Advertisement Ad

कुम्मायक गाउँपालिकाले बेसार रोप्यो

Advertisement Ad

९ साउन २०८०, पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकामा किसानलाई वितरण गर्न खरिद गरिएको तर, किसानले लगेर बाँकि रहेको बेसारको बिउँ गाउँपालिका आफैंले रोपेको छ ।

कुम्मायक–३, हात्तिपोखरीमा स्थानीयको २० रोपनी जग्गा लिजमा लिएर गाउँपालिकाले बेसार रोपेको हो । जग्गाधनीलाई बार्षिक १० हजार रुपैंयाँ दिने सम्झौता गरी बेसार रोपण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रमबाट बेसारको बिउ खरिद गरेको थियो । मसलाजन्य खेती प्रबद्र्धनका लागि ७५ प्रतिशत अनुदानमा गाउँपालिकाभित्रका कृषकलाई उपलब्ध गराउने गरी बिउ खरिद गरिएको थियो ।

गाउँपालिकाले जारी गरेको सूचना बमोजिम केहि कृषकले २५ प्रतिशत व्यहोरेर बिउ लगेका र बाँकि रहेको बिउ खेर जाने अवस्था आएपछि रोपण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए । पालिकाले ३ लाख ४० हजार ४० रुपैंयाँमा १२० मन बेसार खरिद गरेको थियो ।

रोपिएको बेसारको रेखदेख पालिकाले नै गर्ने पालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । उपाध्यक्ष खड्का सहित जनप्रतिनिधि, पालिकाका कर्मचारी र स्थानीयको सहभागितामा बेसार रोपिएको हो ।