Advertisement Ad

पाँचथरे आरोहीका अनुभवः हिमाल चढ्न भन्दा ओर्लन कठिन

Advertisement Ad

प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.

– लक्ष्मी गौतम

हिमाल चढ्न जति गाह्रो हुन्छ । त्यो भन्दा कठिन हुन्छ ओर्लिएर गन्तव्य सम्म पुग्न । त्यसमा पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुगेर फर्किनु कति चुनौतीपूर्ण होला ? एक पटक कल्पना गरौं त ! केही मान्छे यस्ता हुन्छन्, उनीहरु अनेक संकल्प गरेर चुनौतीका पहाड पन्छाउदै अघि बढ्छन्, अनि चुचुरो चुमेर किर्तिमान बनाँउदै फर्कन्छन् । यो सामग्रीमा पाँचथरका पत्रकार लक्ष्मी गौतमले पाँचथर जिल्लालाई प्रतिनिधित्व गर्दै हिमाल चढ्ने तीनजना आरोहीका कथा समेटेका छन्ः

सुशील सेर्मा
पाँचथरको कुम्मायक–२ मङजावुङका सुशील सेर्मालाई कक्षा तीनमा पहिलो सगरमाथा आरोही तेन्जिङ नार्गे सेर्पा र एडमण्ड हिलारीको जीवनी पढेपछि सगरमाथा चढ्न इच्छा जाग्यो ।

स्कुलबाट फर्केपछि आमालाई त्यो पाठ पढेर सुनाए । अनि ‘‘ठूलो भएपछि म पनि सगरमाथा चढ्छु है !’’ भनेर प्रस्ताव राखे । पहिलोपटक यो प्रस्ताव राख्दा आमा बिना प्रतिक्रिया मुसुक्क हाँसिन् । सुशीलले त्यहीँ कुरा पटक–पटक दोहो¥याए । ‘‘हिमाल त शेर्पाहरुले मात्रै चढ्छन, तिमी लिम्बूको छोरा हौ, फेरि त्यहाँ जानु सजिलो छैन, हिउँमा पुरिएर मरिन्छ पनि ।!’ भनेर प्रतिक्रिया दिइन् ।
उमेर छिप्पिदै जाँदा सुशीलको हिमाल आरोहण गर्ने सपना पनि झागिँदै गयो । १९ वर्षको उमेरमा नेपाली सेनामा भर्ना भए । तालिम पूरा गरे । करिब २ वर्ष जागिर खाएपछि उनी आफ्नै बाल्यकालदेखिको इच्छा पूरा गर्न हिमाल आरोहणको अभ्यासमा जुटे ।

शेर्माले हालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ठुला साना आधा दर्जन हिमालको सफल आरोहण गरिसकेका छन । यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, आइसल्यान पिक र लाङटाङ हिमालको सफल आरोहण गरेका उनी पछिल्लो पटक गत वर्ष रसियाको माउण्ट एल्ब्रुस नामक हिमालको चुचुरोमा पुगेर नेपाली झण्डा फहराउन सफल भए ।

उनी सन् २०१७ को मे २० का दिन सगरमाथाको चुचुरोमा पुगेका थिए । त्यसअघि उनले २०६८ साल असोज ६ गते आइसल्याण्ड पिकको आरोहण गरेका थिए । यी बाहेक उनीसँग लाङटाङ हिमाल आरोहण र नेपालको सबैभन्दा होचो भू–भाग झापाको केचनादेखि विश्वको तेस्रो हिमाल कञ्चनजंघा आधार शिविरसम्म पैदल यात्रा गरेको अनुभव छ ।

आरोही सेर्मालाई संविधान दिवस २०७९ कोे अवसर पारेर नेपाल सरकारले ‘सगरमाथा आरोहण पदक’ मार्फत विभुषित गर्यो । अब विश्व शान्ति, मानव एकता र आणविक सस्त्र अस्त्र निसस्त्रीकरणको सन्देश लिएर ७ महादेशका प्रमूख ७ वटा हिमाल आरोहण गर्ने उनको संकल्प योजना छ ।

सेर्माले पछिल्लो पटक गत साउन ३२ गते बिहान ५ बजेर २५ मिनेट जॉदा रसियामा अवस्थित ५ हजार ६ सय ४२ मिटर उचाईको माउण्ट एल्ब्रुस हिमाल सफल आरोहण गर्दै शिखरमा नेपाली झण्डा फहराएका थिए । आरोही सेर्माले सन २०११ देखि नेपालका विभिन्न हिमाल आरोहण सुरु गरेका थिए ।

