Advertisement Ad

चुलाचुली–१ का वडाअध्यक्ष लाओती सहित थप ६ जना पहिचान पक्षधर आन्दोलनकारी पक्राउ

Advertisement Ad

३० मंसिर २०८०, पाँचथर। कोशी प्रदेशमा यातायात बन्द गराउदै हिंड्ने थप ६ जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का जननिर्वाचित वडाअध्यक्ष ध्रुव लाओती समेत छन्। लाओतीलाई झापाको केर्खाबाट प्रहरीले पक्राउ गरेको हो। अन्य ५ जना भने सुनसरीको धरानबाट पक्राउ परेका हुन्।

पक्राउ परेका पहिचानवादी नेता तथा अभियन्ताहरुलाई बिना सर्त रिहाको माग गर्दै प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मंसिर ३० गते र पुष १ गते कोशी प्रदेशमा यातायात बन्दको आह्वान गरेको छ।

बन्दका कारण पहाडी जिल्लामा यातायात अवागमन प्रभावित भएको छ भने तराईंका जिल्लामा आंशिक प्रभाव परेको छ। बन्दले सामान्य प्रभाव पारेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा निस्किएका बन्दकर्तालाई हटाइ यातायात सूचारु गरेको प्रहरी प्रवक्ता कंडेलको भनाई छ। यद्यपी, पहाडि जिल्लाहरुमा भने सामान्य अवस्थामाभन्दा न्यून मात्रामा मात्र सवारी साधन चलेको पाइएको छ।

नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई अवरोध पुर्याउन खोज्ने ३२ जनालाई प्रहरीले यसअघि पक्राउ गरेर थुनामा राखेको छ। पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किराती सहित छन्।

उनीहरुलाई बिनासर्त छोड्नुपर्ने माग राख्दै प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मंसिर ३० र पुष १ गते कोशी प्रदेशमा यातायात बन्दको आह्वान गरेको हो।

उता नेकपा एमालेको संकल्प यात्रा भने आज पाँचथरको फिदिममा सन्देश सभाको आयोजना गर्दै भोलि मध्यपहाडि लोकमार्गको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ।