१९ असोज २०८१, तेह्रथुम। केही समय अघि तेह्रथुमकी स्थानीय सञ्चारकर्मी बबिता राई र रेडियो नेपालकी समाचार सम्पादक सुखकला राई तेह्रथुम सदरमुकाम म्याङलुङमा भेटिए । पहिलोपल्ट भएको भेटमा दुईबीच चिनजानसँगै केही बातचित पनि भयो । छुट्टिने बेलामा बुट्टा भरेर ‘मायाको चिनो’ लेखिएको ढाकाको रुमाल बबिताले सुखको हातमा थमाइन् । सुखले अनौंठो मानेको देखेर बबिताले भनिन्, ‘राख्नुस न दिदी, बैनीले दिएको तेह्रथुमे चिनो हो ।’
पहिले पहिले युवा–युवती र साथी–साथी कतै भेटेर टुट्टिदा सम्झना स्वरुप रुमाल चिनो साट्ने वा दिने चलन थियो । तर, त्यो ढाकाकै भने नहुन सक्थ्यो । पछिल्लो समय यो चलन हराउदै गएको छ । यद्यपी तेह्रथुम आउने पाहुनालाई भने तेह्रथुमे ढाकाको रुमाल वा ढाकाकै अन्य सामग्री चिनो दिने चलन बढेको छ । तेह्रथुम पुग्ने पाहुना, साथीभाई र आफन्तलाई तेह्रथुमे ढाकाबाट बनेको रुमाल, मफलर, पछ्यौरी, टोपी, पर्स, साडी वा चौबन्दी चोलीको कपडा चिनो दिने चलन पछिल्लो समय संस्कृतिको रुपमा विकास भइरहेको संचारकर्मी बबिताले बताइन् ।
तेह्रथुमे ढाका उसै पनि प्रख्यात छ । स्थानीय महिलाले हाते तानबाट बुनेको तेह्रथुमे ढाकाको कपडा धेरैको रोजाइमा पर्छ । ‘त्यहीँ ढाकाको कपडाबाट बनेको सामान चिनो पाउँदा खुसी लाग्यो’, सुखकलाले सुनाइन् । स्थानीय महिलाहरुले तानको सहायतमा हातले बुनेको तेह्रथुमे ढाकाको प्रबर्दनका लागि कुनै कार्यक्रम र अन्य भेलामा जिल्लाबाहिरबाट आउने पाहुनालाई तेह्रथुमे ढाकाबाट बनेको केही न केही सामान चिनो दिने गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए ।
विभिन्न कामले तेह्रथुम पुग्ने आगन्तुकले पनि स्थानीयस्तरमा उत्पादित ढाकाको कपडाबाट बनेका विभिन्न सामग्री तेह्रथुमको चिनोको रुपमा किनेर लाने गरेका छन् । पाँचथरका साँस्कृतिक अभियन्ता नरेन्द्रराज केरुङले केही समयअघि कामको सिलसिलामा धरान, धनकुटा हुँदै तेह्रथुम भएर पाँचथर फर्कदा सदरमुकाम म्याङलुङमा तेह्रथुमे ढाकाको मफलर, चिनो स्वरुप किनेको सुनाए । देश–विदेशमा रहेका आफन्त र साथीभाईलाई तेह्रथुमे ढाका कपडा र त्यसबाट निर्मित विभिन्न सामग्री उपहारको रुपमा दिने वा पठाउने चलन रहेको किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका अध्यक्ष राज कुमार तेयुङले बताए ।
तेह्रथुमे ढाकाको प्रशिद्धि देशभित्र मात्र होइन विदेशसम्म पनि फैलिएको छ । नेपाली रहे, बसेका विभिन्न देशहरुमा तेह्रथुमे ढाका पुग्ने गरेको तेह्रथुमकी पुराना ढाका कपडा उद्यमी तथा म्याङलुङस्थित उज्ज्वलता ढाका कपडा पसलकी प्रोप्राइटर उज्ज्वलता सुब्बाले बताइन् । ढाका कपडाको मूल्य प्रतिमिटर १ हजार रुपैंयाँदेखि गुणस्तर हेरी २ हजार ५ सय रुपैयाँसम्म पर्छ । त्यसैले कोट, साडी, चौबन्दी चोलीको नापो अनुसारको मूल्य पर्छ भने रुमाल, पर्स जस्ता सामग्री ३/४ सय रुपैंयाँदेखि माथि पर्छ ।
