२ फागुन २०८०, पाँचथर। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो सभ्यता इन्द्रेणीझैं सुन्दर रहेको बताएका छन् ।
सदरमुकामस्थित पाँचथर बहुमुखी क्याम्पसमा बुधबारदेखि सुरु भएको महापुराण एवंम् पाँचथर आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति ‘‘इन्द्रेणीको एउटा रङ्ग निकाल्ने हो भने जसरी त्यो इन्द्रेणी इन्द्रेणी हुँदैन, त्यस्तै हाम्रो साझा र एकताबद्ध सभ्यताबाट एउटा रङ्ग निकाल्ने हो भने, हाम्रो सभ्यता अधुरो हुन्छ” पौडेलले भने, ‘‘त्यसैले मलाई लाग्छ, हामी सबै छौं, त्यसैले पूर्ण छौं । त्यसैले नेपाल पूर्ण छ । यही नै हाम्रो पहिचान हो । यही नै हाम्रो सभ्यता हो । यही नै हाम्रो भव्यतम संस्कृति हो ।”
राष्ट्रपति पौडेलले यो यथार्थलाई स्वीकार गरेपछि मात्र मौलिक, सवल, समावेशी र अग्रगामी राज्यनिर्माण गर्न सकिने धारणा व्यक्त गरे । “नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यही मूल आदर्श र मर्मलाई आत्मसात् गरेको छ”, राष्ट्रपति पौडेलले भने । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति पौडेलले यो भूमी राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दले जीवनको अन्तिम क्षणसम्म किरात संस्कृतिको उत्थान, भाषा, लिपी, शिक्षा जस्ता समाज सुधारका काम गरेको पवित्र भूमी भएको समेत उल्लेख गरे । समाज सुधारका निम्ति महागुरु फाल्गुनन्दले गरेका अमूल्य योगदान र उनको ‘सत्यधर्म मुचुल्का’ले हामीलाई सधैं मार्गनिर्देश गरिरहने राष्ट्रपति पौडेलको भनाई थियो ।
जिल्लामै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका निम्ति पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सव आयोजना गरेर प्रशंसनीय कार्य गरेको राष्ट्रपति पौडेलले बताए । सूचना–प्रबिधिले ठूलो फड्को मारेको वर्तमान विश्वपरिवेशमा सोही अनुसारको शिक्षा नीति, पाठ्यक्रम र प्रबिधियुक्त, प्रतिश्पर्धी र गुणस्तरीय शिक्षातर्फ केन्द्रित हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो ।
यसैबीच जिल्लाकै एकमात्र उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखी क्याम्पसमा बुधबारदेखि शुभारम्भ भएको महापुराण एवंम् बहूधार्मिक पाँचथर आध्यात्मिक महोत्सव फागुन ९ गतेसम्म सञ्चालन हुने पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष दीपक प्रकाश बाँस्कोटाले बताए । वाचनप्रवीण दीनबन्धु पोख्रेल प्रमुख वाचक रहेको महापुराणमा याक्थुङ मुन्धुम वाचन डा.चन्द्रकुमार शेर्मा र बौद्ध दर्शनमा फुर्तेम्बा शेर्पाले प्रबचन दिने बताइएको छ ।