Advertisement Ad

Advertisement Ad

स्ववियू निर्वाचनः पाँचथरका चार क्याम्पसमध्ये दुईमा अखिल (क्रान्तिकारी), एक–एकमा नेविसंघ र अनेरास्ववियू निर्वाचित

६ चैत २०८१, पाँचथर। मंगलबार भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा पाँचथरका चारमध्ये दुई क्याम्पसमा अखिल (क्रान्तिकारी)को उम्मेद्वार र समान एक–एक क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका उम्मेद्वार सभापति पदमा निर्वाचित भएका छन्।

जिल्लाको रवि क्याम्पस र यासोक क्याम्पसमा अखिल (क्रान्तिकारी)का उम्मेद्वार सभापति पदमा विजयी भए भने सदरमुकाम फिदिममा रहेको पाँचथर बहुमुखी क्याम्पसमा नेविसंघ र थर्पु क्याम्पसमा अनेरास्ववियुको उम्मेद्वार स्ववियू सभापतिमा विजयी भएका हुन्।

रवि क्याम्पसमा विद्यार्थी संगठनहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। जसमा अखिल (क्रान्तिकारी)को प्यानलै विजयी भयो। सभापतिमा ४३ मतका साथ पुनम लाओती निर्वाचित हुँदा नेविसंघका समीर खड्काले २७ र अनेरास्ववियुकी विपना सुन्दासले १३ मत प्राप्त गरिन्। सचिवमा रुपा थापा र कोषाध्यक्षमा रसु विक विजयी भइन्। सदस्यमा विकास राई, इन्दुकुमारी राई र सवनम मुखिया निर्वाचित भएका छन्।

यासोक क्याम्पसमा नेविसंघ, अखिल (क्रान्तिकारी) र संघीय विद्यार्थी युनियनको गठबन्धनले विजय हाँसिल गरेको छ। सभापतिमा अखिल (क्रान्तिकारी)की तारामाया लाओती विजयी भइन्। उनले ६४ मत प्राप्त गर्दा अनेरास्ववियुका मनोज थापाले ५२ मत प्राप्त गरे। सचिवमा अनेरास्ववियुकी अञ्जु लाओती निर्वाचित भइन्। त्यस्तै कोषाध्यक्षमा हिमादेवी भण्डारी निर्वाचित भएकी छन्। सदस्यमा सनम खवास, मनोज खड्का र नमूना फेवादिन निर्वाचित भए।

थर्पु क्याम्पसमा भने अनेरास्ववियुको प्यानलै विजयी भएको छ। सभापतिमा सुरेश माझी ३२ मत सहित निर्वाचित भए। नेविसंघका नवीन दाहालले १५ मत प्राप्त गरे। सचिवमा इछिङ्सा काम्बाङ र कोषाध्यक्षमा नुमा माबो विजयी भए। सदस्यमा जिना भारती, निशा काम्बाङ र तुलसा दाहाल निर्वाचित भएका छन्।

जिल्ला सदरमुकाममा रहेको पाँचथर बहुमुखी क्याम्पसमा भने नेविसंघ, अखिल (क्रान्तिकारी) र संघीय विद्यार्थी युनियन गठबन्धन बनाएर चुनाव लडेका थिए। अनेरास्ववियुले भने समाजवादी विद्यार्थी युनियन र नेकपा एस निकट अनेरास्ववियुसँग गठबन्धन गरेर चुनाव लडेको थियो।

पाँचथर बहुमुखी क्याम्समा नेविसंघ, अखिल (क्रान्तिकारी) र संघीय विद्यार्थी युनियन गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेविसंघका उपेन्द्र थापा सभापति निर्वाचित भए। उनले १९६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी विमला पुरीले १३७ मत प्राप्त गरिन्। पाँचथर बहुमुखी क्याम्पसमा ४८९ मतमध्ये ३४३ मत खसेको थियो। त्यस्तै सचिवमा अखिल (क्रान्तिकारी)का सुजन कुमार तामाङ र कोषाध्यक्षमा चेतन नेपाल निर्वाचित भए। सदस्यमा लक्ष्मी केरुङ, जुनु सुहाङ, युन्छोमा नेम्बाङ, रिता बाँस्कोटा र लक्ष्मण अधिकारी निर्वाचित भए।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा मंगलबार स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन भएको थियो।