Advertisement Ad

Advertisement Ad

तेह्रथुमको आठराई–६ चुहानडाँडामा चासोक तङ्नाम मनाइयो

१५ मंसिर २०८२, तेह्रथुम। जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडामा चासोक तङ्नाम २०८२ को अवसरमा तक्सोःक् थिसोःक् तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

मौलिक संस्कृतिको संरक्षणमा सक्रिय याक्थुङ तङ्नाम संरक्षण समिति, आठराई, तेह्रथुमको आयोजनामा चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। सोमबार बिहान परम्परागत विधि अनुसार तक्सोःक् थिसोःक् गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो।

दिउँसो आयोजित औपचारिक कार्यक्रमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, म्याङलुङ नगरपालिका तेह्रथुमका नगर प्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले गरेका थिए। कार्यक्रममा पक्लुङ् (छेलो हान्ने) र केलाःङ् प्रतियोगिता गरिएको थियो।

त्यस्तै धान नाच, साकेला नाच, संगिनी नाच, झाँक्रि नाच, तामाङ सेलो जस्ता मौलिक साँस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो। मौलिक संस्कृतिको संरक्षण र यसलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ। सो अवसरमा तारा बहादुर कन्दङवा द्वारा लिखित ‘कृषि क्रान्तिको प्रतीकः उधौली पर्व र अरु लेखहरु’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो।

कार्यक्रममा लोकप्रिय गायक कुशल थलङ र गायक सुमन सानु कुरुम्बाङ लगायत कलाकारहरुको प्रस्तुती पनि रहेको थियो। कार्यक्रम याक्थुङ तङ्नाम संरक्षण समितिका अध्यक्ष तारा बहादुर कन्दङ्वाको अध्यक्षतामा सम्पन्न भएको समितिका महासचिव रुपा कन्दङ्वाले बताइन्।

समितिले गत वर्ष पनि यहीँ स्थानमा भव्य रुपले चासोक तङ्नाम मनाएको थियो।