Advertisement Ad

Advertisement Ad

महिलालाई उद्यमी बनाउने ढाकाको कथा

९ साउन २०८२, पाँचथर। विभिन्न पुरातात्विक तथा मानवविज्ञान सम्बन्धी अध्ययनहरूले प्रमाणित गरेका छन् कि कपडा लगाउने चलन मानव सभ्यताको विकाससँगै सुरु भएको हो । प्रारम्भमा जनावरको छाला, पात, रेशा आदि प्रयोग भए पनि समयसँगै कपडा बुनेर लगाउने सिपको विकास भयो । यसै सन्दर्भमा तान बुन्ने सीप र संस्कृति याक्थुङ (लिम्बू) जातिको प्राचीन सभ्यता र पहिचानसँग घनिष्ठ रूपमा गाँसिएको पाइन्छ ।

लिम्बू समुदायका आदिपुर्खा मानिने युमा? (बोजु) तान बुन्ने प्रारम्भिक आविष्कारकर्ताका रूपमा याक्थुङ मुन्धुम (परम्परागत वेद/शास्त्र) मा वर्णित छ । युमा? केवल सर्जक महिला होइनन्, उनी तान सिपकी वैज्ञानिक पनि हुन् । युमा?ले सुरु गरेको तान संस्कृति लिम्बू समाजमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आजसम्मको यात्रा तय गरेको छ ।

मुन्धुम अध्येता लक्ष्मण लाओतीका अनुसार युमा? द्वारा तान बुनेको सन्दर्भ पूर्वी लिम्बुवानका थुप्रै स्थानसँग जोडिएको पाइन्छ, जस्तैः पाँचथरको कुम्मायक–यासोक, ताप्लेजुङको थाक्सिबो–ताङ्गेलुङ, तेह्रथुमको पोक्लाबुङ–थाःक्चोगे थलायःक् र धनकुटाको चौविसे क्षेत्रको थाकेलुङ–खिबेलुङ जस्ता स्थल यस्तै ऐतिहासिक महत्वका तान केन्द्र हुन् । यी स्थान आज पनि मुन्धुमी गाथामा युमा? द्वारा तान बुनेको स्थलका रूपमा स्मरण गरिन्छन् ।

  • द हाइल्याण्ड आर्ट, कल्पना ढाका तथा बुटिक काठमाडौंकी प्रोप्राइटर कल्पना योङहाङ ढाका बुन्दै।

थाक्चोगे थाकेलुङ खिबेलुङ जस्ता शब्दहरूले लिम्बू भाषामा तान बुनाइसँग सम्बन्धीत उपकरण र धागोको संकेत गर्छन् । यसले देखाउँछ कि तान बुन्ने सिप लिम्बू समुदायको मौलिक आविष्कार हो, जसले परम्परागत घरेलु उद्योगको रूप लियो । लिम्बू समाजमा प्रायः हरेक घरमा तान उपकरण जडान गरिएको हुन्थ्यो । महिलाहरूले आफू र परिवारका लागि आवश्यक कपडा–गिम्ती, खेस बुन्ने गर्थे । तानका लागि आवश्यक धागो उत्पादन गर्न कपासको खेती समेत गरिन्थ्यो । लिम्बू समाजमा प्रचलित ‘खेती गरे साझे, सिप सिके पेवा’ भन्ने उखानको माध्यमबाट लिम्बू छोरी–चेलीलाई तानको सिपमार्फत् आत्मनिर्भर बन्न उत्प्रेरित गरिन्थ्यो ।

विशेषतः गिम्तीबाट साडी, सुरुवाल, टोपी, खेसबाट बर्को, पटुका, गुन्यू आदिको निर्माण गरिन्थ्यो । खेदको कुरा, गिम्ती बुन्ने सिप आज लोप भइसकेको छ । खेस बुन्ने सिप पनि केही वृद्धा महिलामा मात्र सीमित भएको जानकारी फिदिमकी तान उद्यमी दिलकुमारी फागोले दिनुभएको छ ।

