Advertisement Ad

भलिबल महोत्सव र रमाइलो मेलामा सुनिए कविता

Advertisement Ad

८ वैशाख २०८२, धनकुटा। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा जारी भलिबल महोत्सव तथा रमाइलो मेलामा आइतबार एकाएक कविता गुञ्जियो।

आयोजक जिल्ला भलिबल संघले धनकुटास्थित रेडियो धनकुटासँगको सहकार्यमा खेल महोत्सव र मेलामा कविता वाचन कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा कविहरु रुद्र गुर्वाछाने मगर, रमेशचन्द्र अधिकारी, निर्मला कुवँर, सन्देश सुब्बा, भरत थापा, गीता अधिकारी र बद्रीनाथ अधिकारीले कविता सुनाएका थिए। गायक गौरव नारायण राईले गीत प्रस्तुत गरेका थिए।

कविता वाचन कार्यक्रममा उपस्थित धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले कविहरुले कविता मार्फत समाजको चित्रण गरेको उल्लेख गरे।

खेल उत्सव र मेलाको बीचमा शब्द सिर्जनाका बान्कि मिसाएर उत्सव र मेलालाई थप भव्य बनाइएको कविता वाचन कार्यक्रमको संयोजन गरेको रेडियो धनकुटाका अध्यक्ष गोपाल बराइलीले बताए।

वैशाख ५ गतेदेखि सुरु भएको भलिबल उत्सव र मेला वैशाख २० गते सम्पन्न हुने आयोजक जिल्ला भलिबल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताए।

भलिबल उत्सव अन्तर्गत पूरुषतर्फ धनकुटाको विभिन्न वडाहरुको सहभागिता छ भने महिलातर्फ पालिकाहरुको उपस्थिति छ।

उत्सव तथा मेलामा स्थानीय उत्पादन र परिकारहरुको स्टल राखिएको छ भने धनकुटाका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी पनि गरिएको छ।