Advertisement Ad

पाँचथर क्याम्पसः सुवराज थापाको अध्यक्षतामा नयाँ नेतृत्व

Advertisement Ad

४ असार २०८१, पाँचथर। स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुने जिल्लाको एकमात्र शैक्षिक संस्थाले ३३ बर्षपछि नयाँ नेतृत्व पाएको छ। पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुवराज थापा निर्वाचित भएका छन्।

सोमबार राती आएको मतपरिणाम अनुसार अध्यक्ष पदका अर्का प्रत्याशी नवराज घिमिरेलाई १५७ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन्। ८९२ मतदाता रहेको क्याम्पस सभाको निर्वाचनमा ६१३ मत खसेको थियो। जसमध्ये अध्यक्ष निर्वाचित थापाले ३६८ मत प्राप्त गरेका थिए। प्रतिश्पर्धी घिमिरेले २११ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा नवीन बुढाथोकी यसअघि नै निर्बिरोध भएका थिए। चुनाब भएको सदस्य पदमा भने चन्द्र प्रसाद भट्टराई, भीम बहादुर कार्की, उमेश अधिकारी, होम कुमार लाओती, लक्ष्मी गौतम, तुलसा तामाङ र साबित्रीदेवी गुरुङ निर्वाचित भएका छन् ।

२०३९ सालमा स्थापना भएको क्याम्पसमा २०४८ सालयता दीपक प्रकाश बाँस्कोटा अध्यक्ष थिए । क्याम्पसमा हाल ७२० विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ।