Advertisement Ad

धार्मिक पर्यटनको केन्द्रः लब्रेकुटी र सिलौटी

Advertisement Ad

प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.

– विजयबोध लाओती

७ भदौ २०८१, पाँचथर। नाम्भुनयक् अर्थात् सिलौटी डाँडा वि.सं.१९७० अघि याम्बोङ र पौवाली नेम्बाङहरुको गौचरन अर्थात् खर्क थियो । त्यो बेला सिलौटी गाई, गोरु, भैँसी, भेंडाबाख्रालाई गोठ राख्ने र चराउने चरन क्षेत्रको रुपमा रहेको थियो । यहीँ सिलौटी यतिबेला पाँचथरको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तब्य बनेको छ ।

नजिकै रहेको लब्रेकुटी क्षेत्रलाई पनि त्यहीँ समय आसपास चोकमागुका तुम्बापो, सिवाका तुम्रोक र कुगेनाम्बाहरुले खर्ककै रुपमा प्रयोग गर्दै आएका थिए । अहिले लब्रेकुटी पनि किरात धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र सँगै मनै लोभ्याउने सुन्दर पर्यटकीयस्थलको रुपमा विकास भएको छ ।

सिलौटी र लब्रेकुटी समुन्द्री सतहबाट २४ सयदेखि २८ सय मिटर उचाइमा पर्दछन् । यी स्थानमा मौसम अनुसार हिउँ र तुषारो पर्छ । उच्च पहाड भए पनि फाँटिलो भू–बनावट भएको लब्रेकुटी र सिलौटीलाई त्यतिबेला खर्कको रुपमा उपयुक्त देखेर पुर्खाहरुले तत्कालीन समयमा त्यसरी नै प्रयोग गरेको पाइन्छ । यहीँ सुन्दर लब्रेकुटी–सिलौटी क्षेत्रमा वि.सं. १९४२ कार्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बामा जन्मिएका राष्ट्रिय विभूति, महागुरु फाल्गुनन्दको आगमनसँगै यी स्थलहरुको महत्व पनि बढेको पाइन्छ ।

महागुरु फाल्गुनन्द वि.सं. १९७८ मा चोकमागु आएका थिए । त्यसपछि महागुरुले लब्रेकुटी–सिलौटी क्षेत्रको अवलोकन गरे । सम्भवतः यहाँको सुन्दर, स्वच्छ र पवित्र वातावरण एवंम् परिवेशले आकर्षित गर्यो । पछि महागुरु फाल्गुनन्दले यहीँ स्थललाई आफ्नो पावन कर्मभूमी बनाए । जबसम्म मनलाई आनन्द र शान्ति मिल्दैन, जतिसुकै राम्रो वा सुबिधायुक्त स्थलको पनि कुनै अर्थ रहदैन । फाल्गुनन्दले धेरै स्थलको अवलोकन गरे । धेरै स्थलहरुमा ध्यान र तपजप गरे । तर अन्ततः लब्रेकुटी र सिलौटी क्षेत्रलाई आफ्नो पावन कर्मभूमी बनाए । आज पनि जुनसुकै मौसममा लब्रेकुटी र सिलौटी पुगे पनि त्यहाँको वातावरणले सधैं मन तान्ने गरेको अनुभूती लब्रेकुटी–सिलौटी पुग्नेहरु सुनाउनछन् ।

लब्रेकुटी।


फिदिम नपा–५ चोकमागुमा पर्ने लब्रेकुटी महागुरु फाल्गुनन्दको पावन कर्मभूमी हो । लब्रेकुटीमा महागुरुको जीवनकालमा स्थापना गरिएका विभिन्न माङ्हिमहरु रहेका छन् । महागुरुसँग सम्बन्धीत थुप्रै महत्वपूर्ण वस्तुहरु रहेका छन् । अलि मास्तिर रहेको सिलौटीमा उनै महागुरुको समाधीस्थल छ । तत्कालीन लिम्बुवानको भुगोलमा (ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङ) बसोबास गर्ने बुद्धिजिजी, समाजसेवी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा वि.सं. १९८८ बैशाख २४ गते लब्रेकुटीमा वृहत् भेला गराएर महागुरुले सत्यधर्म मुचुल्का घोषणा गरेका थिए ।

