सन्देश सुब्बा
२ चैत २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल आज (शनिबार) हुँदैछ।
प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटवल क्लव काठमाडौं र नमो बुद्ध एफसी सप्तरी भिंड्नेछन्। खेल दिउँसो २ः३० बजेदेखि फिदिम माविको खेलमैदानमा हुने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए।
यसअघि सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बलियो प्रतिस्पर्धी इन्ट्रा पथरी ११ फुटवल क्लवलाई हराउदै मच्छिन्द्र फुटवल क्लव काठमाडौं फाइनल प्रवेश गरेको हो। त्यस्तै दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा उपाधिको बलियो दाबेदार मानिएको चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंलाई टाइब्रेकरमा स्तब्ध पार्दै नमो बुद्ध एफसी फाइनल प्रवेश गरेको हो।
गत पुसमा मात्र यहीं मैदानमा ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपको फाइनल खेलेर उपविजेतामा सिमित हुन पुगेको मच्छिन्द्र आज यहीं मैदानमा उपाधि उचाल्न चाहन्छ। त्यतिबेला मच्छिन्द्र चर्च व्वाइजसँग फाइनलमा पराजीत भएको थियो। मच्छिन्द्रले फिदिमको मैदानमा अढाई महिना अघि व्यहोरेको फाइनल हारलाई आज दोहोरिन नदिने रणनीति लिनेछ।
यता ‘ए’ डिविजन लिग विजेता र अढाई महिना अघि मात्र यहीं मैदानमा फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको चर्च व्वाइजलाई सेमीफाइनलमा रोकेर फाइनल प्रवेश गरेको नमो बुद्ध उपाधिका लागि उच्च मनोवलकासाथ मैदान उत्रिनेछ। दुबै टोलीसँग विदेशी सहित अनुभवि र युवा खेलाडी छन्। त्यसैले फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद ११ लाख १ हजार १११ रुपैंयाँ प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लवका उपाध्यक्ष योगराज सेढाईले बताए। त्यस्तै वेष्ट कोच, वेष्ट किपिङ, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर र हाइ स्कोररले जनही १० हजार रुपैंयाँ त्यस्तै म्यान अफ् दि टुर्नामेन्ट र राइजिङ प्लेयरले जनही १५ हजार रुपैंयाँ प्राप्त गर्ने क्लवका सचिव प्रदीप भण्डारीले जानकारी दिए।
पाँचथर गोल्डकपले नयाँ च्याम्पियन पाउँदै
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपले आज नयाँ च्याम्पियन पाउनेछ। उपाधि भिंडन्तमा उत्रिने ‘ए’ डिविजन क्लव मच्छिन्द्र र मधेश प्रदेशको टोली नमो बुद्ध जसले जीते पनि उनीहरुका लागि त्यो जीत ऐतिहासिक बन्नेछ। किनकी ! दुई टोलीमध्ये विजयी हुने टोली पाँचथर गोल्डकपको नयाँ च्याप्पियन बन्नेछ। त्यसैले दुबैका लागि आजको फाइनल खेल महत्वपूर्ण हुनेछ। शुक्रबार फिदिम माविको खेलमैदानमा सम्पन्न फ्रि–म्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र क्याप्टेनले उपाधि जितेर नयाँ इतिहास लेख्नका लागि मैदान उत्रिने बताइसकेका छन्।
यी हुन् पाँचथरको गोल्डकपको हालसम्मका च्याप्मियन
वि.सं. २०७४ मा पहिलोपल्ट पाँचथर गोल्डकप आयोजना भएको थियो। पहिलो संस्करणको फाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लवलाई पराजीत गर्दै झापाको बिर्तामोड युनाइटेड क्लवले उपाधि जितेको थियो। २०७५ मा भएको दोस्रो संस्करणको उपाधि पनि बिर्तामोड युनाइटेडले नै उचालेको थियो। २०७६ मा भएको तेस्रो संस्करणमा भने मोरङको डाँगिहाट फुटवल क्लव च्याप्यिन बन्यो। त्यसपछि फिदिम माविको खेलमैदान मर्मत र कोरोना कहरका कारण प्रतियोगिता स्थगित भयो। २०८० मा चौंथो संस्करण आयोजना भयो। जसको च्याम्पियन त्रिभुवन आर्मी क्लव बनेको थियो।
