Advertisement Ad

नोगेन हाङसरुम्बा लिम्बूः भ्वाइसको फिनालेमा गुञ्जिएको पहिलो पाँचथरे स्वर

Advertisement Ad

प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.

– राधा लुइटेल

ग्रामीण परिवेशमा जन्मेका नोगेनको शौख सानैदेखि संगीतमा थियो । रहरै रहरमा उनी ९ वर्ष नपुग्दै फिदिमस्थित बरदान संगीतालयमा भर्ना भए । अनि, सांगीतिक यात्रामा पाइला चाल्न सुरु गरे ।

सांगीतिक यात्रा सुरुवात त भयो तर निरन्तरता दिनु कसरी ? चुनौतीको विषय थियो । यद्यपी नोगेनको सपना पूरा गर्न बुबा आमाले सदैब साथ दिए । निम्न मध्यमवर्गीय परिवारमा जन्मेका नोगेनका बाबु देउमान रोजगारीका लागि खाडीतर्फ हानिए । आमा सदरमुकाम फिदिममा होटल चलाउथिन् । रहरै रहरमा संगीत सिक्न थालेका उनले बरदान संगीतालयमै रहँदा विशेषतः पुर्वेली लोकलयमा आधारित हाक्पारे, पालाम सहितका भाकासँग परिचित भए । अन्ततः १९ वर्षको उमेरमा भ्वाइस अफ् नेपालको स्टेजमा पुगेर आफ्नो प्रतिभा प्रष्फुटन गर्ने सौभाग्य पाए ।

‘‘परिवारको पहिलो सन्तान हँु, भाइ सानै थियो, बुबा–आमाले दुःख गरेरै संगीत क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुभयो, मेरो इच्छा उहाँहरुको रुची बन्न पुग्यो ।’’ उनले भने । गत वर्ष सम्पन्न भएको भ्वाइस अफ् नेपालमा नोगेन सुदूरपूर्वको सुर बनेर देश–विदेशसम्म गुञ्जिए । अनि, संसारभर रहेका नेपालीहरुको मन जिते ।

त्यसपटक भ्वाइस अफ् नेपालमा भाग लिने नोगेनको इच्छा थिएन । केही समय पर्खिनुपर्छ भन्ने लागेको थियो । तर, परिवार, साथीभाई र शुभचिन्तकले ‘ढिलो हुन्छ’ भन्दै प्रतिश्पर्धामा उत्रिन दवाब दिएपछि भ्वाइसमा आउन बाध्य भएको उनी सुुनाँउछन । उनले संगीतसँगै पढाइलाई पनि निरन्तरता दिइरहेका छन् । उनी काठमाण्डौँको कञ्चनजंघा बहुमुखी क्याम्पसबाट स्नातक गर्दैछन् ।

भ्वाइस अफ् नेपाल सिजन–५ मा नोगेन पूर्वको ‘सुर’ बनेर गुञ्जिए । त्यो स्टेजमा उनले पस्किएका ‘हाक्पारे’, ‘पालाम’ र पूर्वेली रैथाने लोकभाखाको सुगन्ध मौलिक नेपाली संगीत थियो । जसको जरा पूर्वको भूगोल, मुन्धुम र सभ्यता नै हो भन्दा अत्युक्ती हुँदैन । द भ्वाइस अफ् नेपालको ग्राण्ड फिनालेमा गुञ्जिएको पहिलो पाँचथरे स्वर नोगेनको हो ।

नोगेनको प्रस्तुतिसँग उनकै संगीत गुरु बुद्वराज इङ्वा पनि मख्ख छन् । ‘‘मौलिक नेपाली संगीतको जरा समातेर, त्यसको मर्म र मूल्यबोध गर्नु सामान्य होेइन, जुन खुबी नोगेनसँग छ ।’’ नोगेनका गुरु बुद्धले भने । संगीत आफ्नो रहर भए पनि भ्वाइस अफ् नेपालमा गइहालँु जस्तो नलाग्दा नलाग्दै परिवार र साथीभाइको दबाब झेल्न नसकेर सहभागी भए, नोगेन । सहभागी भइसकेपछि केही चरण पार गर्नु नै पर्ने थियो । डिजिटल र फिजिकल अडिसन पछि ब्लाइण्ड राउण्डमा उनका लागि चार चरणसम्म एउटै कुर्सी घुमेन । उनी झण्डै आउट भए । अन्तिममा कोच प्रमोद खरेलले घुमाएको कुर्सी उनका लागि ग्राण्ड फिनालेसम्म पुग्न कोशेढुंगा साबित भयो ।

व्याटल राउण्ड पार गरेर नकआउट चरणमा प्रवेश गरेका नोगेनले लाइभ शो को ‘डे सिक्स’ मा डेन्जर जोनको सामना गर्नुपर्यो । उनले दार्जिलिङकी ट्रिजा प्रधानलाई भोटमा पछि पार्दै अगाडि बढे । नोगेन लाइभ शो को ‘डे सेभेन’ मा पनि खरो प्रतिश्पर्धी तेन्जिङ डोल्मा गुरुङलाई रोकेर अघि बढे । अन्तिम ‘४’ मा आफ्नो स्थान सुरक्षित गरे । यसरी भ्याइस अफ् नेपालको ग्रान्ड फिनालेसम्म पुग्न विभिन्न चरण पार गरेका नोगेनको प्रस्तुति निकै दमदार थियो । त्यहीँ प्रस्तुतिका कारण उनलाई देश विदेशबाट हजारौं नेपालीले भोट गरे ।

सामाजिक सञ्जालहरु उनकै प्रसंशामा रंगिए । यद्यपी नोगेनलाई समर्थक र शुभचिन्तकले देखाएको त्यो माया र सद्भाव भ्याइस अफ् नेपाल सिजन ५ को तेस्रो नम्वरमा आएर रोकियो । भ्याइस अफ् बिजेता नबने पनि नोगेनको सांगीतिक यात्रा रोकिएको छैन । पछिल्लो समय उनी ठाउँ–ठाउँमा आयोजना हुने स्टेज कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दैछन् भने उनको स्वरमा रेकर्ड भएका गीतहरु बजारमा आउने क्रम जारी छ । पछिल्लो समय नोगेनको स्वर र प्रस्तुतिमा रिलिज भएको ‘जीउ पैंचो’ लाई युट्युबमा एक महिनामा झण्डै नौ लाखले हेरेका छन् ।

नोगेन भने भ्वाइसको फाइनलिस्ट बनेकैमा सन्तुष्ट छन् । ‘यति ठूलो स्टेजको यो स्थानसम्म पुग्छु भन्ने सोचेकै थिइँन’ उनी भन्छन्, ‘भ्वाइसको उपाधि जित्ने कोसिस गरेकै हुँ, सम्भव भएन, जुन उपलब्धी हाँसिल भयो त्यसैमा खुसी छु ।’ नोगेनको आग्रह छ– ‘‘भगवानरुपी दर्शक ! अथाह माया दिनुभयो । यहाँहरुलाई धेरै धेरै धन्यवाद छ, तपाईँहरुको माया र सद्भावले सदैब अघि बढिरहन्छु । सदैव आर्शिवाद दिनुहोला ।’’