– चन्द्रवीर तुम्बापो
त्यसैबेला देखि
रुन पनि बिर्सेको हुँ
एक्लो मनलाई पछ्याउँदै आउने आँसुहरु
तिम्रो ओठमा चम्किरहेको गुलाफले चुमेपछि
कसरी खरानी उठ्यो र कसरी सुकिगए
मुस्किलले आफैंबाट बचाएर राखेको
केही हरियाली पनि
बालुवाले पुर्याइदियो कुन मरुभूमि
त्यसैबेला देखि
हाँस्न पनि बिर्सेको हुँ
हाँस्न बिर्सेको हुँ
मेरो वर्तमानमाथि ज्वालामुखी कुल्चन आइपुग्दा
जोगिन जब टाकुरा उक्लिएँ
ठिक त्यसैबेला विश्वासको जुन पनि
धारिलो हसियाँ भएर
मेरो गर्धनमा थपक्क ओर्लियो
त्यसैबेला देखि
मैंले जीवनको नाममा बाँच्न समेत बिर्सेको हुँ
बाँच्न समेत बिर्सेको हुँ
घामको तेजाबले
आफ्नो उचाइ, आकार र फैलावट जलिसकेपछि
सुक्दैसुक्दै गएर
ढल्नलाई आँधीको अन्तिम पर्खाइमा
उभिएको त्यो उजाड रुख जब देखें
हो त्यहीँबेला देखि
मानिसहरुको भिडमा ओर्लेर
आँसु र मुस्कान खोज्दै रुन थालेको हुँ
त्यहीँबेला देखि
पालाम् र हाक्पेर खोज्न
मेलाहाट निस्किन थालेको हुँ फेरि
मानिसहरुको भिडमा बाँच्न थालेको हुँ फेरि ।०