कालान्तरमा खाडी बुन्ने सिप भित्रिएपछि लिम्बू जातिको तान सिप व्यावसायिक मोडतिर अग्रसर भयो । खाडी उत्पादनले बजारको माग समेत बटुल्यो । त्यतिबेला लिम्बुवानमा तानबाट उत्पादित कपडा गुणस्तरमा उत्कृष्ठ मानिन्थ्यो । यसैकारण तत्कालीन सरकारले खाडी कपडामा कर समेत लगाएको प्रमाण भेटिन्छ ।

मुन्धुमका अध्येता लक्ष्मण लाओतीद्वारा कान्तिपुर अनलाइनमा प्रकाशित लेख पल्लो किरातको व्यापार (मंसिर ८, २०८१) मा उल्लेख भए अनुसार, सन् १८६८ असार ३० गतेको एक लालमोहर दस्तावेजमा अरुणपूर्वका लिम्बू, राई, याम्फू, सुनुवार समुदायलाई सम्बोधन गर्दै खाडी कपडा सरकारी मूल्यमा बिक्री गर्न निर्देशन दिइएको छ । यसको उल्लङ्घन गरेमा ‘भारी दण्द’ को व्यवस्था गरिएको थियो । सो लालमोहर लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (इङनाम भगिराज, २०७७) मा समावेश छ ।

यसबाट खाडी उत्पादनको लोकप्रियता र अर्थतन्त्रमा यसको महत्व बुझ्न सकिन्छ । त्यसबेला खाडीका साना (छोटो हात) र लामो (लामो हात) किसिम छुट्याएर मूल्य निर्धारण गरिन्थ्यो ।

पछिल्लो इतिहास हेर्दा, सन् १९५० मा चीनले तिब्बत कब्जा गरेपछि उत्तरतर्फको व्यापार अवरुद्ध भयो । सन् १९५९ को तिब्बती विद्रोहपछि त व्यापार नै ठप्प भयो । जसको असरले परम्परागत तान उद्योग पनि प्रभावित भयो । भारतीय बजार हाबि हुँदै गएपछि लिम्बू समुदायको परम्परागत तान संस्कृति ओरालो लाग्यो ।

यद्यपि, बिक्रमाब्द दुई हजारको तेस्रो दशकबाट तेह्रथुममा ढाका बुनाइको नयाँ शैली विकसित भई खाडीको सट्टामा ढाका लोकप्रिय हुन थाल्यो । ढाका बुनाइ सिप विस्तार हुँदै पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा लगायतका जिल्लामा समेत फैलियो । ढाकाको व्यापक लोकप्रियता र पहिचानलाई दृष्टिगत गर्दै सरकारले तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिसकेको छ ।

आज ढाका केवल पोसाकको वस्त्र होइन, पूर्वी पहाडी पहिचानको प्रतीक, साँस्कृतिक सम्पदा, र आर्थिक आत्मनिर्भरताको आधार बनिसकेको छ । ढाका उत्पादनको आधारभूत संरचना परम्परागत तान–सेट प्रविधिमै आधारित रहेकाले यसलाई युमा?–प्रवर्तित तान संस्कृतिको आधुनिक रूप पनि भन्न सकिन्छ ।

सामाजिक, साँस्कृतिक, सौन्दर्य र पहिचानको सशक्त स्वरूप बनेको ढाकालाई यदि उचित बजार र बजारीकरणको पहुँच दिलाइयो भने यो पूर्वी पहाडको मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास गर्न सकिने विशाल सम्भावना बोकेको छ ।

 

तेह्रथुमः रातभरी चर्खा चलाएर धागो काति बिहान सबेरै तानमा खाँडीको कपडा बुन्नु लिम्बू समुदायको परम्परा थियो । बिसको दशकतिर पूर्वी पहाडमा दशैं–तिहार जस्ता चाडबाड सुरु हुँदै गर्दा नयाँ लुगाको लागि गाउँभरी खाँडीको कपडा बुन्ने लहर चल्थ्यो । अहिलेजस्तो बजारमा आधुनिक कपडा आउनु पहिले गाउँमा आफैंले बुनेको खाँडीको कपडा लाउने चलन थियो ।

