– गिरिराज बाँस्कोटा
३१ साउन २०८२, पाँचथर। घामको पहिलो झुल्कोले पूर्वमा स्वागत गर्छ । घामको किरण हिमालमा पर्दाको दृश्यले मनलाई आह्लादित बनाउँछ । संसारको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनकवल रहेको कोशी प्रदेश पर्यटनका लागि निक्कै महत्पूर्ण रहेको छ । आर्थिक समृद्धिका लागि यहाँका गन्तव्य देशकै महत्वपूर्ण छन् ।
नेपालको विभिन्न ठाउँमा फरक फरक विशेषता छन् । यहीँ विशेषताको अनेकता कोशी प्रदेशका जिल्लामा पाइन्छ । हिमाल, वन्यजन्तु, चराचुरुङ्गी, प्राकृतिक सम्पदा, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, ग्रामीण पर्यटन यहाँका विशेष हुन् । यो प्रदेश खानपान, ट्रेकिङ, हाईकिङमा उत्तिकै महत्पूर्ण छ । हिमाल, पहाड र तराईमा फैलिएको यो प्रदेशमा जिल्ला जिल्लाको पर्यटनको कनेक्सन पाइन्छ भने जिल्ला पिच्छेका विशेषता छन् । हिमाल घुम्न आउने पर्यटक र आरोहण नेपाल सरकारको महत्पूर्ण आम्दानीको स्रोत हो । १४ वटै जिल्लाका विभिन्न ठाउँमा पर्यटकीय गन्तव्य तथा बहुआयामिक विशेषता रहेका छन् । कतै विदेशी र कतै आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य छन् । तिनै विशेषतामा सजिएका यो प्रदेशमा आन्तरिक र वाह्य पर्यटक आकर्षित बनिरहेका छन् । बाह्य पर्यटकलाई भारत र तेस्रो मुलुकका गरि छुट्याएर विश्लेषण गर्न आवश्यक देखिन्छ ।
संखुवासभा जिल्लामा अवस्थित मकालु वेश क्याम्प ।
हिमाली पर्यटन
नेपालका सर्वोच्च शिखर संसारकै लागि महत्पूर्ण छन् । हिमालको सुन्दरता, महत्वबारे व्याख्या गरेर नथाक्नेहरू संसार भरि छन् । नेपालको मूख्य सम्पत्ति यहाँका हिमाल हुन् । हिमाली क्षेत्र हुन् । हिमाली क्षेत्रको जनजीवन प्रिय लाग्छ । नेपालमा हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्राका लागि विदेशीहरू आउँछन् । पछिल्ला वर्षमा नेपालीलाई हिमाली क्षेत्रले तानिरहेको छ ।
कोशी प्रदेशमा संसारकै अग्लो सगरमाथा देखि कञ्चनजंघा, मकालु जस्ता हिमाल छन् । यी यो प्रदेशका निक्कै महत्वपूर्ण सम्पत्ति हुन् । हिमाल हेरेर आनन्दीत हुने धेरै छन् । आठ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल यो प्रदेश रहेका छन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, छयो यु जस्ता आठ हजार मिटर भन्दा अग्ला हिमाल छन् । यालुङ काङ, कञ्चनजंघा साउथ, ल्होत्से मिडिल जस्ता केही आठ हजार मिटर अग्ला हिमाल भए पनि अन्तर्राष्ट्रिय मान्यता पाईसकेका छैनन् । फक्ताङ्लुङ (कुम्भकर्ण), पोमोरी अमादब्लम जस्ता चर्चित हिमाल छन् ।
पर्यटन क्षेत्रको महत्वपूर्ण राजस्व हिमालबाट उठ्छ । हिमाल आरोहण र पदयात्राका लागि आउने विदेशीहरूबाट राजश्व संकलन हुन्छ । हिमाली क्षेत्रमा रहेका संस्कृति लगायतको माध्यमबाट पर्यटकीय क्षेत्रमा थप फड्को मार्न सक्ने सम्भावना देखिन्छ । हिमाल र हिमाली क्षेत्र आसपासका अन्य गन्तव्य प्रबद्र्धन हुने देखिन्छ ।
