०२ डिसेम्बर २०२५ दक्षिण कोरिया
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया याक्थुङ (लिम्बू)हरुको महान पर्व चासोक तङनाम मनाउने तयारीमा जुटेको छ ।
‘हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौऔं’ भन्ने नाराकासाथ कियाचु दक्षिण कोरियाले सदाझैं येले तङबे ५०८५ (वि.सं.२०८२) को चासोक तङनाम शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।
दक्षिण कोरियाको सउलमा डिसेम्बर ०७ तारिख आइतबार केन्द्रले मनाउने र अन्य शाखाहरुमा क्रमशः जेजुदो शाखामा २०२५ डिसेम्बर १३ तारिख शनिबार साँझ, बुसान डिसेम्बर २१ तारिख र छल्लानाम्दोमा डिसेम्बर २८ तारिखमा कार्यक्रम गर्ने तयारी रहेको छ ।
विधिवत रुपमा चासोक थिसोक पुजा, शुभकामना आदान प्रदानसँगै याक्थुङ कलाकारहरु पेपराज माबुहाङ, मिथुन तुम्बापो, भीम सागर मादेम्बा, ईन्द्र सम्बाहाम्फे र गायिका मन्दिरा नेम्बाङको साथमा साँस्कृतिक कार्यक्रम हुने कियाचु दक्षिण कोरिया केन्द्रका अध्यक्ष बिनोद सौदेनले बताए ।
विगतको बर्षहरुझैं यस बर्ष पनि आफ्नो भाषा, संस्कृति, कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरू वम्युक, कोदोको जाड (थिः), याङ्बेन, सेलरोटी, फाक्सा (सुँगुरको मासु), चाम्रे लगायत मौलिक खानपिन सहित केलाःङ् (च्याब्रुङ नाच), हाक्पारे, ख्यालि, पालाम, या?लाङ् (धान नाच) प्रस्तुत गरिनेछ ।
दक्षिण कोरियामा रहेका याक्थुङ (लिम्बू) समुदाय तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुलाई समेत कार्यक्रममा सहभागि भइदिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका आयोजकले आग्रह संगै निमन्त्रणा गरेको छ ।

