१ भदौ २०८२, पाँचथर। याक्थुङ युवा मञ्च सुनसरीको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले विष्णु तिगेलाको अध्यक्षतामा १०३ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।
नव निर्वाचित जिल्ला कार्य समितिको उपाध्यक्षमा टीका चेम्जोङ र टाइचिङ लिम्बू, सचिव गंगा योङहाङ लिम्बू र कोषाध्यक्षमा होम लिम्बू चयन भएका छन् । सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, याक्थुङ युवा मञ्चका संघीय अध्यक्ष राजेन्द्र इधिङ्गो लिम्बूले गरेका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथि इधिङ्गा सँगै किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा.कमल तिगेला, संघीय सदस्य दिलु सुब्बा, कियाचु सुनसरीका निवर्तमान अध्यक्ष मोहन हुक्पा चोङबाङ, पहिचानवादी नेता अमर इजम, वरिष्ठ पत्रकार हर्ष सुब्बा र अधिवक्ता सागर सरगम चेम्जोङ लगायतले शुभकामना सहित आ–आफ्नो भनाई राखेका थिए ।
याक्थुङ युवा मञ्चले विभिन्न जिल्लाहरुको अधिवेशन तिव्र रुपमा गरिरहेको संघीय महासचिव मन कुमार आङदेम्बेले बताए ।