वन्यजन्तु, चराचुरुङ्गी
विश्वका विभिन्न देशका पर्यटक रेड पाण्डा हेर्न इलाम आइपुग्छन् । इको ट्रिपको रूपमा उनीहरू नेपाल आउने गर्छन् । रेड पण्डा मात्र होइन यो प्रदेश वन्यजन्तु र चराचुरुङ्गीको लागि निक्कै महत्वपूर्ण मानिन्छ । वन्यजन्तु र चराचुरुङ्गीप्रेमीका लागि यो महत्वपूर्ण क्षेत्र हो । हिमचितुवा, चराचुरुङ्गी, हात्ति, रेड पाण्डा, नाउर लगायतका वन्यजन्तु यहाँ पाइन्छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष, अरुण उपत्यका, कञ्चनजंघा संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, वरुण राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र महत्वपूर्ण छन् । पछिल्लो समयमा चरा फोटोग्राफी गर्ने क्रम बढ्दै गएको देखिन्छ ।
हिमाली तथा उच्च पहाडि क्षेत्रमा पाइने विश्वमै दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) ।
प्राकृतिक सुन्दरता
यो प्रदेशको मूख्य विशेषता प्राकृतिक सौन्दर्ययता हो । यहाँका हिमाली क्षेत्र हेरिरहुँ लाग्छन् । पहाडका डाँडा, गडतिरका फाँट उत्तिकै सुन्दर रहेका छन् । जैविक पर्यटनको महत्व निक्कै धेरै रहेको छ । पोखरी, ताल, नदी, खोला, झरना यहाँका अनेकन विशेषता छन् । गुराँसका ३१ प्रजाति यो प्रदेशमा छन् । केन्जो लगायतका हेरिरहुँ लाग्ने फूलहरु फुल्छन् । उच्च पहाड र हिमाली क्षेत्रका चउरहरू फूल फुल्ने सिजनमा हेरिरहुँ लाग्ने देखिन्छन् । प्रदेश सरकारले स्वीस सरकारको सहयोगमा चारवटा पदमार्गमा काम गरिरहेको छ । जहाँ २९ स्थानीय तह समेटिन्छन् । चियाबारी, फाल्गुनन्द, लालिगुराँस र मुन्दुम पदमार्गको काम भइरहेको छ ।
कार्सोङ् ट्रेल, श्री अन्तु, कन्याम, माइपोखरी, सन्दकपुर, तिम्बुङ पोखरी, चारारोत–तीनसिमाना–चिवाभञ्ज्याङ, पानीटार, पाटेनागी, साधुटार, जोरपोखरी, सुकेपोखरी, मुवा झरना, हिलेडाँडा, छिन्तापु, मिक्लाजुङ, सिङ्जेमा ताल, फुङ्फुङ्गे झरना जस्ता आर्कषक गन्तव्य रहेका छन् ।
सुनवर्सी पोखरी, बेतना सिमसार, जेफाले डाँडा, तालतलैया, बर्जुताल, भेडेटार, नमस्ते झरना, नाम्चे गाउँ, राजा रानी ताल, ध्वजे डाँडा, चखेवा, मैयुङ डाँडा तीनजुरे, ह्यात्लुङ झरना, अरुण उपत्यका, गुफा पोखरी, सभापोखरी उत्तिकै आर्कषक रहेका छन् । ताप्ली पोखरी, रौता पोखरी, मैनामैनी, साप्सुधाप्, जन्तेढुङ्गा, बराह पोखरी, टेम्के डाँडा, देम्बा डाँडा, पोकली झरना, पत्ताले, पिके डाँडा, दूध कुण्ड, पाँच पोखरी जस्ता आर्कषक गन्तव्य छन् । सप्तकोशी, अरुण, बरुण, तमोर, माई, कावेली जस्ता नदी निक्कै महत्पूर्ण छन् ।
यहाँको हावापानी उत्कृष्ट छ । चाहे झापादेखि इलाम उक्लिने हो भने वा धरानदेखि भेडेटार उक्लिदा फरक–फरक हावापानी पाइन्छ । सुन्दर ठाउँ आसपासको जनजीवन, अन्य गन्तव्य निक्कै महत्वपूर्ण छन् । क्रस बोर्डर टुरिजमका लागि महत्वका स्थान छन् । खासगरी भारतसँग सिमा जोडिएका क्षेत्रका क्रस् बोर्डर टुरिजम फस्टाउन सक्छ ।
धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वपूर्ण
विविधतायुक्त समाज भएकाले यहाँ अनेकन संस्कृति पाइन्छ । साँस्कृतिक समिश्रण यहाँका सम्पत्ति हुन् । यिनिहरूलाई हस्तान्तरण गर्दै लैजान आवश्यक छ । धार्मिक सम्पदा उत्तिकै महत्वपूर्ण छन् । विभिन्न आस्था अनुसार धार्मिक स्थल छन् । ऐतिहासिक स्थल उत्तिकै छन् । जसले इतिहास बुझाउन र खोज अनुसन्धानका लागि सहयोगी बन्छ ।
विभिन्न जातजातिमा आधारित नृत्य, खानपानले पर्यटक लोभ्याउछन् । पर्यटकको स्वागतका लागि पनि यी साँस्कृतिक सम्पदा महत्वपूर्ण मानिन्छन् ।
मुकुम्लुङ÷पाथीभरा, हलेसी, चतरा÷बराहक्षेत्र धाम, सताक्षीधाम, अर्जुनधारा जलेश्वर, माङ्सेबुङ, सिलौटी, लोब्रेकुटि, माङ्मालुङ, सेहोöनाम्लाङ, अगेजुङ गुम्बा, कुम्मायक कुसायक, सुम्हात्लुङ, हिलिहाङ दरबार, गुप्तेश्वर महादेव, दिकि छ्योलिङ गुम्बा, विराट राजाको दरबार, रामधुनी, विजयपुर क्षेत्र, विष्णुपादुका, छिन्ताङ जल्पादेवी, हतुवागढि, टक्सार, सिल्पासिलिचुङ, चोöलुङ पार्क, उदयपुर गडी, तुवाचुङ, मजुवा कालिका भगवती, साप्सुधाप, जन्तेढुङ्गा, चम्पादेवी लगायतका महत्वपूर्ण धार्मिक, ऐतिहासिक स्थल छन् ।
यहाँका धार्मिक तथा ऐतिहासिक स्थल र अनेकन साँस्कृतिक सम्पदाले पर्यटन प्रबद्र्धन गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन् । यहाँ मनाइने चाडपर्व पनि उत्तिकै महत्वपूर्ण छन् ।
ग्रामीण पर्यटन, होमस्टे
हाम्रोमा प्रर्वद्धन गर्नुपर्ने महत्वपूर्ण क्षेत्र ग्रामीण पर्यटन हो । यो आन्तरिक र भारतीय पर्यटकका लागि महत्वपूर्ण रहन्छ । गाँउहरू, हिमाल देखिने ठाउँ, हरियाली वा सहरभन्दा परका बस्तीमा यस्तो प्रबद्र्धन गर्न सकिन्छ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेको उत्तिकै महत्व छ । पाँचथरको उच्च पहाडी क्षेत्रमा गोठस्टे पनि सञ्चालन गरिदै छन् ।
पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने फालोट क्षेत्र र त्यहाँबाट देखिएको हिमश्रृङ्खला ।
मान्छेलाई सहरको भिडभाड भन्दा शान्त गाउँ प्रिय लाग्छ । हाम्रा गाउँहरू परम्परा झल्काउने छन् । यहाँको कृषि, अनेकन खानपान, स्थानीय उत्पादनमा आधारित रहेर ग्रामीण पर्यटन प्रबद्र्धन गर्न सकिन्छ । हाम्रै आफ्नै कला, संस्कृति छन् । घर बनाउने तरिका, पकाएर खाने तरिका । यी तरिका पनि सहरका बासिन्दाका लागि महत्वपूर्ण हुन्छ । फुत्त गाउँ निस्किएर रमाउने ठाउँ आवश्यक छ । यसका लागि ग्रामीण क्षेत्रमा राम्रा होमस्टे आवश्यक छ ।
प्रचार प्रसार, गन्तव्यको वर्गीकरण
माथि उल्लेख भएका भन्दा धेरै गन्तव्य र सम्पदा कोशी प्रदेशमा छन् । यिनिहरूको प्रचारको अभाव रहेको छ । यसका लागि प्रभावकारी प्रचारप्रसार आवश्यक छ । पर्यटन क्षेत्रमा लागेकाहरूले यसमा गम्भीरतापूर्वक काम गरेको देखिदैन ।