त्यसबेला तेह्रथुमका महिलाहरु म्याङलुङ बजारको शुक्रबारे हटियामा लाच्छा धागो खरिद गर्थे । रातभरी चर्खामा लाच्छा धागोलाई बेरेर थोली धागो बनाउथे । त्यहीँ थोली धागोमा लाहुरबाट आउनेहरुले ल्याएको रङ्गिन धागो मिसाएर सेतो कपडालाई अलिअलि रङ्गिन बनाउने गरिन्थ्यो ।

म्याङलुुङ नपा–२ तुम्बाहाङफे गाउँकी रञ्जना तुम्बाहाङफे राईले वि.सं. २०२८ सालतिर १४ वर्षको हुँदादेखि आमाको खाँडीको तानमा रङ्गिन धागोको थोली हान्दै खाँडीलाई अलिअलि रङ्गिन बनाउन थालिन् । उसबेला म्याङलुङ बजारको शुक्रबारे हटियामा खाडि कपडा बनाउने लाच्छा धागो पाइन्थ्यो भने पल्टनबाट छुट्टी मनाउन घर आउने गाउँका लाहुरेहरुले रङ्गिन धागो ल्याउथे ।

बिसको दशकको अन्त्यतिर म्याङलुङमा हातले बुनेर प्रयोग गरिने खाँडीको सादा सेतो कपडा अलिअलि रङ्गिन हुन थाल्यो । वि.सं. २०३० सालमा कोशी हिल एरिया रिजनल डेप्लोमेन्ट प्रोग्राम (खार्डेप) नामक बेलायती परियोजना तेह्रथुममा सञ्चालन भयो । उक्त परियोजनामा स्वयमसेविकाको रुपमा कार्यरत बेलायती नागरिक सुसी डान्समोरले खाँडीको तानमा नवीनतम प्रयोग गर्दै ढाकामा परिणत गरिदिइन् । उनले म्याङलुङका रञ्जना लगायत अन्य महिलाहरुलाई खाँडीकै तानलाई परिष्कृत गर्दे ढाका बनाउन सिकाइन् । डान्समोरले ढाका कपडा बुन्दा प्रयोग गरिने रङ्गिन धागो कलकत्तासम्मबाट ल्याइन् । उनले ढाका कपडा बुन्दा रङ्गहरुको छनोट र बुट्टालाई कलात्मक बनाउने तरिका सिकाइन् । उत्पादित ढाका टोपीको बजारीकरणमा समेत योगदान गरिन् । डान्समोरको आगमनसँगै तेह्रथुमे ढाकाले व्यवसायीक मोड लिएको मानिन्छ ।

वि.सं. २०३५ सालमा खार्डेप परियोजना सकियो । त्यो सँगै डान्समोरले पनि तेह्रथुम छोडिन् । त्यसपछि जिल्लामा उनै रञ्जनाले ढाका कपडाको व्यवसायलाई निरन्तरता दिइन् । उनको परिवारले घरेलुमा बाँसघारी ढाका कपडा उद्योग दर्ता गरि तत्कालीन म्याङलुङ गाविस–२ मा ढाका कपडाको उद्योग सुरु गर्यो । त्यसबेला जिल्लाका विभिन्न स्थानबाट उद्योगमा काम गर्न महिलाहरु आउने गर्थे । उद्योगमा २५–३० जनाले बुनेका र गाउँभरिका महिलाहरुले बुनेका ढाका कपडा संकलन गरि बसन्तपुरसम्म भरियालाई बोकाएर निर्यात गरेको रञ्जनाले स्मरण गरिन् ।

