Advertisement Ad

हस्तमैथुनः भ्रम कतिपय

Advertisement Ad

डा.ऋत पौडेल

अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन्।’

तर, यो ठट्टामा कुनै सत्यता छैन। सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन। सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा कसैले पनि स्विकार्न चाहँदैनन्।

अहिले यौन खेलौनाको बजार जसरी विस्तार हुँदै गएको छ, त्यसले हस्तमैथुन जस्ता क्रियालाई अरु सहज बनाइदिएको छ। हस्तमैथुन पुरुष र महिला दुबैले गर्ने भएपनि तुलनात्मक रुपमा पुरुष यसमा बढी सक्रिय रहेको पाइन्छ।

यो नितान्त व्यक्तिगत क्रिया हो। त्यसैले हस्तमैथुन सामान्य भएपनि सार्वजनिक स्थानमा यस्तो क्रिया गर्नु गैरकानुनी मानिन्छ।

हस्तमैथुनलाई सामान्य रुपमा नलिइने र खुला रुपमा चर्चा नगरिने हुँदा यसबारे मान्छेमा कतिपय द्विविधा छ। हस्तमैथुन गर्नेमध्ये कतिमा यसले अपराधबोध पैदा गरेको छ भने कतिमा ग्लानीभाव। ‘हस्तमैथुन गर्नु राम्रो होइन’ भन्ने मनोविज्ञानले गर्दा मान्छेलाई भित्रभित्रै हीनताबोध गराइदिएको छ।

हस्तमैथुन गरेपछि उनीहरुमा केही नराम्रो काम पो गरे कि भन्ने भावनाले ग्रस्त बनाइरहन सक्छ। यही कारण उनीहरुको भावनात्मक विकासमा असर पर्न सक्छ। आत्ममनोबल कमजोर हुनसक्छ।

हस्तमैथुन गर्नु प्राकृतिक क्रिया हो वा होइन ?

यसमा मान्छे अनुसार फरक फरक धारणा पाइन्छ। कसैले यसलाई अप्राकृतिक मान्छन् भने कतिले स्वभाविक प्रक्रियाको रुपमा। यद्यपि आम मान्छेले यसलाई असामन्य मान्दैनन्। तर, यो गर्दा फाइदा वा हानि हुन्छ भन्ने कुरामा चाहिँ सबैजना स्पष्ट छैनन्।

यसले हानि गर्छ वा फाइदा ?
यसले फाइदा वा बेफाइदा गर्ने भन्दा पनि मान्छेमा भएको यौन इच्छा शान्त गर्ने प्रक्रियाको रुपमा बुझ्नुपर्छ।

हस्तमैथुनको हानि र फाइदा दुबै पक्ष छन्। हस्तमैथुनले स्वास्थ्यमा हानि गरेको पाइएको छैन। तर, यसले मनोविज्ञानमा भने असर गर्न सक्छ।

मान्छेमा स्वभाविक रुपमा यौन इच्छा जाग्छ। यसलाई कतिले दबाएर राख्न सक्छन्, कतिले प्रकट गर्न सक्छन्। त्यो उनीहरुको अवस्थामा भर पर्छ। यौन इच्छालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा त्यसले यौनकुष्ठा पैदा गर्न सक्छ। यौनकुण्ठाले मान्छेलाई आफ्नो दैनिक कामकाजमा लाग्न बाधा गर्ने मात्र होइन, कतिपय गलत कृत्य गर्न पनि उक्साउन सक्छ। त्यसैले यस्ता जोखिमबाट बच्नका लागि हस्तमैथुन एक राम्रो विकल्प हो भनि कतिपयले तर्क गरेको पाइन्छ।

हस्तमैथुनको क्रममा मान्छेले यौनान्द अनुभूत गर्छन्। यतिबेला मस्तिष्कमा एन्डोर्फिन नामक हर्मोन स्राव हुन्छ। यो हर्मोनले मान्छेलाई तनावरहित एवं खुसी बनाउँछ।

यसले यौन उत्तेजना शान्त पार्छ र मान्छेमा यौनविकार रहँदैन। यसले गर्दा उनीहरु कतिपय यौनकृत्य गर्न उक्सिदैनन्।

हस्तमैथुन प्राकृतिक दुखाई निवारक पनि हुनसक्छ। हस्तमैथुनबारे भएको एक अध्ययनले शारीरिक दुखाई हुँदा यसले ‘पेनकिलर’को काम गर्छ। साथै यसले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने कुरापनि कतिपय अध्ययनमा पाइएको छ।

गर्भावस्थामा हर्मोनमा हुने परिवर्तनका कारण कतिपय महिलामा यौन इच्छा बढ्छ। यस समयमा यौन तनावबाट मुक्तीका लागि सजिलो र सुरक्षित उपाय हस्तमैथुनलाई मानिन्छ।

केही भ्रम पनि
हस्तमैथुनबारे कतिपय भ्रम पनि छन्। कतिले हस्तमैथुन गरिरहँदा दृष्टि गुम्ने, डार्क सर्कल बस्ने, यौनाङ्गको आकार बढ्ने वा सानो हुने, सुक्रकिटको संख्यामा कमी आउने, डन्डिफोर आउने भनिरहेका हुन्छन्, जुन सत्य होइन।

हस्तमैथुन गर्ने बानीको कारण यौनजीवन खल्लो हुने, सिघ्र स्खलन हुने, निःसन्तान हुने जस्ता कुरा पनि बाहिर सुनिन्छ। यी कुराको कुनै वैज्ञानिक आधार छैन। हस्तमैथुनसँग निःसन्तानपन वा सिघ्रस्खलनको कुनै साइनो छैन।

तर, हानि पनि
हरेक कुराको आफ्नो सीमा हुन्छन्। हस्तमैथुनमा अति लिप्त हुनु पनि राम्रो होइन।

हस्तमैथुनलाई बानीको रुपमा विकास गर्नु उचित हुँदैन। कहिले काहीँ यौन उत्तेजना शान्त पार्नका लागि यो एउटा विकल्प मात्र हो।

तर, कोही व्यक्ति हस्तमैथुनमा बढी लिप्त भइरहन्छ भने यसले उनको दैनिक कामलार्ई बाधा मात्र गर्दैन रचनात्मक गतिविधिलाई पनि सुस्त बनाइदिन्छ। हस्तमैथुनमा उनीहरु बढी ध्यान केन्द्रित हुन्छ र यौनजन्य गतिविधिमा बढी रुची राख्न थाल्छन्।

हस्तमैथुनमा बानी परेपछि उनीहरु अश्लिल सामाग्री तथा पोर्नोग्राफीमा पनि रुची राख्न थाल्छन्। यसले उनीहरुको अरु काममा बाधा पुर्याउछ।

जसरी मान्छेलाई जाँड, रक्सी, चुरोट आदिको लत लाग्छ, कतिपयलाई यसको लत लाग्न सक्छ। वास्तवमा हस्तमैथुनको लत लाग्नु राम्रो होइन। यस्तो अवस्थामा उनीहरुले मनोचिकित्सकको परामर्श लिनुपर्ने अवस्था पनि आउन सक्छ।

(काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत मनोचिकित्सक तथा यौनविद डा.ऋत पौडेलसँग कुराकानीमा आधारित माथिको सामग्रीलाई हामीले अनलाइनखबर डटकमबाट साधार गरेका हौं। सं.)