भिडियो, फोटो, भ्लगका माध्यमबाट प्रचार गर्न सकिन्छ । गन्तव्यहरूको ब्रोसर, लाग्ने समयदेखि खानपानको प्रबन्धसम्म प्रचार गर्न आवश्यक छ । यसका लागि आमसञ्चार, सोसियल मिडियालाई व्यापक प्रयोग गर्न सकिन्छ ।
हाम्रो पर्यटन गन्जागोलमा फसिरहेको छ । कुन गन्तव्य कसका लागि हो भन्ने वर्गीकरण आवश्यक छ । तेश्रो मुलुकका पर्यटक हिमाल, रेड पाण्डा, हात्ति हेर्न, रिसर्च गर्न बढि नेपाल आउछन् । तर गाउँहरू, डाँडाहरू घुम्ने आन्तरिक पर्यटकले हो । भारतीय पर्यटक पनि तराईदेखि पहाडसम्म आइपुगेका हुन्छन् । कुन ठाउँ कसका लागि हो भन्ने यकिन गरी सोही अनुसारको पूर्वाधार विकास तथा अन्य प्रचारात्मक काम गर्नु आवश्यक छ ।
पूर्वाधारनै मुख्य समस्या
कोशी प्रदेशमा अनेकन सम्भावना भए पनि पूर्वाधारको समस्या रहेको छ । गत बर्ष असोजमा (२०८१) सगरमाथा बेस क्याम्प जाने बाटो हिलाम्मे थियो । दुधकोसीको ओरानघाटमा पुल नभएपछि वारिका गाडीले वारि र पारिका गाडीले पारि पर्यटक ओसार्दै थिए । पैँया भन्ने ठाउँसम्म पुग्न नै समस्या थियो । मौसमको खराबीका कारण हवाई यात्रा अवरुद्ध भएपछि विदेशीहरू यहीँ बाटोमा यात्रामा थिए । बाटो हिलाम्मे थियो । निक्कै सकस देखिन्थ्यो ।
मकालु बेसक्याम्प पदयात्रामा पनि उस्तै छ । नुमसम्म जाने बाटो नै अप्ठ्यारो छ । त्यो भन्दा माथि निकुञ्जका कारण राम्रो पदमार्ग र बासस्थान बनाउन नसकिएको जनप्रतिनिधिको गुनासो छ ।
कञ्चनजंघा पदमार्गमा ठाउँ ठाउँमा बाटोको समस्या छ । कञ्चनजंघा संरक्षण परिषद्ले मात्र बनाउन सक्ने अवस्था देखिदैन । यी मूख्य गन्तव्यका समस्या हुन् । तर कोशीका प्रायः गन्तव्यमा पुग्न समस्या छ । पदयात्रादेखि गाडीमा यात्रा गर्न निक्कै कठिन हुने गरेको छ ।
ताप्लेजुङ–पाँचथर सिमावर्ती इवानागी तिम्बुङ पोखरी क्षेत्रमा पाइने केन्जो (पदमचाल) ।
प्रदेश सरकारले वि.सं. २०८२ साललाई पर्यटन भ्रमण वर्ष घोषणा गरेको छ । तर प्रभावकारी कार्यान्वयनको छनक देखिएको छैन भने यो वर्षलाई पनि पूर्वाधारकै असर पर्ने देखिन्छ । सडक, पुल, ट्रेकिङ ट्रेल, वर्षामा बिग्रिने संरचनाको समयमा मर्मत नहुने, वासस्थान, सूचना प्रविधि, स्वास्थ्य उपचार, सुरक्षा, सहायक संरचनाको अभाव देखिन्छ । भएका काम धेरै जसो वातावरण मैत्री छैनन् ।
साना साना ठाउँमा पर्यटन प्रबद्र्धन भन्दै बजेट खन्याईएको छ । पोखरी, कुवामा सिमेन्ट हालिदै छ । सिडिमार्ग भन्दै कङ्क्रिट भरिदै छ । वातावरण अनुकुलको विकास देखिदैन । बजेट छर्ने नाममा भएका कामले सहि उपलब्धि निस्कन सकेको देखिदैन । होटलको सेवा, राम्रा गाइड तथा यात्राका लागि पर्याप्त पदप्रर्दशनको अभाव छ ।
प्रदेशले पर्यटनको माध्यमबाट लाभ हाँसिल गर्नका लागि पूर्वाधार विकासमा जोड, वातावरणमैत्री विकास, प्रचारात्मक काम, प्याकेज निर्माणमा विशेष जोड दिन आवश्यक छ । गुणात्मक पर्यटक भित्र्याउनका लागि प्रदेश सरकार र यहाँका स्थानीय तहले विशेष भूमिका खेल्न आवश्यक छ । ०




