Advertisement Ad

सिमानापारि पुगेर मातृभाषामा उच्च शिक्षा

Advertisement Ad

सन्देश सुब्बा

१९ मंसिर २०८०, पाँचथर। याक्थुङ (लिम्बू) भाषामा आठवटा कृति प्रकाशित गरिसकेका सागर केरुङलाई आफ्नै मातृभाषामा उच्च शिक्षा हाँसिल गर्ने धोको थियो ।

तर, नेपालका कुनै पनि विश्वविद्यालयमा याक्थुङ (लिम्बू) भाषामा उच्च शिक्षा लिने व्यवस्था नहुँदा उनी निरास थिए। मातृभाषी अभियन्ता उनले मातृभाषा शिक्षाप्रतिको प्रेमकै कारण पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङस्थित सत्यहाङमा माध्यमिक विद्यालयबाट २०७६ मा याक्थुङ (लिम्बू) भाषामा कक्षा–१२ उतीर्ण गरे । फिदिम नगरपालिका–१० याङनामका उनी त्यसपछि मातृभाषाबाटै उच्च शिक्षा लिने बाटो खोज्दै भौतारिए ।

मातृभाषामै उच्च शिक्षा हाँसिल गर्ने हुटहुटीले उनलाई छिमेकी मुलुक भारतको सिक्किम राज्यस्थित सिक्किम अल्पाइन युनिभर्सिटीसम्म पुर्यायो । अहिले उनले त्यहिं युनिभर्सिटीबाट याक्थुङ (लिम्बू) भाषामा व्याचलर गर्दैछन् । अहिले व्याचलर चौंथो सेमेस्टरको विद्यार्थी रहेका सागर नेपालबाटै अनलाइन माध्यमबाट कक्षा लिन्छन् । सिक्किमको नाम्चिमा रहेको युनिभर्सिटीले व्याचलर पढ्ने नेपालीका लागि अनलाइन कक्षाको सुबिधा उपलब्ध गराएको छ । तर, डिग्री (स्नातकोत्तर तह) माभने यो सुबिधा छैन ।

पाँचथर मिक्लाजुङ गाउँपालिका–२, सराङ पाँचथरका लछामी शेर्मा पापो ६० बर्ष पुगे । उनी स्थानीय जालपादेवी आधारभूत विद्यालयका अवकाशप्राप्त प्रधानाध्यापक हुन् । उनले याक्थुङ (लिम्बू) भाषा, साहित्य र मुन्धुमको खोज, अनुसन्धामा तीन दशकभन्दा लामो समय बिताएका छन् । उनका याक्थुङ (लिम्बू) साहित्य, समालोचना र मुन्धुम सम्बन्धी आधा दर्जन गहन कृतिहरु प्रकाशित छन् । याक्थुङ (लिम्बू) साहित्य र मुन्धुमका ज्ञाता शेर्मालाई पनि मातृभाषामा उच्च शिक्षा लिने चाहनाले डो¥याएर सिक्किम अल्पाइन युनिभर्सिर्टी पुर्याएको छ ।

नाम्चिस्थित सिक्किम अल्पाइन युनिभर्सिटीको प्राङ्गणमा लिम्बू विभाग प्रमुख कर्णहाङ ताम्लिङका साथमा नेपाली विद्यार्थी ।

अहिले व्याचलर तेस्रो सेमेस्टरमा रहेका शेर्माले युवा पुस्तालाई उत्प्रेरित गर्न यो उमेरमा पनि मातृभाषाबाट उच्च शिक्षा लिइरहेको बताए । ‘याक्थुङ (लिम्बू) भाषा दिनानुदिन लोपोन्मुख अवस्थामा पुग्दैछ’ उनले भने ‘त्यसैले युवा पुस्तामा याक्थुङ (लिम्बू) भाषाप्रति मोह जगाउन, उनीहरुलाइर्् मातृभाषामा शिक्षा लिनका लागि उत्प्रेरित गराउन मैंले पनि पढिरहेको छु ।’ आफ्नै देशमा मातृभाषामा उच्च शिक्षा लिने वातावरण अझैसम्म नबन्दा बाध्य भएर सिक्किम पुग्नुपरेको शेर्मा बताउछन् ।

