Advertisement Ad

Advertisement Ad

‘ए’ डिविजन क्लव मच्छिन्द्रलाई निरास बनाउदै नमो बुद्ध एफसी पाँचथर गोल्डकपको च्याम्पियन

सन्देश सुब्बा

२ चैत २०८१, पाँचथर। ‘ए’ डिविजन क्लव मच्छिन्द्रलाई पराजीत गर्दै मधेश प्रदेशको नमो बुद्ध एफसी पाँचथरको फिदिममा सम्पन्न वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता पाँचौं संस्करणको च्याम्पियन बनेको छ।

फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मच्छिन्द्र फुटवल क्लव काठमाडौं नमो बुद्ध सँग १–० ले स्तब्ध बन्यो। प्रतिस्पर्धात्मक खेलको ७२ औं मिनेटमा नमो बुद्धका लागि विदेशी खेलाडि एलेक्स विलियमले गरेको एक गोल नै खेलको निर्णायक गोल बन्यो। खेलको म्यान अफ् दि म्याच नमो बुद्धका निर्मल घिसिङ बने। उनले नगद ७ हजार ५ सय रुपैंयाँ प्राप्त गरे।

यो सँगै पाँचथर गोल्डकपले नयाँ च्याम्पियन पाएको छ। यसअघिको पहिलो र दोस्रो संस्करण बिर्तामोड युनाइटेड क्लव झापा, तेस्रो संस्करण डाँगिहाट फुटवल क्लव मोरङ र चौंथो संस्करण विभागीय टोली त्रिभुवन आर्मी क्लवले जितेको थियो। पाँचौं संस्करणको उपाधी उचाल्दै नमो बुद्धले इतिहास रचेको हो।

जीतसँगै नमो बुद्धले नगद ११ लाख १ हजार १११ रुपैंयाँ प्राप्त गर्यो। उपविजेतामा सिमित हुन पुगेको मच्छिन्द्र फुटवल क्लवले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँमा चित्त बुझायो।

प्रतियोगिताको वेष्ट प्लेयर नमो बुद्ध एफसीका दिपेश चाम्लिङ बने। उनले नगद ३० हजार रुपैंयाँ प्राप्त गरे। त्यस्तै वेष्ट गोलकिपर नमो बुद्धका जयनाथ शेख, वेष्ट मिडफिल्डर विवेक राई र वेष्ट कोच धन कुमार तामाङ त्यस्तै वेष्ट डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ बने। उनीहरुले जनही १० हजार रुपैंयाँ प्राप्त गरे।

राइजिङ प्लेयर आयोजक पाँचथर क्लवका निरोज लिङदेन बने। उनले नगद १० हजार रुपैंयाँ प्राप्त गरे। प्रतियोगिता अवधीभर समान ३–३ गोल गरेका नमो बुद्धका एलेक्स विलियम र चर्च व्वाइज क्लवका राज भुषाल हाई स्कोरर बने। उनीहरुले नगद १० हजार रुपैंयाँ प्राप्त गरे।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटवल संघ (एन्फा)का उपाध्यक्ष दिपक खतिवडा लगायतले पुरस्कार वितरण गरे। प्रतियोगिताको आगामी संस्करणलाई थप व्यवस्थित गर्दै लगिने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।