फिदिम : दुई प्रभावशाली सांसदको दर्बिलो साथ पाएपछि नेपाली कम्युनिष्ट पार्टी पाँचथरका प्रतिनिधिसभा उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ को चुनावी अभियान थप सशक्त बनेको छ। पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं हालका सांसद इन्द्रबहादुर आङ्बो मौसम र पूर्व भौतिक पूर्वाधार मन्त्री एवं बहालवाला सांसद कमलप्रसाद जबेगु दुबै जना मिक्सोको पक्षमा सक्रिय रूपमा मैदानमा उत्रिएका छन् । जबेगु पाँचथर क्षेत्र ‘क’ बाट र आङ्बो क्षेत्र ‘ख’ बाट निर्वाचित सांसद हुन् । जेन्जी आन्दोलनपछि पुराना शक्तिहरूको संगठनात्मक आधार कमजोर बन्दै गएको अवस्थामा नेकपा भने निर्धक्क रूपमा गाउँगाउँमा मतदातासमक्ष पुग्न थालेको छ। पाँचथरमा स्व. पदमसुन्दर लावतीपछि विकासवादी नेताका रूपमा परिचित मौसम आङ्बोले प्रदेश सरकारमा चार वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा जिल्लाको विकासमा उल्लेखनीय छलाङ मारेका कारण उनी जनताको मनमुटुमा बस्न सफल भएका छन् । सोही विश्वास र लोकप्रियताको जगमा उनले आफ्नो पार्टीका उम्मेदवार मिक्सोलाई विजयी गराउन कम्मर कसेर लागेका छन् ।
त्यस्तै, माथिल्लो क्षेत्र ‘क’ मा प्रभावशाली पकड बनाएका सांसद जबेगुको साथ पनि मिक्सोका लागि ठूलो राजनीतिक शक्ति बनेको छ। उम्मेदवार मिक्सो आफैं पनि सोही क्षेत्रका स्थायी बासिन्दा हुन्, पार्टीको प्रदेश नेतृत्वसमेत गरेका अनुभवी, निष्ठावान र गौरव गर्न लायक नेता हुनुका कारण उनको पक्षमा देश-विदेश तथा जिल्लाभित्र व्यापक जनलहर उर्लिएको आङ्बोले बताएका छन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा स्वकीय सचिवको रूपमा काम गर्दा तमोर करिडोर अन्तर्गत करिब ६ अर्ब रुपैयाँ बराबरका योजना पाँचथरमा ल्याउन सफल भएकै कारण मिक्सो जिल्लामा चिनिएका र विश्वास गरिएका नेता हुन्। यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टी, उज्यालो नेपाल-राष्ट्रिय परिवर्तन, रास्वपा लगायत नयाँ शक्तिहरूले दुई ठूला भनिएका दललाई कडा चुनौती दिएपछि तेस्रो दलका रूपमा रहेको नेकपाका उम्मेदवार मिक्सोलाई लाभ पुग्ने आकलन गरिएको एक नेताले बताए ।
मिक्सोको व्यक्तिगत लोकप्रियता, नेम्वाङ समुदायको आत्मीय माया, पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको उत्साह र पाँचथरका प्रभावशाली नेता मौसम आङ्बो तथा जबेगुको दर्बिलो साथले उनलाई छाती खोलेर आम नागरिकसमक्ष मत माग्न सजिलो बनेको छ। प्रदेश नेतृत्व, पार्टी पंक्ति तथा जनवर्गीय संगठनहरू समेत एकजुट भएर मिक्सोलाई अगाडी बढाउने अभियानमा डटेर लागेको प्राचर प्रसार साथै सकारात्मक सन्देश गाउँ-बस्ती हुँदै देश-प्रदेश र पाँचथरभर फैलँदै गएको छ। यसले पाँचथरमा मिक्सो पाँचथरे जनताको भरोसाको उम्मेदवार बन्दै गएको संकेत गरेको नेकपा जिल्ला इन्चार्ज सीता थेबे बताउँछिन् ।
पुराना दुई ठूला दलको गठबन्धन सरकारले गरेका कामबाट निराश बनेका कार्यकर्ताहरू अहिले मिक्सोलाई साथ दिने तयारीमा देखिएका छन्। यसअघि ती दलले पाएको मत अब कागजी अंकमै सीमित हुने संकेत देखिएको छ। जेन्जी आन्दोलनपछि जन्मिएका नयाँ दलहरूमा ती दुई दलका धेरै कार्यकर्ता प्रवेश गरिसकेका छन्। त्यसैले नयाँ दलहरूले पनि नेकपालाई नकारात्मक नजरले नहेरेको र मिक्सोप्रति सकारात्मक माहोल बनेको उनले बताइन्। प्रदेशसभा सांसद आङ्बो र जबेगुको बलियो साथपछि मिक्सोको चुनावी यात्रामा नयाँ ऊर्जा थपिएको छ ।
Advertisement