केरुङ र शेर्मासँगै सिक्किम अल्पाइन युनिभर्सिर्टीमा नेपालबाट गएका ३२ जनाले याक्थुङ (लिम्बू) भाषामा व्याचलर गरिरहेका छन् । सिक्किम अल्पाइन युनिभर्सिर्टी, लिम्बू विभाग प्रमुख कर्णहाङ ताम्लिङका अनुसार यस बर्षको व्याचलर पहिलो सेमेस्टरका लागि मात्र नेपालबाट पुगेका १३ जना भर्ना भएका छन् । बाँकि अन्य भने माथिल्लो विभिन्न सेमेस्टरमा अध्ययनरत छन् । उक्त युनिभर्सिर्टीमा याक्थुङ (लिम्बू) भाषामा व्याचलर गरिरहेका सबै जना लिम्बू समुदायको बाहूल्यता रहेको जिल्ला पाँचथरका हुन् ।

अल्पाइन युनिभर्सिर्टीमा व्याचलर पहिलो सेमेस्टरको पहिलो ६ महिना अनिवार्य विषयको रुपमा अंग्रेजी र बाँकि ६ महिना वातावरण सम्बन्धी पढ्नुपर्छ । त्यसपछि भने याक्थुङ (लिम्बू) मात्र पनि पढ्न पाइन्छ । पहिलो सेमेस्टरमा अनिवार्य विषय पढेर दोस्रो सेमेस्टरदेखि याक्थुङ (लिम्बू) मात्र पढिरहेको पाँचथर फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका एलबी नेम्बाङ बताउछन् । नेपालीमा स्नातकोत्तर गरिरहेका उनी सत्यहाङमा माध्यमिक विद्यालयको याक्थुङ (लिम्बू) भाषी शिक्षक पनि हुन् । ‘इच्छा अनुसार अरु पनि विषय पढ्न पाइन्छ’ उनले भने ‘तर, नेपालदेखि जाने अधिकांशले याक्थुङ (लिम्बू) मात्र पढिरहेका छन् ।’

सिक्किम अल्पाइन युनिभर्सिर्टी नीजि क्षेत्रबाट सञ्चालित हो । त्यो बाहेक सिक्किममा सेन्ट्रल युनिभर्सिर्टी र सिक्किम राज्य अन्तर्गतको कञ्चनजंघा युनिभर्सिटिमा पनि लिम्बू विभाग छ । अल्पाइन युनिभर्सिर्टीका लिम्बू विभाग प्रमुख ताम्लिङका अनुसार गभर्मेन्ट युनिभसिर्टीमा सिमित मात्र कोटा हुन्छ । एउटा सेमेस्टरमा २० जनाको कोटामा पनि सम्बन्धित देशकालाई पहिलो प्राथमिकता दिइन्छ । र, पढ्न चाहने विद्यार्थी पनि प्रशस्तै हुन्छन् । त्यसैले गभर्मेन्ट युनिभर्सिटीमा नेपालबाट गएकाले सिट पाउने सम्भावना खासै हुन्न भन्दा पनि हुन्छ । त्यसैले नेपालबाट जानेहरु सिक्किम अल्पाइन युनिभर्सिर्टी पुग्ने गरेका हुन् ।