उक्त सत्यधर्म मुचुल्कमा छोरीचेलीको सोतरीत सुनौली रुपौली नलिने, नारी सृष्टिकर्ता भएकाले नारी जातीको उच्च सम्मान गर्ने, विभिन्न कर्मकाण्ड गर्दा भोगबली तथा जीवहत्या नगर्ने, त्यसको साटो फलफूल नैबेध प्रयोग गर्ने, लिम्बू भाषा तथा लिपी पढाउने लगायतका कुरा उल्लेख छ । तसर्थ लब्रेकुटी समाज सुधारका लागि ऐतिहासिक कार्यको थालनी भएको स्थल हो । महागुरु फाल्गुनन्दले सिलौटीमा २००५ पौष १३ गते अन्तिम धार्मिक उपदेश दिएका थिए । २००५ साल चैत्र २२ गते उनको देहावशान भयो । उनको समाधीस्थल सिलौटीमा रहेको छ । किरात धर्म दर्शनका जन्मतादा एवंम् प्रचारक, महान समाज सुधारक महागुरु फाल्गुन्दलाई नेपाल सरकारले २०६६ साल मंसिर ६ गतेका दिन राष्ट्रिय विभूति घोषणा गरेको छ ।

महागुरु फाल्गुनन्दले कर्मभूमी बनाएपछि लब्रेकुटी–सिलौटी क्षेत्रप्रति आम मानिसको चासो बढ्न थालेको पाइन्छ । समाज सुधारका लागि सत्यधर्म मुचुल्का बनेको समयदेखि लब्रेकुटी र सिलौटीको थप चर्चा चुलियो । यी क्षेत्रको विकास र प्रवर्दनको काम सुरु भयो । महागुरुको कर्मभूमी एवंम् समाधीस्थल रहेको लब्रेकुटी र सिलौटीमा माङ्हिमरु बन्दै गए । आसपास रस्तीबस्ती बस्न थाल्यो । मुलुकमा गणतन्त्र स्थापनापछि लब्रेकुटी र सिलौटीमा धार्मिक पर्यटन प्रर्वद्धन तथा विकासका अन्य काम सुरु भए । जुन आज पनि जारी छ । वि.सं.२०६३ पछि यहाँ पर्यटन महोत्सव हुन थालेको छ । सरकारले राष्ट्रिय विभुति घोषणा गरेपछि तिनै तहको सरकारबाट विभिन्न शीर्षकमा रकम विनियोजन गरेर लब्रेकुटी र सिलौटीमा धार्मिक, वातावणीय र पर्यटन पुर्वाधार निर्माणका कामहरु हुँदै आएका छन् ।

नाम्भुनयक् (सिलौटी)।


धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित लब्रेकुटी–सिलौटी क्षेत्रको विकास र प्रबद्र्धनका लागि प्रदेश सरकार र स्थानीय तहले विस्तृत कार्ययोजना बनाएर पुर्वाधार निर्माण तिव्र गतिमा भइरहेको छ । प्रदेश सरकारबाट दुई अर्ब बढीको विस्तृत योजना बनाएर पहिलो चरणमा १९ करोड रुपैंयाँ बिनियोजन गरी भौतिक पूर्वाधार निर्माणको काम हुँदैछ ।

करिव तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको लब्रेकुटी–सिलौटी क्षेत्र मेची राजमार्ग आसपामा पर्दछ । फिदिम–५ चोकमागुमा पर्ने लब्रेकुटी मेची राजमार्गको इलाम–फिदिम खण्ड अन्तर्गत फिदिम–३ कान्छीदोकानबाट अढाई किलोमिटर दूरीमा रहेको छ । महागुरु फाल्गुनन्दको समाधीस्थल रहेको सिलौटी भने पर्यटकीय बजार पौवाभञ्ज्याङबाट मेची राजमार्गलाई छोडि फाल्गुनन्द मार्गको प्रयोग गरेर करीब २५ मिनेटमा पुग्न सकिन्छ । लब्रेकुटी र सिलौटी क्षेत्र प्राकृतिक दृष्टिले सुन्दर छन् । शान्त र रमणीय छन् ।

सो क्षेत्रमा थप पुर्वाधार बन्न थालेपछि धार्मिक तथा पर्यटकको चहलपहल बढेको छ । जैविक तथा वनस्पतिक विविधता, औषधीजन्य जडिबुटी, त्यहाँबाट देखिने सुन्दर हिमश्रृङ्खला, टाढाटाढासम्मका दृष्य, अनौठा र आकर्षण पहाड, पाखापखेरा, खोलाखोल्सी, आकर्षक रैथाने शैलीका घर र गाउँबस्तीले सबैको मन तान्छ । पछिल्लो समय धार्मिक आस्थाले र घुमफिरका लागि लब्रेकुटी–सिलौटी क्षेत्र पुग्नेको संख्या बढेको छ । सडक तथा पदमार्गसँगै आसपासमा रैथाने शैलीका होटल तथा होमस्टेको स्थापनाले लब्रेकुटी–सिलौटी क्षेत्रको यात्रालाई अझ सहज बनाएको छ।