तेह्रथुमस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ वटा ढाका कपडा उद्योग दर्ता भएका कार्यालय प्रमुख प्रदीप पौडेलले जानकारी दिए । तर, उद्योगमा मात्र होइन सदरमुकाम म्याङलुङसँगै नजिकका गाउँका प्रायः सबै घरमा ढाका कपडा बुनिन्छ । क्याम्पस पढ्ने विद्यार्थी र डेरा बस्ने अन्य महिलाले आफू डेरा बस्ने कोठामै तान जोडेर ढाका बुन्ने गरेका छन् । म्याङलुङ बजारस्थित गारागार टोलमा डेरा गरेर बस्ने मञ्जु लिम्बूको दिन ढाका बुनेरै बित्छ । आठ बर्ष अघि श्रीमानको मृत्यु भएपछि ढाका बुनेर हुने आम्दानीले नै एक छोराको पढाइसँगै घरव्यवहार चलाउदै आएको उनले बताइन् । ढाकाको साडी बुन्ने उनलाई एउटा साडी सिध्याउन सातदेखि दश दिन लाग्छ ।
मेन्छ्यायेम गाउँपालिका–२ घर भएकी १९ बर्षीया सन्ध्या लिम्बू म्याङलुङ क्याम्पसमा अध्ययरत छिन् । म्याङलुङ बजारस्थित रतनपुरमा डेरा गरी बस्ने उनले पनि कोठामै मफलर बुन्ने हाते तान जोडेकी छिन् । मफलर बुन्ने तान सानो हुने भएकाले कोठाभित्रको सानो ठाउँमा पनि अँटाउन सकिन्छ । पढाइबाट बँचेको समय उनी ढाकाको मफलर बुन्छिन् । त्यहीँ मफलर पसललाई बेचेर कोठा भाँडा र पकेट खर्च जुटाउने गरेको उनले सुनाइन् । तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष राजिव ढुंगानाका अनुसार दर्ता भई सञ्चालन भएका उद्योगहरुबाट मात्र बार्षिक करोड बढीको ढाका कपडा जिल्ला बाहिर निर्यात हुन्छ । दर्ता नगरी सञ्चालन गरिएका उद्योग र निजी रुपमा धेरै ढाका कपडा उत्पादन हुने भएकाले जिल्लाबाट कूल यति नै रकमको ढाका निर्यात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको अध्यक्ष ढुंगानाले बताए । सदरमुकाम म्याङलुङमा मात्र आधा दर्जनबढी ढाका कपडा पसल छन् ।
तेह्रथुमका ग्रामीण क्षेत्रमा परम्परागत खाडीका कपडा धेरै पहिलेदेखि बुन्ने गरिएको तथ्य भेटिन्छ । रङ्गीन धागोबाट बुनिने ढाका कपडा कहिलेदेखि बुन्न थालियो भनेर यकिन गर्न गाह्रो छ । यद्यपी सन् १९८३ ताका नेपाली ढाकाको क्षेत्रमा काम गर्ने आङ्दिकु शेर्पा मार्फत् बेलायती महिला सुमी डान्स्मोर तेह्रथुमे ढाकाबारे अध्ययन गर्न म्याङलुङ आइन् । उनले ढाकामा प्रयोग हुने कलर म्याचिङ्बारे अध्ययन गरिन् । तेह्रथुमे ढाकाको अध्ययनकै सिलसिलामा तीन पटक तेह्रथुम आएकी उनै डान्स्मोरले रङ्ग छनौंट गरिदिएपछि तेह्रथुमे ढाका कपडा उत्पादनले व्यवसायिक मोड लिएको नवीन विकास ढाका उद्योगकी सञ्चालक रञ्जना राईले बताइन् । पाँच बर्ष अघि लण्डनमै दिवाङ्गत भएकी डान्स्मोरले आफ्नै घरमा बसेर धागोको रङ्ग छान्न सिकाउने काम गरेको उनले सुनाइन् । तेह्रथुमको सिको गर्दै अहिले छिमेकी जिल्लाहरु ताप्लेजुङ, पाँथचर, धनकुटा लगायतमा पनि ढाका कपडाको व्यवसायिक उत्पादन हुने गरेको छ ।
तेह्रथुमे ढाका कपडाको प्रबर्दन, विविधिकरण र प्रचारप्रसारका लागि म्याङलुङ नगरपालिकाको सहजीकरणमा २० असार २०७९ मा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरेको छ । नगरपालिकाले गत बर्ष म्याङलुङ बजारस्थित टुडिखेलमा ढाका बुन्दै गरेकी महिलाको स्तम्भ समेत निर्माण गरेको छ । तेह्रथुमे ढाकाको चिनारी, प्रबर्दन र ढाका बुन्ने महिलाहरुको कला र सिपको सम्मान स्वरुप प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा दश लाख रुपैंयाँ लागतमा स्तम्भ निर्माण गरिएको नगरप्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले बताए ।