‘‘जहॉ पुगे पनि विश्व शान्ति, धार्मिक सहिष्णुता र आणविक सस्त्र अस्त्र निसस्त्रीकरणको सन्देश दिनु मेरो उदेस्य हो ।’’ शेर्मा भन्छन् । रसियाको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा र लुम्बिनी जस्ता धार्मिक र पर्यटकीयस्थल भ्रमणको निम्तो दिएको उनले बताए ।

शेर्माले यसपछि तान्जानियाको किली मन्जारो हिमाल आरोहण गर्नेछन् । ७ वटा महादेशका ७ वटै अग्ला हिमाल आरोहण गर्दै विश्व शान्ति, मानव एकता, आणविक शस्त्र अस्त्र निसस्त्रीकरण सँगै नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने योजना रहेको शेर्मा सुनाउँछन् ।

शेर्मा नै पाचथर जिल्लाको पहिलो र लिम्बू समुदाबाट सगरमाथा आरोहण गर्ने दोस्रो आरोही हुन् । जस्लाई जिल्लाका विभिन्न संघ–संस्था र सरकारी, गैर सरकारी निकायले अभिनन्दन र सम्मान गरेका थिए ।

 

किशोर जबेगू
फालेलुङ–८ अंशुभञ्ज्याङका २७ वर्षीय किशोर जबेगू नेपाली सेनामा कार्यरत छन् । उनी २०८० साल जेठ १ गते बिहान १० बजेर ५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुग्न सफल भए । उनी श्री सिंहनाथ बाहिनीको कमाण्डो फोर्समा कार्यरत नेपाली सेनाका जवान हुन् ।

नेपाली सेनाले सञ्चालन गरेको सगरमाथा सफाई अभियान अन्तरगत उनीसँग पाँच सेना र चार शेर्पा गरी नौ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । ‘‘सफल आरोहणपछि फर्कने क्रममा हाम्रो टोलीको एकजना साथीको मृत्यु भयो, आँखै अगाडी सहकर्मीको ज्यान गएपछि सगरमाथा चढ्नु भन्दा ओर्लनु जोखिम रहेछ भन्ने चेत खुलेको छ ।’’ जबेगू भन्छन् ।

जवेगू आधार शिबिरबाट हिंडेको तीन दिन, एक रातमा चुचुरोमा पुग्न सफल भएका थिए ।

आरोहण गर्न गएकाहरु धेरै आधा बाटो नपुगी फर्किन्छन् । कोही चुचुरोमा पुग्छन् । ती मध्ये कोही त बाटैमा मर्छन् । हामी सगरमाथा सरसफाई अभियानमा थियौं । समूहमा गएका थियौं । समूहमै शिखर चुम्यौं । एकजना सहकर्मी भने फर्कदा हिउँमा चिप्लेर बित्नुभयो । सगरमाथा आरोहण गर्नु जति कठिन छ, त्यो भन्दा चार गुणा कठिन ओर्लिनका लागि छ । सगरमाथाको चुचुरो चुमेर गन्तव्य फर्किनु पुनर्जन्म पाउनु जस्तै हो ।’’ जबेगू भन्छन् ।

‘‘हिमाल आरोहणका लागि नेपाली सेनाले फोर्सका मान्छेहरुलाई छानेर तालिम दिन्छ । थोरैले हिमाल चढ्ने मौका पाउँछन् । ती भाग्यमानीहरुको सूचीमा म पनि परेको छु । हिमालको सरसफाई गर्दै शिखरमा पुग्ने जिम्वेवारी थियो, पुग्यौ, फर्कियौं । फर्किएपछि स्वास्थ्यमा समस्या भएर झण्डै दुई महिना रेष्ट     गर्नपर्यो ।’’ जवेगू भन्छन्, ‘‘हामी फौजीहरु चेन अफ् कमाण्डमा चल्नुपर्छ । मिडियामा बोल्न माथिको आदेश लिनुपर्छ । धेरै नभनौं, मलाई फोर्सले सगरमाथा चढ्ने मौका दियो । सकुुुुसल चढेँ, फर्किएँ । आरोहणका क्रममा सँगालेका अनुभवलाई सम्पतीका रुपमा सँगालेको छु ।’’

जवेगू पाँचथरका दोस्रो सगरमाथा आरोही हुन् ।

 