वि.सं. २०४० सालमा सोही गाउँकी उज्ज्वलता सुब्बाले पनि ढाका कपडा उद्योग सुरु गरिन् । वि.सं. २०५१ सालमा सदरमुकाम म्याङलुङ सडक सञ्जालको पहुँचमा जोडिएपछि भने अन्य ढाका कपडाका उद्योग र पसलहरु खुल्न थाले । पराजुली ढाका कपडा उद्योग, आले ढाका कपडा उद्योग जस्ता ढाका उद्योग खुले । ‘त्यतिबेला उतिसारो वैदेशिक रोजगारीमा जाने चलन थिएन, आयस्रोतको बाटो पनि खासै थिएन, उद्योगहरु ढाका बुनकरहरुले टनाटन भरिएका हुन्थे, जिल्लाका विभिन्न गाउँ र धनकुटा, ताप्लेजुङ, पाँचथर सम्मका ढाका बुनकरहरु उद्योगमा काम गर्थे’, रञ्जनाले भनिन् । जिल्लाकै पहिलो ढाका उद्यमी रञ्जनाको अहिले म्याङलुङ बजारमा नवीन विकास ढाका कपडा उद्योग छ । किशोरावस्थामा सुरुवात गरेको ढाका व्यवसायलाई उनले बिवाहपछि पनि निरन्तरता दिइन् ।

तेह्रथुमको म्याङलुङमा सुरुवात भएको ढाका कपडा उद्योग अहिले छिमेकी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सुनसरी, झापा, मोरङ लगायतका जिल्लामा फैलिएको छ । ढाका व्यवसायमै जीवन बिताएकी रञ्जना उमेरले ७० वर्ष कटिन् । उनको उद्योगबाट अहिले बार्षिक ३० लाख रुपैंयाँ मूल्य बराबरको ढाका कपडाको कारोबार हुन्छ । जसबाट दुई सय ढाका बुनकरले रोजगारी पाएका उनले सुनाइन् ।

आज तेह्रथुमे ढाकाको आफ्नै पहिचान छ । देश–विदेशमा प्रशिद्धि कमाएको छ । तेह्रथुम र ढाका पर्याय जस्तै हुन् । यसमा बेलायती नागरिक डान्समोर, रञ्जना र उज्ज्वलता लगायतको योगदान छ । तेह्रथुमे ढाकाको प्रवद्र्धन र बजारीकरणका लागि नेपाल सरकारले वि.सं. २०७९ साल असार २० गते तेह्रथुमलाई ढाकाको राजधानी समेत घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुममा एक सय ५५ वटा ढाका उद्योग दर्ता छन् । ढाका उत्पादक समाज तेह्रथुमका अध्यक्ष भिम ल्वागुनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरेर १० हजार ढाका बुनकर रहेका छन् भने १४ वटा ढाका कपडाका पसल छन् । उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजिव ढुंगानाका अनुसार तेह्रथुमबाट वार्षिक तीन करोड मूल्य बराबरको ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गरेको छ । ०

 


इलामः इलाम भन्नासाथ धेरैको मनमा हरियो चियाबारी र झुल्के घामको सुन्दर दृश्य खेल्छ । पूर्वी पहाडी जिल्ला इलामलाई धेरैले ‘हरियो इलाम’ उपनाम दिन्छन् । सबैको मन लोभ्याउने इलामको चियाबारी र चियाको आफ्नै इतिहास, महत्व र प्रशिद्धि छ । पर्यटन, हरित कृषि र दुग्धजन्य उत्पादन इलामको चिनारी हुन् ।

उद्यममा अगाडी रहेको इलाममा ढाका उद्यममा भने अन्य जिल्लाको तुलनामा पछि रहेको छ । तर नेपाली मौलिक पहिचान बोकेको ढाका उद्यम इलाममा स्थापित हुने क्रममा भने छ । घरेलु तथा साना उद्योग कार्यालयमा १५ वटा ढाका उद्योग दर्ता भएका पाइन्छन् । धेरैजसो महिलाहरू घरमै तान जोडेर ढाका बुनिरहेका हुन्छन् । इलाम बजारस्थित ‘न्यू सम्झना ढाका उद्योग’ इलाममा लामो समयदेखि सञ्चालनमा रहेको ढाका उद्योग हो ।

