७ भदौ २०८१, ताप्लेजुङ। मोरङको सगरमाथा युथ क्लव ताप्लेजुङमा जारी दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको उपाधी नजिक पुगेको छ।
सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा मोरङले संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङलाई २–१ गोलले स्तब्ध पार्दै मोरङले फाइनल यात्रा तय गरेको हो।
खेलको नवौं मिनेटमै मिलन राईको गोलबाट मोरङले अग्रता लिएको थियो। तर, खेलको ६० औं मिनेटमा कप्तान अनुप सेन्दाङले गोल गर्दै ताप्लेजुङलाई खेलमा फर्काएका थिए। निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएको थियो।
१५ मिनेटको अतिरिक्त समयमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै मोरङलाई २–१ को जीत दिलाए। उनी खेलको म्यान अफ् दि म्याच बने। उनले नगद ५ हजार रुपैंयाँ प्राप्त गरे। मोरङले अब शनिबार हुने सिरहाको सलहेश युथ क्लव र झापाको बिर्तामोड युनाइटेड क्लवबीच हुने खेलको विजेतासँग उपाधीका लागि खेल्नेछ। फाइनल खेल भदौ १० गते हुनेछ।
लाखे जात्राको अवशरमा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंयाँ र उपविजेताले नगद २ लाख ५० हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले बताए।