उदय केरुङ
वैदेशिक रोजगारीमा गएका प्रायः मान्छे स्वदेश फर्केपछि नयाँ घर बनाउँछन् । घडेरी जोड्छन् । उद्यम, व्यवसाय वा कृषि कर्म गरेर परिवारसँगै जीउने सपना देख्छन् ।

तर पाँचथरको फालेलुङ–३ का उदय केरुङले घर घडेरी जोड्ने र उद्यमशीलतामा जोडिनेभन्दा पनि हिमाल चढ्ने कामलाई प्राथमिकतामा राखे । अन्ततः जेठ ६ गते बिहान ६ बजेर ८ सेकेण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भए ।

सन् २०२१ देखि हिमाल आरोहण थालेका उनले सगरमाथा बाहेक मेरापिक र मनास्लुको सफल आरोहण गरिसकेका छन् । उनको हिमाल आरोहण यात्रा इतिहास निकै नै रोचक छ । १७ वर्ष पूरा नहुँदै पासपोर्ट बनाएर सन् २००८ मा मलेसिया हानिएका उनी १३ वर्षपछि २०२१ मा नेपाल फर्के । कोरोना महामारीका कारण विश्वव्यापी लकडाउनले पुनः मलेसिया फर्किन सकेनन् ।

‘‘नेपाल बसाईको समय सदुपयोग गर्न अन्नपूर्ण सर्किटको पदयात्रामा गएँ । फर्केको केही समयमा सगरमाथा आधार शिविरको पदमार्गको यात्रा गरें । ती याात्राले म भित्र हिमाल आरोहणको भोक जगायो ।’’ केरुङ भन्छन् ।

उनले गत बर्षको असोज ९ गते ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल र त्यसअघि ६ हजार ४ सय ७६ मिटरको मेरापिक हिमाल सफलतापुर्वक आरोहण गरेका थिए । ‘‘मनास्लुको आरोहणपछि मेरो मनमा विश्वका आठ हजार मिटर माथिको १४ वटा हिमाल आरोहण गर्ने हिम्मत जाग्यो । अब यो अभियानलाई निरन्तरता दिन्छु ।’’ सगरमाथाको चुचुरोबाट आधार शिविर फर्के लगत्तै उनले भने ।

‘‘मनास्लु आरोहण गरेपछि मलाई किन सगरमाथा नचढेको ? भनेर धेरैले प्रश्न गर्नुभयो, मेरो घर परिवार र छिमेकीलाई एकैचोटी ठूलो हिमाल चढ्न सकिदैन भन्ने थाहा रहेनछ, हिमाल चढ्नेलाई सरकारले टन्नै पैसा दिन्छ भन्ने उहाँहरुलाई लागेको रहेछ, मलाई पनि आरोहण अभ्यास सुरु गर्नुअघि हिमाल र पर्वतारोहणबारे धेरै कुरा थाहा थिएन ।’’ उनले भने ।

‘‘प्रायः मानिस विदेश जाने, पैसा कमाउने र कतै राम्रो ठाउँमा जग्गा किन्ने अनि घर बनाउने विषयलाई प्राथमिकतामा राख्छन् । मलाई चाहीँ हिमाल चढ्ने भोक लाग्यो । अब पुनः एक पटक विदेश गएर आरोहण यात्रालाई निरन्तरता दिन्छु ।’’ उनले थपे ।

सगरमाथाको चुचुरोमा केरुङले नेपालको राष्ट्रिय झण्डा सँगै फालेलुङ गाउँपालिकाको लोगो अंकित झण्डा, किरात याक्थुङ चुम्लुङ र केरुङ चो?लुङ सङ्जुम्भोको झण्डा फरहराएका छन् । सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरको फालेलुङ गाउँपालिकाको दोस्रो र पाँचथर जिल्लाकै तेस्रो व्यक्ति हुन् ।

केरुङलाई सगरमाथा आरोहण गर्दा ३५ लाख भन्दा धेरै खर्च लाग्यो । त्यो खर्च सबै वैदेशिक रोजगारीका क्रममा आर्जन गरेर बचत गरेको उनले सुनाए । यसअघि मेरापिक र मनास्लु आरोहण पनि उनले व्यक्तिगत खर्चमै गरेका   थिए ।

पाँचथरलाई प्रतिनिधित्व गर्दै हिमाल आरोहण गर्ने सेर्मा, जवेगू र केरुङ सिङ्गो जिल्लाको साहसिक पर्यटन अभियन्ताको नमुना पात्र हुन् । उनीहरुको ज्ञान र अनुभव युवा पुस्तामा बाड्न जरुरी छ ।