३० साउन २०८२, पाँचथर। लिम्बू चलचित्रकर्मीहरुको संस्था याक्थुङ मुन्चइत् चोक सयङको १६ औं स्थापना दिवस शुक्रबार पाँचथरमा पनि मनाइएको छ।
याक्थुङ मुन्चइत् चोक सयङ, जिल्ला कार्य समिति, पाँचथरको आयोजनामा फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा दिवस मनाइएको हो। दिवसको अवसरमा शुभकामना आदान–प्रदान एवम् याक्थुङ मुन्चइत् चोक सयङ, नेवा ताम्सालिङ प्रदेश समितिको प्रकाशन एवम् संघीय समितिको संयोजनमा प्रकाशित ‘मुन्चइत्’ स्मारिकाको चर्चा गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि, किरात याक्थुङ चुम्लुङ, पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङले १६ औं स्थापना दिवसको शुभकामना दिँदै याक्थुङ (लिम्बू)जातिको सभ्यता, संस्कृति र इतिहास आदि विषयमा गुणस्तरीय याक्थुङ (लिम्बू) चलचित्रहरु निर्माण हुनुपर्ने विचार व्यक्त गरे। कार्यक्रमका याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगु, नेपाल पत्रकार महासंघ, पाँचथरका अध्यक्ष भीम बाँस्कोटा लगायतले शुभकामना दिएका थिए।
त्यस्तै ‘मुन्चइत्’ स्मारिकामाथि बुद्धराज लिम्बूले समीक्षात्मक टिप्पणी राखेका थिए। उनले सयङको स्थपनाकालदेखि हालः सम्मका गतिबिधि साथै याक्थुङ (लिम्बू)चलचित्र, चलचित्र निर्माण–क्रम, अन्य गतिविधि साथै चलचित्र सम्बन्धी महत्वपूर्ण लेखहरु समावेश गरिएको ‘मुन्चइत्’ स्मारिका ऐतिहासिक र महत्वपूर्ण दस्तावेजको रुपमा आएको बताए।
कार्यक्रम याक्थुङ मुन्चइत् चोक सयङ, पाँचथरका अध्यक्ष फुङ्सो जबेगुको अध्यक्षतामा सम्पन्न भएको सचिव रजनी हाङसरुम्बाले बताइन्। शुक्रबार सयङको संघीय कार्य समितिको आयोजनामा संघीय राजधानी काठमाडौं उपत्यकासँगै अन्य विभिन्न स्थानहरुमा पनि विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको सयङका संघीय कार्य समिति अध्यक्ष सागर केरुङले बताए।