Advertisement Ad

एमाले केन्द्रीय सदस्य नेम्बाङले भने– बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर छलफलमा आउनुस

Advertisement Ad

२९ मंसिर २०८०, पाँचथर। नेकपा एमालेका केन्द्रीय सदस्य वसन्त कुमार नेम्बाङले आन्दोलनरत पहिचान पक्षधरलाई बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर आफ्ना मागको सम्बन्धमा छलफलमा आउन आग्रह गरेका छन्।

शुक्रबार फिदिममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य नेम्बाङले प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई छलफल र संवादमा आउन आग्रह गरेका हुन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कुनै समूह, दल, संघ–संस्थाका बिरुद्ध नभई विद्यमान समस्या पहिचान र समाधानका उपाय खोज्ने प्रयासका लागि भएको नेम्बाङले स्पष्ट पारे।

पुष १४ गतेदेखि सुरु भएको संकल्प यात्रा कोशी प्रदेशमा प्रवेश गरेपछि अभियानलाई रोक्ने मनसायले पहिचान पक्षधरले बन्द र हड्तालका कार्यक्रम घोषणा गर्दा समाज विभाजनको दिशातर्फ उन्मुख भएको भन्दै नेम्बाङले चिन्ता व्यक्त गरे। पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रक्रिया मार्फत् प्रदेशको पुनः नामाङ्कन गर्न आग्रह गरेको प्रशंग स्मरण गराउदै नेम्बाङले यात्राकै क्रममा नेकपा एमाले यो विषयमा छलफल गर्न तयार रहेको पनि बताए।

अवरोधका बावजुद पनि संकल्प यात्रा सफल हुने विन्दुमा पुग्न लागेको बताउदै प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले केन्द्रीय सदस्य नेम्बाङले मंसिर ३० गते पाँचथर सदुमुकाम फिदिममा आमसभापछि पुष १ गते चिवाभञ्ज्याङ पुगेर संकल्प यात्राको समापन हुने जानकारी दिए।

तस्विरः फायल फोटो