Advertisement Ad

Advertisement Ad

हेलिकप्टरबाट चिवाभञ्ज्याङ पुगेका ओलीले झण्डोत्तोलन गर्दै संकल्प यात्राको समापन गरे

१ पुष २०८०, पाँचथर। नेकपा एमालेको १८ दिने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आइतबार समापन भएको छ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै संकल्प यात्राको समापन गरे। संकल्प यात्रालाई समापन गर्न ओली हेलिकप्टर चार्टर गरेर फिदिमबाट नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ पुगेका थिए। गाडिबाटै चिवाभञ्ज्याङ पुग्ने ओलीको चाहना भए पनि स्वास्थ्य समस्याका कारण हेलिकप्टर प्रयोग गर्नुपरेको बताइएको छ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा मध्यपहाडि लोकमार्गलाई पछ्याउदै लोकमार्गको पूर्वी उद्गम विन्दु पाँचथरको याङवरक गाउँपालिकास्थित चिवाभञ्ज्याङमा समापन भएको हो।

ओलीले बिकास बिरोधी तत्वहरुको अवरोधका बावजुद पनि पार्टीका नेता–कार्यकर्ताको अदम्य साहसले अभियानले सार्थकता पाएको बताए। उनले मुलुकको बिकासको निम्ति संकल्प यात्रा कोशेढुङ्गा साबित हुने पनि दाबि गरे।

यता आन्दोलनरत पहिचान पक्षधरले भने पाँचथरमा पुगेर ओलीले मध्यपहाडी लोकमार्गलाई पछ्याउने साहस गुमाएको दाबि गरेका छन्। पहिचानवादीबाट सशक्त प्रतिकारको भयले ओलीले आकासे बाटो रोज्न बाध्य भएको टिप्पणी गरेका छन्।

मध्यपहाडि लोकमार्ग अन्तर्गत पाँचथर खण्डमा आइतबार पहिचानवादीहरुले शान्तिपूर्ण सशक्त प्रतिरोधको तयारी गरेको थाहा पाएर ओली हेलिकप्टरबाट चिवाभञ्ज्याङ गएको पहिचानवादी नेता सागर केरुङले बताए।

संकल्प यात्राले कोशी प्रदेश प्रवेश गरेदेखि नै प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आह्वान गरेको यातायात बन्द लगायत अवरोधको सामना गर्नुपरेको थियो।