वि.सं. २०५५ सालमा उद्योग स्थापना गरेको उद्योगकी प्रोप्राइटर देविका लिम्बूले बताइन् । उनले विगत सम्झिदै भनिन्, ‘वि.सं. २०४७ सालतिर काठमाडौं गएकी थिएँ, त्यहीँ पहिलोपटक कसरी ढाका बुनिन्छ भनेर देखें, मलाई पनि ढाका बुन्ने रहर जाग्यो र तीन वर्षसम्म सिकें ।’ उनले थपिन्, ‘त्यसपछि वि.सं. २०५१ सालमा दुईजना ढाका बुनकर राखेर काठमाडौंमै व्यवसाय सुरुवात गरेँ, पछि इलाम फर्किएँ ।’ इलाममा ढाका उद्योगलाई स्थापित गर्न धेरै संघर्ष गुर्नुपरेको उनको भनाई छ । लामो संघर्षबाट अहिले यो व्यवसायले प्रतिफल पनि दिइरहेको देविकाले सुनाइन् ।

हालः न्यू सम्झना ढाका उद्योगमा २० जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । अन्य ३५ जना महिला भने घरमै तान जोडेर ढाका कपडा बुन्छन् । उनीहरुको उत्पादन उद्योगले खरिद गर्दै आएको छ । एक थान साडी बनाउन सात देखि १५ दिनसम्म लाग्छ । धागोको गुणस्तर र डिजाइन अनुसार त्यसको मूल्य छ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ । देविकाका अनुसार साडीको माग बढी हुन्छ । त्यसपछि पछ्यौरी र चोलीको माग उच्च छ ।

पाँच वर्षअघि तेहथुमबाट इलाम आएकी सुमिता लिम्बू पनि ढाका उद्यममा सक्रिय छिन् । उनले लघु उद्यमको रुपमा घरैमा उद्योग सञ्चालन गरेकी छिन् । उनले छ जना महिलाले घरैमा बसेर बुनेका ढाका कपडा खरिद गरेर झापा, काठमाडौं जस्ता जिल्ला र यूकेसम्म निर्यात गर्दै आएकी छिन् । ‘महिनामा तीस÷चालिस हजार रुपैंयाँ सम्मको कारोबार हुन्छ’, उनले भनिन् ‘नानी सानो भएकोले सोचे जस्तो उद्योगलाई विस्तार गर्न सकिरहेको छैन, भविष्यमा उद्योगको आकार बढाउने सोच छ ।’

केही समययता जिल्लाका विभिन्न स्थानीय तहहरुले महिला दिदीबहिनीहरुलाई ढाका बुन्ने तालिम दिंदै आएका छन् । इलाममा करीब दुई सय ढाका बुनकर रहेका छन् । उत्पादित ढाका कपडा जिल्लामै भने धेरै खपत नहुने व्यवसायीको अनुभव छ । बाहिरी जिल्ला र विदेशबाट बढी माग आउने व्यवसायी बताउछन् । ‘वैशाखदेखि साउनसम्म त व्यापार खासै चल्दैन’, देविकाले भनिन् ‘तर अन्य महिनामा भने न्यू सम्झना उद्योगले मासिक तीन÷चार लाख रुपैयाँको कारोबार गर्ने गरेको छ ।’ उनका अनुसार अहिले सामाजिक सञ्जालको माध्यमबाट पनि धेरै ग्राहकसँग सम्पर्क हुन्छ ।

परम्परागत उत्पादनको रुपमा रहेको ढाकाले उद्योगको रुप लिएको छ । स्वरोजगार, आत्मनिर्भर र महिला सशक्तिकरणको माध्यम बनेको छ । इलाममा ढाका उद्यमको थप विस्तारका लागि सिप र कला सँगै अन्य प्रबद्र्धनात्मक कामहरु गर्नुपर्ने देखिन्छ । स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीले ढाकाको पोशाक अनिवार्य रूपमा प्रयोगको नीति बने मौलिक नेपाली उद्यम ढाकाको प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ । ०