सन्देश सुब्बा
३ कात्तिक २०८१, तेह्रथुम। तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानीको रुपमा चिनिन्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल टिएमजे क्षेत्रमा ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यहीँ टिएमजे क्षेत्रको प्रवेशद्वार पर्यटकीय बजार वशन्तपुरमा निर्मित चोत्लुङ पार्क पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति र इतिहास अध्ययनको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।
चोत्लुङ पार्क तेह्रथुमको लालीगुराँस नगरपालिकाको सेवा केन्द्र वशन्तपुर बजार छेउमै रहेको छ । रैथाने वास्तु शैलीमा निर्मित घरहरु, ढुंगा बिछ्याएर बनाइएका फलैंचा र बिसौनीले याक्थुङ (लिम्बू) संस्कृति मात्र झल्काउदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउछ । गुराँसे जंगलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैयूँ), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते?लासे (केरा), लि?सिङ् फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पतीहरु रोपिएका छन् । मुन्धुममा वर्णन गरिए जस्तो अग्ला अग्ला ढुंगा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएका छन् । जसमा मुन्धुमी सभ्यता प्रतिबिम्बित भएको अनुभूत हुन्छ ।
चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । जहाँ तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानबीच विभिन्न समयमा भएका सन्धी, सम्झौता, रुक्का लगायतका ऐतिहासिक कागजात र दस्तावेज संग्रहित गरिएका छन् । याक्थुङ (लिम्बू)हरुसँग सम्बन्धीत पुराना गरगहना, भेषभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्का लगायतका महत्वपूर्ण सामग्रीहरुलाई संग्रहालयमा सुरक्षित गरिएका छन् । संग्रहालयको २०७६ पुस ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति, वरिष्ठ कवि बैरागी काइँलाले उद्घाटन गरेका थिए ।
ती ऐतिहासिक वस्तुहरु याक्थुङ (लिम्बू)को इतिहास र संस्कृति सम्बन्धी खोज, अनुसन्धाताहरुका लागि अन्यन्तै उपयोगी हुने बिहीबार चोत्लुङ पार्क परिषरमा भेटिएका वरिष्ठ कलाकार प्रेम सुब्बाले बताए । चोत्लुङ पार्क र त्यसभित्र रहेको संग्रहालय अवलोकनपछि भावि सन्ततीलाई आफ्नो संस्कृति र इतिहास चिनाउने महत्वपूर्ण काम भएको आफूले महसुस गरेको धनकुटाका बक्सिङ् प्रशिक्षक किशोर सम्बाहाम्फेले सुनाए । ‘चोत्लुङ’ याक्थुङ (लिम्बू) भाषाको अर्थ ‘सिद्धि’ हुन्छ । ‘पूर्णता’ हुन्छ । प्रकृति, संस्कृति र इतिहासको समिश्रण पाइने चोत्लुङ पार्क पुग्दा आफू पूर्ण भएको अनुभूत भएको पहिलोपल्ट चोत्लुङ पार्क पुगेकी एनटिभी इटहरीमा कार्यरत सञ्चारकर्मी बिनु चेम्जोङले बताइन् ।
मुन्धुम र इतिहासका अध्येता तथा लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङको परिकल्पनामा चोत्लुङ पार्क निर्माण भएको हो । वि.सं.२०७४ बाट निर्माण सुरु भएको चोत्लुङ पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । चोत्लुङ पार्क निर्माणमा लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वशन्तपुर र अन्य निकायको गरी हालसम्ममा दुई करोडबढी रकम खर्च भएको लालीगुराँस नगरपालिकाका नगर प्रमुख माबुहाङले बताए ।
चोत्लुङ पार्क आउने पर्यटकलाई पार्क अवलोकनका लागि रु ५० र संग्रहालय अवलोकनका लागि रु १०० शुल्क लिने गरिएको छ । चोत्लुङ पार्क घुम्न आउने पर्यटकबाट मात्र बार्षिक करीब १३ लाख राजश्व संकलन हुने गरेको नगर प्रमुख माबुहाङले बताए । वशन्त ऋतुको सिजनमा चोत्लुङ पार्कमा पर्यटकको घुइँचो लाग्छ । गुराँस अवलोकन गर्न टिएमजे जाने पर्यटक चोत्लुङ पार्कको दर्शन गरेर मात्र फर्कन्छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको वशन्तपुर बजारकै छेउमा रहेको चोत्लुङ पार्क पुग्न कुनै सास्ती खेप्नु पर्दैन ।