चलाएका छन्।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष कमन देवान, प्रदेश अध्यक्ष सन्तबीर लामा, पुस्तकभित्र संग्रहित लेखहरुका लेखकहरुको तर्फबाट भीमा खजुम मुसुम र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका अध्यक्ष तथा बिमोचित पुस्तकका सम्पादक बिनु चेम्जोङ लिम्बूको अध्यक्षतामा सम्पन्न भएको फोनिज धनकुटाका उपाध्यक्ष मानवी तामाङले जानकारी दिइन्।