नेपालबाट सक्किम अल्पाइन युनिभर्सिटीमा अध्ययनरत सागर केरुङ ।

सिक्किममा सन् १९६८ देखि याक्थुङ (लिम्बू) भाषाको पठनपाठन आरम्भ भएको हो । सन् २०११ को गणना अनुसार सिक्किममा लिम्बू जातिको जनसंख्या ६० हजार हो । हालः त्यो संख्या बढेर ८० हजारभन्दा माथि पुगेको अनुमान गरिन्छ । सिक्किममा हालः याक्थुङ (लिम्बू) भाषाबाट डिग्री (स्नातकोत्तर तह) सम्म औपचारिक शिक्षाको प्रवन्ध छ । सिक्किम मा विश्वविद्यालय स्तरमा याक्थुङ (लिम्बू) सँगै लेप्चा, भोटिया, नेपाली, बङ्गाली, हिन्दी र अंग्रेजी भाषाको पठनपाठन हुन्छ । विद्यालयस्तरमा राई, शेर्पा, तामाङ, गुरुङ लगायतका मातृभाषामा पनि पठनपाठन हुन्छ ।

आन्दोलनको रुपमा लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड
नेपालमा मातृभाषा र मातृभाषा शिक्षाका लागि धेरै प्रयास र तगिबिधि हुने जिल्ला हो, पाँचथर । पाँचथरका याक्थुङ (लिम्बू) भाषाकाअभियन्ता र शिक्षासेवीले वि.सं.२०६६ मा आन्दोलनकै रुपमा लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड स्थापना गरे ।

यसको मूख्य उद्धेश्य तत्कालीन समयको उच्च माध्यमिक तह (हालको कक्षा ११ र १२ ) मा याक्थुङ (लिम्बू) भाषा पठनपाठन गर्नु, गराउनु थियो । यो बोर्डले राज्यस्तरबाट मान्यता पाइसकेको छैन । तर, यहिं बोर्डले सर्वप्रथम पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, स्थित सत्यहाङमा माध्यमिक विद्यालय इम्बुङमा २०६७ देखि कक्षा ११ मा त्यसपछि क्रमशः कक्षा १२ मा याक्थुङ (लिम्बू) भाषाको पठनपाठन सुर गरी हालसम्म सञ्चालनमा छ ।

बोर्ड अन्तर्गत याक्थुङ (लिम्बू ) भाषामा कक्षा–१२ उतीर्ण गरेकाको ‘मार्क सिट’ लाई राष्ट्रिय परिक्षा बोर्डबाट समानीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईसँग दुईपटक संवाद गरिसकेको बोर्ड संयोजक मलिसा याक्थुङबा लिम्बूले बताए । त्यस्तै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्क्रम प्रारुपमा समावेश गरी लिम्बू भाषाको कोड नं.प्राप्तीको लागि समेत पहल भइरहेको उनले बताए ।

अहिले बोर्ड अन्तर्गत ४ जिल्लाका ६ विद्यालयमा कक्षा ११ र १२ मा याक्थुङ (लिम्बू) भाषा पठनपाठन भइरहेको बोर्डका परिक्षा नियन्त्रक तथा सत्यहाङमा माध्यमिक विद्यालयका प्रधानाध्यापक पृथीप्रसाद नेम्बाङले बताए । बोर्ड अन्तर्गत पाँचथरको सत्यहाङमा माध्यमिक विद्यालयसँगै पृथ्वी माध्यमिक विद्यालय कुम्मायक–१ यासोक, खलङ्गाटार माध्यमिक विद्यालय फिदिम–१० याङनाम, इलामको सरस्वती माध्यमिक विद्यालय माङसेबुङ–५ भालुटार, ताप्लेजुङको सिँवा माध्यमिक विद्यालय फक्ताङलुङ–३ लिङखिम र मोरङको सरस्वती माध्यमिक विद्यालय केराबारी–१ पाटीगाउँमा कक्षा ११ र १२ मा याक्थुङ (लिम्बू) भाषा पठनपाठन हुँदै आएको छ ।

यहिं बोर्ड अन्तर्गत कक्षा ११ र १२ उतीर्ण गरेकाहरुलाई सिक्किम अल्पाइन युनिभर्सिर्टीले उच्च शिक्षाका लागि अवशर प्रदान गरेको हो ।