Advertisement Ad

Advertisement Ad

अन्तर्राष्ट्रिय याक्थुङ् सिने अवार्ड २०८२ : उत्कृष्ट लघु चलचित्र निर्देशक बने सागर केरुङ

काठमाडौँ : नेपाली आदिवासी चलचित्र क्षेत्रका सशक्त हस्ताक्षर, चलचित्र लेखक तथा निर्देशक सागर केरुङ ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ बाट सम्मानित भएका छन्। धरानमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय याक्थुङ् सिने अवार्ड २०८२’ समारोहमा याक्थुङ् चलचित्रकर्मी संघद्वारा आयोजित विशेष कार्यक्रममा उनको निर्देशनमा बनेको लघु चलचित्र तङ्सिङ्’ का लागि उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।

दुई दशकभन्दा बढी समयदेखि निरन्तर चलचित्र लेखन, निर्देशन तथा निर्माणमा सक्रिय रहँदै आएका केरुङ लिम्बू भाषाका प्रभावशाली र प्रतिबद्ध चलचित्रकर्मीका रूपमा स्थापित छन्। उनले निर्माण गरेका चलचित्रहरू केवल मनोरञ्जनमा सीमित नभई जातीय पहिचान, भाषा, संस्कृति, सामुदायिक चेतना र ऐतिहासिक स्मृतिलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने सशक्त माध्यम बनेका छन्। यही कारण उनी नेपाली आदिवासी चलचित्र आन्दोलनका अग्रणी व्यक्तित्वमध्ये एकका रूपमा चिनिन्छन्।

केरुङले हालसम्म के’, ‘पुङसाम’, ‘चे’, ‘तङ्सिङ्’, ‘तुम्याहाङ्’, ‘के–२’ लगायत दर्जनौँ लिम्बू भाषाका चलचित्र निर्माण तथा निर्देशन गरिसकेका छन्। उनका चलचित्रहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न चलचित्र महोत्सव र अवार्ड समारोहहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्। विशेषगरी उनको निर्देशनमा बनेको चलचित्र चे’ हाल हङकङ, दक्षिण कोरिया, युएइ, साउदी अरब, युनाइटेड किङडम, अमेरिका तथा युरोपका विभिन्न देशहरूमा विशेष प्रदर्शन भइरहेको छ, जसले लिम्बू भाषा र आदिवासी कथावस्तुलाई विश्वमञ्चमा पुर्‍याउने महत्वपूर्ण भूमिका खेलेको छ।

सागर केरुङले हालसम्म दुई दर्जनभन्दा बढी चलचित्रको स्क्रिप्ट लेखिसकेका छन्। उनका स्क्रिप्टहरू आदिवासी जीवनशैली, आध्यात्मिकता, सामाजिक यथार्थ र सांस्कृतिक संघर्षलाई गहिरो संवेदनशीलता र सन्देशमूलक शैलीमा प्रस्तुत गर्ने विशेषताका कारण चर्चित छन्। साथै उनले पाँच दर्जनभन्दा बढी लिम्बू तथा नेपाली गीतहरूको लेखन, सङ्गीत संयोजन र म्युजिक भिडियो निर्देशनसमेत गरिसकेका छन्।

साहित्यिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन्। उनका नुमाहाङमा’, ‘केमाबा लाजे’, ‘दोश्रो नागरिक’, ‘सैमुन्द्री’, ‘पासी भन्ज्याङ’, ‘साक्थिम’, ‘तियाहा’ लगायतका नाटक तथा याक्थुङ आबुसाम्लो’, ‘सक्सा नु पेन्युक’, ‘मुन्चइत–हेन्जिला परीक नु मुक्सिहा’, याक्थुङ पाङ-पाङवाइला जस्ता कृतिहरू प्रकाशित भइसकेका छन्, जसलाई नेपाल र सिक्किममा बीए तथा एमए तहमा अध्यापनसमेत गरिन्छ।

गत वर्ष मात्रै केरुङ चलचित्र विकास बोर्डद्वारा प्रदान गरिने विशेष चलचित्र सम्मान तथा नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवबाट उत्कृष्ट निर्देशक अवार्डबाट सम्मानित भएका थिए। ‘तङ्सिङ्’ मार्फत प्राप्त हालको अवार्डले उनको सिर्जनात्मक यात्रालाई थप उचाइ दिएको छ। भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर समर्पित सागर केरुङ आज नेपाली आदिवासी चलचित्र क्षेत्रको एक प्रेरणादायी र अग्रणी नामका रूपमा स्थापित हुँदै गएका छन्।